ताजा अपडेट »

कोभिडको पहिलो लहरमा भन्दा दोस्रो लहरमा बालबालिकाहरु दोब्बरले संक्रमित

शनिबार, २६ भदौ २०७८, १२ : ४२
6 Shares

कठमाडौं । कोभिड–१९ को पहिलो लहरको तुलनामा दोस्रो लहरमा बालबालिकाहरु झण्डै दोब्वरले कोरोनो संक्रमित भएका छन् ।

स्वास्थ्य मन्त्रालयले दिएको तथ्याङ्क अनुसार पहिलो लहर सुरु भएको सन् २०२० अप्रिल २० देखि सन् २०२१ मार्चको २१ सम्म १८ वर्ष मुनिका २१ हजार ५२३ जना बालबालिका कोरोना संक्रमित भएका छन् भने दोस्रो लहर सुरु भएको सन् २०२१ को अप्रिलदेखि यहि विहिबारसम्मको तथ्याङ्क हेर्दा ४१ हजार एक सय ७० जना बालबालिका संक्रमित भएका छन् ।

त्यस्तै, पहिलो लहरमा भन्दा दोस्रो लहरमा कोभिडका कारण मृत्यु हुने बालबालिकाको संख्या पनि वृद्धि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार पहिलो लहरमा कोभिडका कारण मृत्यु हुने बालबालिकाको संख्या ३८ थियो । तर दोस्रो लहर सुरु भएदेखि हालसम्म ४८ जना बालबालिकाको मृत्यु भएको छ ।

दास्रो लहरको छ महिनामै ४८ बालबालिकाको मृत्यु भएको देखिएको छ । सिभिल अस्पतालका बालरोग विशेषज्ञ डा. सुदर्शन कोइरालाका अनुसार नेपालमा कोरोना भाइरस प्रकोप बढ्दै जाँदा संक्रमित हुने बालबालिकाहरुको संख्यामा पनि वृद्धि भएको उनको भनाइ छ । पहिलो लहरको भन्दा दोस्रो लहरको भाइरस बढी संक्रामक भएका कारण पनि बालबालिकाहरु बढी संक्रमित भएको उनले बताए ।

बच्चाहरुले कोभिड विरुद्धको खोप नलगाएको कारण पनि बढेको उनी बताउँछन् । नेपालमा हाल कोरोना भाइरसको डेल्टा भेरियन्ट देखिएको छ । जुन बढी संक्रामक मानिन्छ । हालसम्म नेपालमा १८ वर्षभन्दा बढी उमेर समूहमा मात्रै खोप लगाइएको छ । तर, सरकारले १८ वर्षभन्दा कम उमेर समूहका बालबालिकालाई ६० लाख डोज फाइजर खोप ल्याउने प्रक्रिया अघि बढाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।