ताजा अपडेट »

देउवाविरुद्ध पौडेल समूह आक्रामक

मंगलबार, २९ भदौ २०७८, ०७ : ०८
4 Shares

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर मानिएको रामचन्द्र पौडेल समूहले डडेल्धुरा जिल्लामा भएको वडा अधिवेशन अस्वीकार गरेको छ । गत २५ भदौमा डडेल्धुरामा सम्पन्न वडा अधिवेशन सत्ता र शक्तिको आडमा एकतर्फी रूपमा धाँधली र बलमिच्याइपूर्वक गरिएको भन्दै पौडेल समूहले सो जिल्लाको वडा अधिवेशन पुनः गरिनुपर्ने बताएको हो ।

नयाँ अधिवेशन मिति तोकेर नेतृत्व छान्न पार्टी नेतृत्व तयार नभए मनोमानी सहेर नबस्ने पौडेल समूहको चेतावनी छ ।सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित आफ्नो समूहको बैठकलाई सम्बोधन गर्दै कांग्रेस वरिष्ठ नेता पौडेलले डडेल्धुरामा पुनः वडा अधिवेशन गरिनुपर्ने बताए ।

उनले डडेल्धुरा शैलीमा स्वेच्छाचारी प्रवृत्तिको पुनरावृत्ति २० जिल्लामा पनि नदेखाउन पार्टी नेतृत्वलाई खबरदारी गरे । ‘सत्ता र शक्तिको दुरुपयोग गरेर चुनाव गर्ने काम कांग्रेसलाई सुहाउँदैन । हामी यस्तो अधिवेशनलाई मान्दैनौं, धाँधली गरेर सत्ता हत्याउन हामी दिदैंनौं,’ कांग्रेस वरिष्ठ नेता पौडेलले भने ।

‘नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक विधान र परम्परा तोडेर क्रियाशील सदस्यताको टुंगो नलगाई अधिवेशन निर्वाचन प्रारम्भ गरिएको छ,’ बैठकपछि जारी विज्ञप्तिमा पौडेलले भनेका छन्, ‘पार्टी विधान र केन्द्रीय कार्यसमितिको निर्णयसमेतलाई लत्याएर बलपूर्वक प्रक्रिया अगाडि बढाइएकोमा हाम्रो गम्भीर असहमति छ ।’ यो समाचार आजको राजधानी दैनिकमा छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।