ताजा अपडेट »

युवा संघ लुम्बिनीद्वारा वृहत भेलाको तयारी, बुटवलमा सचिवालय स्थापना

आइतबार, २७ भदौ २०७८, १३ : ०५
4 Shares

बुटवल । राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेश कमिटीले प्रदेशका सबै जिल्लामा विशेष अभियान सञ्चालन गर्ने भएको छ । प्रदेश कमिटीको आयोजनामा लुम्बिनी प्रदेशमा वृहत भेला गर्ने, प्रदेश स्तरको विस्तारित भेलाको आयोजना गर्ने, सबै जिल्ला कमिटी र मातहतका पालिकाहरुमा युवा संघका कार्यकर्ता भेला हुने भएका छन् ।

राष्ट्रिय युवा संघ नेपालको लुम्बिनी प्रदेश कमिटीको बुटवलमा बसेको प्रथम पूर्ण बैठकले संगठन सदृढिकरण र विस्तारका अभियानलाई एकसाथ सञ्चालन गर्ने निर्णय गरेको लुम्बिनी प्रदेश कमिटी अध्यक्ष तुलबहादुर अधिकारीले जानकारी दिए । लुम्बिनीका १२ वटै जिल्लाका अध्यक्षहरु, जिल्लाबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु र प्रतिनिधि सहभागी रहेको बैठकले संगठन सुदृढिकरण, विस्तार र प्रशिक्षणका अभियान सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष अधिकारीले बताए ।

यसैगरी युवा संघले बाँकेमा बृहत्त युवा भेलाको आयोजना गर्नुका साथै बुटवलमा प्रदेशको सचिवालय स्थापना गर्ने भएको छ । भेलाको तयारी लगायतका कामका लागि बुटवलमा केन्द्रीय स्तरको सचिवालय र बाँकेमा समेत प्रचार-प्रसार कार्यालय स्थापना गर्ने निर्णय गरेको केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी इन्चार्ज सुमन पुरीले जानकारी दिए । यस्तै युवा संघका जिल्ला स्तरका भेलाहरु आगामी असोज पहिलो सातासम्ममा गर्नेलगायतका निर्णय गरेको छ ।

संघको बैठकमा सहभागी नेकपा एमालेका स्थायी समितिका सदस्य तथा युवा नेता टोपबहादुर रायमाझीले पार्टीका विरुद्ध फैलाउन खोजिएका भ्रम, षड्यन्त्र र अनेक प्रकारका तिगडमलाई परास्त गर्न युवा संघले विशेष अभियान सञ्चालन गर्नुपर्ने बताए । युवाहरुलाई रचनात्मक, सिर्जनात्मक र उत्पादनमूलक काममा लगाउन जरुरी रहेको उल्लेख गर्दै नेता रायमाझीले उक्त कामको अगुवाई राष्ट्रिय युवा संघ नेपालले गर्नुपर्ने बताए । ‘युवा संघको अगुवाईमा निर्माणको, रचनात्मक कामको, उत्पादनमूलक कामको, समाज सुधारको र अनेक प्रकारका वेथितिका विरुद्ध भण्डाफोरको समेत अभियान चलाउनुपर्ने छ ।’-नेता रायमाझीले भने ।

एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष लिला गिरीले परिवर्तनका आन्दोलनको नेतृत्व गरेको युवा पंक्तिले अब निर्माण र रुपान्तरणको आन्दोलनको पनि नेतृत्व गर्ने बेला आएको बताए । विकृति, विसंगति र अनेक प्रकारका बेथितिमा फसेका युवाहरुलाई सुधार्नका लागि युवा संघमा आवद्ध गराउनुपर्ने र तिनीहरुसमेतको सहकार्यमा समृद्धिको अभियान सञ्चालन गर्न सकिने नेता गिरीको भनाइ थियो । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेलले कार्यतालिका नै बनाएर देशव्यापी अभियानको तयारी भएको भन्दै युवाहरुलाई राष्ट्रिय युवा संघमा गोलबद्ध गराउन मातहतका कमिटीहरुलाई आग्रह गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।