ताजा अपडेट »

आइसीसी विश्वकप लिग–२ : अमेरीकालाई हराउँदै नेपाल ५ विकेटले विजयी

मंगलबार, २९ भदौ २०७८, ०० : ०४
12 Shares

बुटवल । आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले अमेरिकालाई ५ विकेटले पराजीत गरेको हो ।

अमेरिकाले प्रस्तुत गरेको २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । युवा ब्याट्सम्यान रोहित कुमार पौडेल र कुशल भुर्तेलको अर्धशतकको सहयोगमा नेपालल जीत दर्ता गरेको हो । रोहित कुमार पौडेलले ८७ बलमा २ चौका र ३ छक्का सहित ६२ रनमा अविजित रहे । ७९ बलमा छक्का साथ आफ्नो ओडिआई करिअरको कीर्तिमानी अर्धशतक पूरा गरे । रोहितको यो ओडिआई करिअरमा लगातार दोस्रो अर्धशतक हो । उनी नेपालबाट ओडिआईमा तेस्रो अर्धतक बनाउने पहिलो खेलाडी हुन् ।

ओपनर कुशल भुर्तेलले ९३ बलमा ३ चौका र ३ छक्का सहित सर्वाधिक ८४ रनको योगदान दिए । स्पिनर निसर्ग पटेलको ३३ औं ओभरको पहिलो बलमा एलबीडब्लू आउट भएपछि कुशल शतक बनाउन १६ रनले चुकेका थिए । विकेटकिपर विनोद भण्डारी ४८ बलमा २ चौका र १ छक्का सहित ३७ रनमा क्याच आउट भए । पाँचौ विकेटका लागि रोहित र विनोदले ८३ रनको कीर्तिमानी साझेदारी गर्दै नेपालको जित पक्का गराएका हुन् । नेपालको ओडिआईमा पाँचौ विकेटका लागि भएको यो उच्च साझेदारी हो ।

नेपाललाई पहिलो विकेटका लागि ओपनर आसिफ शेख र कुशलले १४ ओभरमा ६६ रनको कीर्तिमानी साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । आसिफ शेख ४२ बलमा २ चौका सहित २३ रनमा क्याच आउट भए । नेपाली ओडिआई क्रिकेट ओपनरले पहिलो विकेटका लागि गरेको यो उच्च साझेदारी हो ।

कुशल मल्ल तेस्रो खेलमा पनि एक रनमा आउट भए । यसअघि पिएनजीसँगको दुबै खेलमा कुशल एक एक रनमा आउट भएका थिए । कुशल मल्ललाई ३४ औं ओभरको तेस्रो बलमा कुशललाई सौरभ नेत्रवालकारले विकेटकिपर मोनांक पटेलबाट क्याच आउट गराएका थिए ।

अमेरिका कप्तान सौरभ नेत्रवालकरले १० ओभरमा २ मेडन सहित ३० रन खर्चेर १ विकेट लिए । स्पिनर निसगै पटेलले १० ओभरमा १ मेडन सहित ३३ रन खर्चेर २ विकेट लिए । नास्टुश केजोंगीले २ विकेट लिए ।

यसअघि अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३० रन बनाएको थियो । अमेरिका मोनांक पटेलले १ सय १४ बलमा ९ चौका र १ छक्का सहित सर्वाधिक १ सय रनको शतकीय इनिङ खेले । मोनांक पटेल बाहेक अन्य ब्याट्सम्यानले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।