ताजा अपडेट »

दिर्घरोगीलाई मासिक ५ हजार दिने घोषणाले खुशीयाली

आइतबार, २७ भदौ २०७८, १४ : ३८
2 Shares

बुटवल । दिर्घरोगीहरुलाई मासिक ५ हजार रुपैयाँ उपचार खर्च उपलब्ध गराउने घोषणाले दिर्घ रोगी र उनका परिवारजनमा खुशीयाली छाएको छ । घरबास नभएकी र श्रीमानले साथ छाडेर बेसाहरा पाल्पा माइती घर भएकी ३२ वर्षिया सञ्जु परियारका ब्लड क्यान्सर पीडित ११ वर्षिया छोरा सुशान्त परियार उपचार खर्च अभावमा चितवनको भरतपुर क्यान्सर अस्पतालमा जिवनमरणको दोसाँधमा छन् ।

गत दुई वर्ष देखि ब्लड क्यान्सर पीडित सुशान्तलाई बचाउनका लागि उनकी आमाले सबैसँग सहयोगको हात फैलाउँदै आएकी छन् । ‘एक महिनादेखि अस्पतालमा छु, खान उधारो खाँदै आएकी छु, भएको पैसा सकियो, छोरा नै छाडेर भागौं जस्तो भएकी छु, सरकारले दिने भनेको मासिक ५ हजार पाउने भए त असाध्धै खुशी हुने थिएँ ।’, सञ्जु परियारले भनिन्-‘अरु त मेरो केहि उपाय छैन् ।’

उनका छोराको उपचारका लागि बुटवल स्थित टोन्टा फाउन्डेशनले पहिलो चरणमा २५ हजार र दोश्रो चरणमा १५ हजार सहयोग पठायो, त्यसैले केहि दिन औषधी चलाएको तर अहिले खर्च अभाव भएको परियारले बताइन् । टोण्टा फाउन्डेशनका प्रवन्धक केशव बेलवासेल सुशान्त सहित ९ जना ब्लड क्यान्सर र मृगौला पीडितहरुलाई सहयोगको अभियान जारि राखेको बताए ।

फाउन्डेशनका अध्यक्ष सुरेश बिश्वकर्मा सहितका करिब २० जना युवाहरुले तरकारी खरिद–बिक्रि गर्छन र त्यसको मुनाफा फन्डमा जम्मा गर्छन् । सोही फन्ड बिरामीहरुको उपचारमा खर्च गर्छन् । प्रवन्धक बेलवासे भन्छन्,–‘विपन्न दिर्घरोगीहरु उपचार खर्च अभावमा डिप्रेशनको रोगी हुँदै आत्माहत्या गर्न बाध्य भएका घटना समेत नसुनिएको होइन, त्यसैले हामीले अभियान छेडेका हौं, यसपाली सरकारले मासिक ५ हजार उपचार खर्च दिने गरेको घोषणा लागू भए धैरै राम्रो हुने थियो ।’

यता लुम्विनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पनि त्यस्ता दिर्घरोगीहरुलाई २ लाखका दरले सहयोग गर्ने घोषणा गरेका छन् । कार्यन्वयनका लागि स्वास्थ्य विभागमा कार्यविधी बनाउन लागिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।