ताजा अपडेट »

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

मंगलबार, २९ भदौ २०७८, १० : ५९
8 Shares

काठमाडौँ । चीनबाट यही साताभित्र थप ४४ लाख मात्रा भेरोसेल खोप आउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले थप खोप आइपुग्ने जानकारी दिए ।

सरकारले चीनसँग खरिद गरेकोमध्ये ४४ लाख मात्रा भेरोसेल खोप आइपुग्ने उनले बताए । सोमबार स्वास्थ्य पत्रकारसँगको कुराकानीमा सचिव पोखरेलले ढिलोमा शुक्रबारसम्म भेरोसेल खोप आइसक्ने जानकारी गराए । थप तीन लाख मात्रा खोप नेपाली सेनाका लागि आउने जानकारी उनले बताए । सरकारले पछिल्लो पटक चीन सरकारसँग खरिद गरेको ६० लाख भेरोसेल खोपमध्ये १६ लाख मात्रा आइसकेको छ ।

एक हजार ४८६ मा सङ्क्रमण

पछिल्लो २४ घण्टामा कोभिड–१९ का बिरामी निको हुनेभन्दा नयाँ सङ्क्रमितको सङ्ख्या बढी देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यस अवधिमा एक हजार ४८६ जनालाई सङ्क्रमण पुष्टि भएको छ भने एक हजार २६० जना निको भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या पीसीआर परीक्षणमा सात लाख ७८ हजार ३१२ पुगेको छ भने एन्टिजेन परीक्षणमा सङ्क्रमित हुने सङ्ख्या ८७ हजार ३१ पुगेको छ । गत २४ घण्टामा १६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ९६५ पुगेको छ ।

मन्त्रालयका अनुसार १२ हजार ५३२ जनाको पीसीआर र चार हजार सात जनाको एन्टिजेन गरी १६ हजार ५३९ जनाको कोरोना परीक्षण भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार ६३० रहेको छ । यस्तै, आईसीयूूमा ४७५ जना र भेन्टिलेटरमा १३४ जना सङ्क्रमित उपचाररत छन् ।

यस्तै, काठमाडौँ उपत्यकाका ४२६ जना सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ३०१, ललितपुरमा ६८ र भक्तपुरमा ५७ जना सङ्क्रमित थपिएका छन् । हालसम्म नेपालमा आठ लाख ६५ हजार ३४३ जनामा सङ्क्रमण पुष्टि भएको छ । सात लाख ४० हजार ७१७ जना निको भएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।