ताजा अपडेट »

एघार लाखलाई निःशुल्क मास्क

शनिबार, २६ भदौ २०७८, २१ : ०२
2 Shares

काठमाडौं । प्रहरीले मास्क नलगाइ हिँड्ने ११ लाख बढी नागरिकलाई मास्क निःशुल्क रूपमा उपलब्ध गराएको छ । गएको वैशाखयता (दोस्रो भेरियन्टको कोरोना सङ्क्रमण)को अवधिमा यसरी मास्क वितरण गरिएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए । 

प्रहरीले उक्त अभियान ७७ वटै जिल्लामा सञ्चालन गरेको थियो । काठमाडौँका विभन्नि सडकमा हेल्प डेस्क नै राखेर मास्क वितरणका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो । जिल्लामा पनि कार्यक्रम नै आयोजना गरी मास्क वितरण गरिएको जनाइएको छ । 

मुख्यगरी कोभिड–१९ सङ्क्रमण रोकथाम तथा जोखिम न्यूनीकरणका प्रहरीले मास्क वितरण अभियानकै रूपमा चलाइएको हो । “मानिसले मास्क नलगाई हिँड्ने गरेको देखियो, मास्क नलगाउनेलाई छिट्टै सङ्क्रमण हुने चिकित्सकको भनाइअनुसार मास्क वितरण थालिएको हो । यसले मानिसमा मास्क लगाउनुपर्छ भन्ने चेतनाको विकास पनि हुने हुँदा अभियान चलिएको हो”, प्रवक्ता कुँवरको भनाइ छ ।

प्रहरीले गएको वैशाख ६ पछि ‘तपाईंको मास्क खोई ?’ कार्यक्रमअन्तर्गत मास्क वितरण थालेको थियो । आज मात्रै २ हजार ५८६ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । हालसम्म जम्मा ११ लाख १८ हजार २१२ जनालाई निःशुल्क मास्क वितरण गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल प्रहरीले ‘सङ्क्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खै ?’ अभियान चलाएको हो । यस्तै पछिल्ल्लो २४ घण्टामा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको नियम उल्लङ्घन गर्ने २५ जनालाई रु दुई हजार ५०० जरिवाना गरिएको छ । 

सो क्रममा स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने एक हजार २९३ जनालाई सचेत गराइएको छ । देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चा, पम्प्लेटसहितको ४४ वटा सचेतनामूलक कार्यक्रमअन्तर्गत चार हजार ९७३ जना सहभागी रहेको जनाइएको छ । रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।