ताजा अपडेट »

पोखरामा हुने राष्ट्रिय फुटसलमा रुपन्देहीका दुई क्लब, झरना र लुम्बिनी खेल्ने

शनिबार, २६ भदौ २०७८, २२ : १२
10 Shares

बुटवल । पोखरामा असोज २ गतेदेखि ए डिभिजन राष्ट्रिय फुटसल लिग सुरु हुँदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना र टर्नपाइक इभेन्टको प्रायोजन तथा व्यवस्थापनमा पहिलो पटक हुन लागेको राष्ट्रिय फुटसल लिगमा लुम्बिनी प्रदेशबाट २ वटा टिम सहभागी हुँदै छन् । उक्त खेलको लागि सहभागी हुने लुुम्बिनीका २ टिम रुपन्देहीका झरना स्पोर्टस क्लब र लुम्बिनी फुटसल रहेका छन् ।

खेलको मिति नजिँकिए सँगै रुपन्देहीको झरना स्पोर्टस क्लबका खेलाडीहरु अभ्यासमा व्यस्त छन् । गत जेठमा हुने भनिएको खेल कोरोना महामारीले गर्दा असोजमा सारिएको थियो । खेलको मिति लम्बिएपछि खेलाडीहरुलाई सिकाईमा प्रशस्त समय व्यवस्थापन मिलेको क्लबका म्यानेजर सिजन थापाले बताए ।

राष्ट्रिय फुटसल लिगको लागि खेलाडीहरु तयार रहेको उनको भनाई छ । ‘खेल गत जेठमा हुने भनिएको थियो, त्यतिखेर हामिसँग समय थिएन, खेलाडीले राम्ररी प्राक्टिस गर्न पाएका थिएनन् ।’ उनले भने, ‘पछि समय लम्बिएपछि हामिलाई फाईदा भयो ।’ उनले नजिकका खेलाडी घरबाट आउने जाने भइरहेको र टाढाका खेलाडीहरुलाई बासको व्यवस्था पनि मिलाइएको बताए ।

खेलको लागि झरना स्पोट्र्स क्लबका १४ जान खेलाडीले प्रशिक्षण लिइरहेको कोच निर्मल थापाले बताए । उनले दैनिक समय समयमा प्रशिक्षण दिईरहेको बताए । पहिलो पटक झरना स्पोर्टर्स क्लबले राष्ट्रिय लिगमा सहभागी हुन पाउने गौरभको विषय रहेको उनको भनाई छ । उनले जित्छौं भन्ने उद्धेश्यका साथ तयारी गराइरहेको बताए । ‘राष्ट्रिय लेभलमा खेल्न पाउँनु यो गौरभको कुरा हो । हार्छौ वा जित्छौं अनुमान गर्न सकिदैन।’ उनले भने, ‘लक्ष्य भनेको जित्ने नै हो, यदी कारण बस हार्न पुगेछौं भने यो हाम्रो लागि अनुभव पनि हुनेछ ।’

क्लबका खेलाडीहरु पनि उत्साहित भएका छन् । खेलको लागि व्यापक तयारी र हौसला मिलेको टिमका क्याप्टेन ओमप्रकाश थापा बताउँछन् । उनले राष्ट्रिय स्तरमा खेल्न पाउँदा गर्व लागेको बताए । ‘स्थानीय लेभलमा खेलिरहेका थियौं धेरै जसो, राष्ट्रिय लेभलमा खेल्न पाउँनु यो पहिलो पटक हो ।’ उनले भने, ‘राम्रै लागेको छ । यो गर्वको विषय हो हाम्रो लागि । जित्छौ कि भन्ने आशा छ ।’

उक्त प्रतियोगितामा ६ प्रदेशका १० टिमले भाग लिनेछन् । विजेताले १० लाख रुपैयाँ पाउनेछ भने उपविजेतालाई ५ लाख प्रदान गरिनेछ । उत्कृष्ट खेलाडी, गोलकिपर, डिफेन्डर, प्रशिक्षक र इमर्जिङ खेलाडीले जनही २५ हजार पाउनेछन्।

सुरज घिमिरे
लेखकको बारेमा
सुरज घिमिरे