ताजा अपडेट »

सैनामैनाबाट सुरु भयो रुपन्देहीमा राष्ट्रिय परिचय पत्र अभियान

सोमबार, २८ भदौ २०७८, १३ : ४६
18 Shares

सैनामैना । रुपन्देहीको सैनामैनाबाट राष्ट्रिय परिचय पत्र बितरण अभियानका सुरु भएको छ । जिल्लाका सबै स्थानीय तहमा सञ्चालन हुने अभियानको सुरुवात सोमबारबाट सैनामैना नगरपालिकाबाट भएको हो । व्यक्तिका परिचय प्रमाणिकरणको डिजिटल समाधान सहित आगामी दुई वर्षभित्र १६ वर्ष नाघेका सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्य सहित यो अभियान सुरु भएको छ ।

प्रत्येक पालिकाका प्रत्येक वडामा टोली खटाएर राष्ट्रिय परिचय पत्रको लागी विवरण संकलन गरिने छ । यसै बिषयमा आज सैनामैनामा सबै वडाका जनप्रतिनिधि र रुजु अधिकारीहरु लाई बिषयमा अभिमुखीकरण र आवश्यक निर्देशन दिईएको छ ।
सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीले अभियानमा छानिएका रुजु अधिकारीहरुले बिना भेदभाव र सबैलाई समान रुपमा आवश्यक डाटा लिन निर्देशन दिएका छन् । सेवा लिन आउदा जान्ने नजान्ने सबै प्रकारका नागरिकहरु आउने भएकाले कसैसंग पनि बिना झर्को मानी सेवा प्रवाह गर्न समेत कार्कीले रुजु अधिकारीहरुलाई आग्रह गरे ।

के हो राष्ट्रिय परिचयपत्र भनेको ?
राष्ट्रिय परिचयपत्र भनेको नागरिकहरूको वैयिक्तक तथा जैविक विवरण समाबेस भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो । दश अङ्कको व्यक्तिगत परिचय नम्बर उल्लेख गरिने परिचयपत्र जारी गर्ने क्रममा नागरिकका ३० वटा भन्दा बढी व्यक्तिगत विवरण, औँलाको छाप, फोटो र आँखाको नानीको तस्बिर सहितका सूचना सङ्कलन गर्ने गरिन्छ ।

राष्ट्रिय परिचय पत्रलाई मतदाता परिचयपत्रको रूपमा प्रयोग गर्नुको साथै ब्यक्तिको राष्ट्रिय पहिचानपत्रको रूपमा सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्ने आधारको रुपमा लिईएको छ । यस्तै सामाजिक सुरक्षा कार्ड र सुरक्षा व्यवस्थापनको लागि सहयोगी अभिलेखका रूपमा नागरिकलाई यसको फाईदा हुनेछ ।

अन्य सार्वजनिक सेवा सँग राष्ट्रिय परिचयपत्र प्रणालीलाई आवद्ध गरेपछि सार्वजनिक सेवा प्रदायक निकायहरुले झन्झट रहित, छोटो समय र कम लागतमा सेवा प्रदान गर्न सम्भव हुने छ । बहुउपयोगी भनिएको राष्ट्रिय परिचयपत्र प्रयोगमा आएसँगै नागरिकता, मतदाता परिचयलगायत नागरिकको परिचय खुलाउने कैयौँ परिचयपत्र बोक्नुपर्ने झन्झटको पनि अन्त्य हुने छ । राष्ट्रिय परिचयपत्रमा व्यक्तिका १० वटै औँलाको छाप र व्यक्तिगत विवरण गरी १६ खाले सूचनाहरू हुने बताइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।