ताजा अपडेट »

ओमानविरुद्ध नेपालले टस जित्यो, पहिला ब्याटिङ गर्ने

मंगलबार, २९ भदौ २०७८, १६ : १४
2 Shares

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक श्रङ्खलाअन्तर्गत नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल अमिरात क्रिकेट मैदानमा आज हुने दोस्रो खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । घरेलु टोली ओमान नेपालमाथि सहज जितका साथ सुरुवात गर्ने सोचमा छ भने नेपाल पनि लगातार दोस्रो जितको खोजीमा छ । 

सोमबारको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । नेपालका युवा व्याट्सम्यान कुशल भुर्तेल र रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरेसँगै नेपालले अमेरिकालाई पराजित गरेको हो । नेपालले आजको खेलमा पनि टोलीमा कुनै परिवर्तन नगरी निरन्तरता दिएको छ ।

विश्वकप लिग–२ मा नेपाल रहेको समूहमा पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन् । लिग–२ अन्तर्गत नेपालले हालसम्म ओमान र अमेरिकासँग ५ खेल खेलिसकेको छ । नेपालले ५ खेलमध्ये तिनमा जित तथा दुईमा हार व्यहोर्दै ६  अङ्क जोडेको छ । नेपाल आफ्नो समूहको अङ्क तालिकाको छैटौँ स्थानमा छ । 

यस्तै ओमान १० खेलमध्ये आठमा जित र दुईएमा हार व्यहोर्दै १६ अङ्कसहित शीर्षस्थानमा छ । अमेरिका १३ खेलमा ६ मा जित र ६ मा हारसहित १२ अङ्क जोड्दै दोस्रो स्थानमा छ । स्कटल्याण्ड आठ खेलमा चारमा जित र तीनमा हारका साथ नौ अङ्क जोड्दै तेस्रो स्थानमा छ । स्कटल्याण्डले खेलेको एउटा खेल वर्षाको कारण रद्द भएको थियो । नामिबिया सात खेलमा चारमा जित र तीनमा हार व्यहोर्दै आठ अङ्कसहित चौथो स्थानमा छ ।
 
यसैगरी युएई सात खेलमा तीनमा जित र तीनमा हारका साथ सात अङ्क जोड्दै पाँचौँ स्थानमा छ । युएईले खेलेको एउटा खेल रद्द भएको थियो । पपुवा न्यूगिनी हालसम्म खेलेका आठवटै खेलमा पराजित भएको छ । पपुवा न्यूगिनी अङ्कविहीन बन्दै लिग–२ को पुछारमा छ । लिग–२ अन्तर्गत सन् २०२३ सम्म प्रत्येक टोलीले ३६ एकदिवसीय खेल खेल्नेछन् । लिग–२ का शीर्ष तीन टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसिय विश्वकपका लागि ग्लोबल छनोटमा स्थान बनाउने छन् भने पुछारमा रहने चार टोलीले प्लेअफ खेल्ने छन् ।

नेपाली टिम:
ज्ञानेन्द्र मल्ल (कप्तान),  कुशल भुर्तेल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी (उपकप्तान), आशिफ शेख, गुलशन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, अविनाश बोहरा, शुशन भारी, शरद भेषवाकर, विक्रम शोब, पवन सर्राफ, रोहित कुमार ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।