११ आश्विन २०७८, सोमबार

Sep 27, 2021

जेलैमा हो जेलैमा, चरी जेलैमा
मै छोरी रुँदैरुँदै, बेँसी मेलैमा

Advertisement

तीजको सन्दर्भमा सार्वजनिक यो गीत नेपाली जनजीवनमा लोकप्रिय बनेको छ । नेपाली लोकगीत पारखीबीच गायिका विष्णु माझी परिचित नै हुनुहुन्छ । यद्यपि गीतका यी भाका सार्वजनिकसँगै विशेषगरी युट्युबमा गायिका माझीको खोजी सुरु भएको छ । खोजी के भनौँ, विष्णु माझीको विषयलाई लिएर नेपाली युट्युबमा ‘थम्नेल आतङ्क’ नै छ । थम्नेल अर्थात् विष्णु माझीको तस्बिरसहित मैले भर्खर भेटेर आएँ विष्णु माझी, मै हुँ उनको गुरु, आजै सार्वजनिक हुँदैछिन्, उनीस“ग सीधै फोन गर्दै छु, उनी अपहरणमा छन् जस्ता शीर्षक राखेर युट्युबमा राखिएका सामग्रीले दर्शक भ्रमित छन् ।

सुमधुर स्वरकी धनी लोकप्रिय गायिका विष्णु माझी सार्वजनिक रूपमा देखिन्नन् । त्यो सत्य हो र नदेखिनु या मिडियामा आउन नचाहनु गायिका माझीको आफ्नै स्वभाव वा अधिकारको विषय पनि हो । त्यसैका आधारमा गायिका माझीका विषयमा युट्युबरहरूको प्रस्तुति अति डरलाग्दो छ । यो मात्र हैन, युट्युबमा लाइक र भ्युजका लागि ‘कन्ट्रोभर्सी’ हेडिङसहितका थम्नेलको बाढी नै छ । जसले गर्दा मिडिया प्रयोगकर्ता नै भ्रमित बनिरहेका छन् ।

यौटा संयोग नै भनौँ, जतिबेला गायिका माझी र उहाँको नयाँ गीतका विषयमा युट्युबमा हल्लाहरू चलिरहेको थियो, त्यति नै बेला मकवानपुरमा बसेको नेपाल पत्रकार महासङ्घको बैठकले युट्युबरको राष्ट्रिय भेला गर्ने निर्णय गर्दै थियो । बैठकपछि जारी दामन घोषणापत्रअनुसार युट्युबरलाई आचारसंहितासम्बन्धी तालिम दिने, पत्रकारिताको मूल धारमा ल्याउने, पत्रकार आचारसंहिताअनुसारका सामग्री प्रस्तुत गर्न प्रोत्साहन गर्नेलगायत विषयमा जोड दिइएको छ । आधुनिक सञ्चारमा जबरजस्त पहुँचको माध्यम बनिरहेका तर समस्या हुन् कि समाधान भन्ने छिनोफानो नगरिएका युट्युबरको व्यवस्थापनबारे सोच्न ढिलो भइसकेको थियो । अब त्यसतर्फ ठोस सुरुवात हुँदै जाला ।

अहिलेसम्म युट्युबरलाई पत्रकार महासङ्घको विधानले पत्रकारका रूपमा चिन्दैन । श्रमजीवी पत्रकारसम्बन्धी ऐन, पत्रकार आचारसंहिता, प्रेस काउन्सिल, न्यूनतम पारिश्रमिक निर्धारण समितिलगायत सरोकारवाला निकायले पनि युट्युबरलाई पत्रकारका रूपमा ठोस सम्बोधन गरिएको पाइँदैन । यस्तो बेला उनीहरूको समस्या पहिचान र व्यवस्थापनका लागि अलि धेरै अध्ययन, बहस र पहल जरुरी छ । जसले उनीहरूबारे यौटा साझा धारणा बनाउन सकोस् र सकारात्मक व्यवस्थापनमा सार्थक परिणाम ल्याओस् । किनकि युट्युबरको समस्या विष्णु माझीको नयाँ गीत प्रसङ्गबाट एक्कासि उठेको होइन । यसअघि यस्ता अनेकौँ विवादास्पद प्रकरण भएका थिए । जसबाट समाजले अनेक क्षति बेहोरिसकेको छ । यसको अर्थ, युट्युबरले राम्रा कामसमेत प्रशस्त गरेको पाइन्छ । जसले समाज, नागरिक र राष्ट्रको हितसमेत गरेको छ ।

समस्या भयावह
पछिल्ला कैयौँ घटनाले पुष्टि गरेको कुरा हो, जिम्मेवार र आधिकारिक निकायका परिपक्व सूचनाले भन्दा अपुष्ट, अनधिकृत र गैरजिम्मेवार सूचनाले समाजलाई बढी प्रभावित पार्ने गरेका छन् । कैयौँ युट्युबरलाई पनि भीड भड्काउन र निर्देशित गर्न बल पु¥याएको आरोप लाग्दै आएको छ । जसले गर्दा एउटा प्रश्न जन्माएको छ, युट्युबर समस्या हुन् कि समाधान ? अथवा उनीहरूलाई प्रेस काउन्सिलले नियमन गर्छ वा साइबर क्राइम ब्युरोले ? अहिलेसम्म उत्तर छैन ।

समयले नयाँनयाँ आविष्कार र प्रयोगलाई माग गर्दछ । नयाँ परिवेशमा नयाँनयाँ प्रयोगलाई पुष्टि गर्दछ । सञ्चारमा नयाँ प्रयोग भइरहेका अत्याधुनिक माध्यममध्ये युट्युब अहिले सर्वाधिक रुचाइएको र प्रयोग भइरहेको पहुँचको माध्यम साबित भएको छ । प्रमाण हो, युट्युबको असाध्यै प्रयोग र युट्युबरको अचाक्ली वृद्धि । किनभने यसमा हेर्न, पढ्न र सुन्न सकिने मिडियाका तीनवटै विशेषता छन् । सामान्यतया युट्युबर भन्नेबित्तिकै दिक्क मान्ने जमात निकै ठूलो छ तर त्यो जमात भद्दा मजाकका सामग्रीहरू हेर्न पनि उत्तिकै बाध्य छ । उत्तेजक, लोभलाग्दा शीर्षकहरूले उनीहरूलाई झट्ट तान्दछ तर अन्तिममा परिणाम खराब ।

झ्याप्प बुम तेस्र्याएर जहाँ पनि, जति बेला पनि, जोस“ग पनि जे पनि उट्पट्याङ प्रश्न सोध्नेहरू युट्युबर हुन् भन्ने यौटा जबरजस्त मान्यता बन्दै गएको छ । उनीहरूले घर झगडा, कुटपिट, दुर्घटनाका बीभत्स दृश्यहरू सार्वजनिक गरेर लोकप्रिय हुन खोज्छन् भन्ने आमआरोप छ । धर्म, संस्कृति र संस्कारमाथि प्रहार, सामाजिक सद्भावमाथि खलल पार्ने खालका सामग्रीको प्रस्तुतिलाई युट्युबमा प्राथमिकता दिइन्छ पनि भनिन्छ । सबै युट्युबरका हकमा लागू हुने आरोप त यो होइन तर अधिकांश गैरजिम्मेवार, अपरिपक्व र बुम बोक्नेबित्तिकै मिडिया ठान्ने सोचका कारण सबै युट्युबर पनि एकसाथ बदनाम बनेको अवस्था छ ।

समाजले पत्रकार भनेकै युट्युबर हुन् भन्ने मान्यताले पत्रकारिता र मिडियाप्रति नै वितृष्णा बढेको परिस्थिति छ । नेपालमा युट्युब र युट्युबर कति छन् ? आधारिक तथ्याङ्क छैन । अनलाइन टेलिभिजन पत्रकार सङ्घको तथ्याङ्कअनुसार सङ्घमा झन्डै दुई सय जना युट्युबर सम्पर्कमा छन् । जसले समाचारमूलक सामग्री प्रसारण गर्दछन् तर नेपालभर समाचारमूलक र गैरसमाचारमूलक सामग्री प्रस्तुत गर्ने युट्युबर हजारको सङ्ख्यामा रहेको अनुमान गर्न सकिन्छ । जुन कुनै जिम्मेवार आधिकारिक निकायको सम्पर्क र दायरामा छैनन् ।

अहिलेसम्म युट्युब दर्ताको बाध्यकारी अवस्था छैन । दर्ता गर्नुपर्छ कि पर्दैन ? भन्ने ठोस धारणा पनि बनेको छैन । उनीहरू कसैको मातहत वा निर्देशनमा छैनन् । स्वनियमनमा बाँधिएकाहरू निकै कम छन् । युट्युबमा नाम, दाम र व्यवसाय देख्ने ठूलो जमात छ । उनीहरू यस क्षेत्रको व्यावसायिक विकासका लागि के सोचिरहेका छन् ? यो पनि प्रस्ट भइसकेको छैन । सीमित सङ्ख्याका खाँटी सूचनामूलक युट्युबरका गुनासा पनि जायज छन् ।

राम्रा समाचार वा गैरसमाचारमूलक सामग्री प्रस्तुत गरिए पनि ‘युट्युबे’, डलरे भन्छन् । २०७६ माघ २४ गते अनलाइन टेलिभिजन र युट्युबरको यौटा भेलामा प्रवेश भएको नयाँ विषय यहाँ सान्दर्भिक हुन्छ । जुन भेलामा अनलाइन टेलिभिजन, युट्युबर, पत्रकार महासङ्घका अगुवा र सरोकारवाला सहभागी थिए । पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले भेलामा भन्नुभयो, “बडो सजिलोसँग प्रविधिको उपहार, पछिल्लो पुस्ता ! अलि बढ्तै गरी यसो गर्दै जाँदा मलाई लाग्छ, खतरा म के देख्छु भने हाम्रो भेट जेलमा हुन्छ । अप्ठ्यारो नमान्नुहोला, म बडो सोचविचार गरेर भन्दैछु, भावनामा भनिरहेको छैन । तपाईंले विवेक प्रयोग नगरिकन जे भेटेको विषयवस्तु पनि मेरो कन्टेन्ट हो भन्न थाल्नुभयो भने मलाई लाग्छ, त्यो दिन टाढा हुँदैन ।”

गाउ“लेले भनेजस्तै कतिपय युट्युबर पक्राउ परेका छन् । कैयौँ अहिले पनि मुद्दामामिला खेप्दैछन् । सोही भेलामा फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहालको टिप्पणी यस्तो थियो, “म त धेरै युट्युब कन्टेन्टको प्रयोगकर्ता होइन तर आलोचनाहरू सुनिरहेको हुन्छु । यसमा कुन रूपमा जाने ? इन्टरनेटमा टेक्नोलोजीको प्रयोग गर्ने एउटा मान्छे हुने कि पत्रकार हुने ? पत्रकार हुने हो भने त्यसका जुन मूल्यमान्यताहरू विकसित भएका छन्, त्यसको जिम्मेवारी लिने हिसाबले अगाडि बढौँ । योे कुराको छिनोफानो हुनुपर्छ ।”

वरिष्ठ पत्रकार दाहालले त्यसबेला चिन्ता गर्नुभएजस्तै अहिले पनि क्यामरा वा मोबाइल बोक्नेजति पत्रकार हुने कि पत्रकार हुनका लागि मूल्यमान्यताहरू पालना गर्ने ? अझै छिनोफानो हुन सकेको छैन तर छिनोफानोका लागि अहिले निकै राम्रो अवसर छ । क्यामरा, मोबाइल तेस्र्याउने, प्रेस लेखेको ज्याकेट लगाउने र बुम देखाउनेबित्तिकै पत्रकार भइन्छ र ?

समाधान छैन र ?
पछिल्लो समय छापा सञ्चार विश्वभर नै खुम्चिएको छ । कोरोना महामारीले ठुलाठुला मिडिया हाउसहरू खुम्चिँदा वैकल्पिक माध्यमका रूपमा युट्युब फैलिँदो अवस्थामा छ । ठुला टेलिभिजनमा चल्ने कैयौँ प्रभावकारी कार्यक्रम अहिले युट्युब च्यानलमार्फत प्रसारण नगरी सुखै छैन । लोकप्रिय कैयौँ हास्य शृङ्खलाले पनि युट्युब च्यानलहरू रोजिरहेका छन् । अचेल युट्युबबाटै म्युजिक भिडियो, पुस्तक सार्वजनिक हुन थालेका छन् । यतिसम्म कि कलाकारपिच्छे युट्युब च्यानलहरू छन् । प्रायजसो अनलाइन मिडियाका युट्युब च्यानल छन् । टेलिभिजनका अनलाइन च्यानल छन् । रियालिटी सोहरू, विभिन्न प्रतियोगिताहरू, समाचार, बुलेटिनहरूसमेत युट्युब च्यानलमार्फत हेर्न सम्भव भइरहेका छन् । त्यसैले सबैले स्वीकार्नैपर्ने पक्ष के हो भने सूचना सम्प्रेषणको महìवपूर्ण र शक्तिशाली माध्यम युट्युब भएको छ । कम लगानीमा धेरैको पहुँच सम्भव भएकाले यसको प्रयोग र प्रभावकारिता बढेको छ ।

त्यसो भए के सबै युट्युब र युट्युबर खराब छन् ? के सबै युट्युबर गैरजिम्मेवार छन् ? सबैलाई यौटै डालोमा हालेर आक्षेप लगाउनु पनि राम्रो होइन । कतिपय युट्युब र युट्युबरले मूलधारका मिडियाले सार्वजनिक गर्न नसकेका घटना र समाचार सार्वजनिक गरिरहेका छन् । त्यसैले युट्युब मिडियाको सदुपयोग गर्न सकिए मौलिक हकका रूपमा रहेको सूचनाको हकको प्रत्याभूतिमा महìवपूर्ण टेवा पुग्ने छ । विकासनिर्माण, उद्धार, राहतजस्ता कार्यमा युट्युबले राम्रो योगदान पुर्याउन सक्दछ ।

युट्युबलाई पत्रकारिताको अभिन्न अङ्ग बनाउने हो भने पत्रकार आचारसंहिताको पालनामा ध्यान दिनैपर्छ । बरु युट्युबलाई ध्यानमा राखेर कस्तो र कसले आचारसंहिता बनाउने भन्ने कुरा पनि बहसको विषय बनाउन सकिएला । नेपालमा अनलाइन मिडियाको नियमन र व्यवस्थापनबारे लामो समयदेखिको बहस अझै सार्थक तरिकाले टुङ्गिएको छैन । युट्युब र युट्युबरको व्यवस्थापनमा पनि बहस र निकास जरुरी छ । युट्युबरले छाडापन र अश्लीलता छोड्नैपर्छ तर हेक्का गरौँ, नियमन र नियन्त्रणका नाममा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई प्रभाव पार्ने गरी अति कठोर बनियो भने पनि परिणाम प्रत्युत्पादक हुनसक्छ । युट्युबरले अब निक्र्योल गर्नैपर्छ कि युग बदल्ने कि झन् बदनाम हुने ? युट्युबलाई व्यवस्थित गर्दै सामाजिक र आर्थिक विकासको अभिन्न अङ्ग बनाउने कि राष्ट्र र समाजलाई अझ बदनाम हुन दिने ? नीति निर्माण गर्ने तहले पनि सोच्नैपर्ने बेला भएको छ तर यसको छिनोफानो त हुनैपर्छ,
जति सक्दो छिटो । –गाेरखापत्र अनलाइन

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

भारतीय सहित तीनको शङ्कास्पद मृत्यु प्रदेश-१ मा थपिए ३२७ मा संक्रमित, ४ जनाको मृत्यु सुदूरपश्चिम प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण, एकको मृत्यु जितिया पर्वको अवसरमा सार्वजनिक विदा भैरहवास्थित भिम अस्पतालका स्वास्थ्यकर्मी फेरी आन्दोलनमा, माग पुरा नभएको गुनासो २४ घण्टा व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग पत्रकार पन्त सम्मानित ५० लाख धरौटीमा छुटे शर्मा नेप्सेमा उच्च अङ्कको गिरावट, कारोबार रकम समेत घट्यो पर्यटकको आगमनले उत्साहित हुँदै व्यवसायी नेपालमा थपिए १ हजार २८२ कोरोना संक्रमित, ७ जनाको मृत्यु बुटवलमा दशैं सस्तो बजार मध्य भोटेकोशीको आइपीओ बाँडफाँट दक्षिण कोरियामा कोरोना भाइरसले पुनः महामारीको रुप लियो सुरु भएन विद्युतीकरण सुस्ताएको पर्यटन व्यवसाय जुरमुराउँदै टिपरको ठक्करबाट बोलेरो चालकको मृत्यु लुम्बिनीको नेपालगन्ज उपमहानगर बैठकमा लफडा, एक घाइते फार्मेसी संघ, लुम्बिनी प्रदेशद्वारा शुभकामना तथा अन्तरक्रिया कार्यक्रम फार्क विद्रोहीको आक्रमणमा पाँच जनाको मृत्यु