ताजा अपडेट »

देउराली प्रेसद्वारा 'पत्रकार कल्याणकारी कोष'मा एघार हजार सहयोग

मंगलबार, २९ भदौ २०७८, १८ : ३९
6 Shares

परासी । नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी जिल्ला शाखाले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा सहयोग रकम जुटने क्रम जारी रहेको छ । यसैक्रममा देउराली सुचना तथा संचार केन्द्रद्वारा संचालित देउराली प्रेसले उक्त कोषका लागि ११ हजार उपलब्ध गराएको छ ।

यस भन्दा अगाडी पनि देउराली सुचना तथा संचार केन्द्रद्धारा नै संचालित देउराली फाउण्डेशनले नवलपरासी पश्चिममा बाढीबाट ज्यान गुमाएका परिवारका लागि ४४ हजार रुपैया उपलब्ध गराएको थियो । उक्त रकम नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको समन्वयमा घरमै पुगेर पीडित परिवारलाई हस्तान्तरण गरिएको थियो । अमेरिकामा बस्ने नेपालीहरुको सहयोगमा संकलन गरिएको उक्त रकम अमेरिका निवासी सरु शर्माको पहलमा पठाइएको हो ।

कोषमा सुनवल स्थित लोटस रिसोर्टका सञ्चालक कृष्णप्रसाद पौडेलले पनि रु ५ हजार उपलब्ध गराएका थिए । कोषमा सहयोग रकम उपलब्ध गराउने क्रम जारी रहेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा अध्यक्ष हरि शर्माले जानकारी दिए ।

जिल्लाका पत्रकारहरूको सहयोगका लागि स्थापना गरिएको पत्रकार कल्याणकारी कोषमा सहयोग गर्न चाहने सहयोगी हातहरूका लागि प्रभु बैक परासी शाखामा रहेको कोषको चल्ती नं. ०५००१५१९३९५०००११ मा जम्मा गर्न सकिने गरी व्यवस्था मिलाइएको सचिव राज कुमार रेश्मीले बताए ।

गत भदौ ११ गते आएको बाढीले जिल्लाका १४ जना पत्रकारहरू प्रभावित भएको र त्यसमध्ये ७ जना पत्रकार अति प्रभावित रहेको महासंघले जनाएको छ । कोष स्थापनाको पहिलो दिनमै लुम्बिनी दैनिक र दौतरी एफएमबाट १०/१० हजार , पत्रकार महासंघ पश्चिम नवलपरासी शाखाका कोषाध्यक्ष प्रकाश न्यौपाने र सहसचिव श्याम बुचा मगरले पाँच/पाँच हजार उपलब्ध गराएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।