ताजा अपडेट »

के होला अब एमालेको भविष्य ?

शनिबार, २६ भदौ २०७८, १० : २५
4 Shares

आफ्नै कारण फुटेर प्रतिपक्षमा पुगेको नेकपा एमालेले बुधबारदेखि संसद् चल्न दिएको छैन । तैपनि सभामुखले जबर्जस्तीरुपमा संसदको कारबाही भने अगाडि बढाएकै छन् । आफ्नो पार्टीले अनुशासनको कारबाही गरेका सांसदको सदस्यता खारेज नगरेकोमा एमाले यतिबेला सभामुखसँग आक्रोशित छ । फुटको रनाहामा परेको एमालेसँग सभामुखले कुनै कूटनीतिक सहमति गरेनन् भने संसद् लामो समयसम्म अवरुद्ध भइरहने संभावना देखिँदैछ । न संसद् प्रभावकारी ढंगले चल्न सक्ने न त प्रतिपक्ष एमालेका मागहरु सम्बोधन नै हुन सक्ने वर्तमान अन्योलग्रस्त अवस्थाले मुलुकको आगामी गन्तव्य अन्धकारमय हुने परिस्थिति देखा पर्दैछ । सँगसँगै एमालेविरोधी गठबन्धन दीर्घकालीन अस्तित्वमा रहिरहे अब एमालेको भविष्य के होला भन्ने जिज्ञासा पनि सर्वत्र पलाएको छ ।

नेकपा एमाले औपचारिक रूपमा विभाजन भएको एकमहिना पुग्न लागिसक्यो । एमालेलाई फुट्न नदिनका लागि दोस्रो तहका केही नेताहरू आफ्नो पुरानो संलग्नता छाडेर केपी ओलीको पक्षमा लागे पनि उनीहरूकोे प्रयास पूर्णतः सफल हुन सकेन । अन्ततः पार्टी फुटेरै छाड्यो ।
मुलुकको राजनीतिक स्थिरता र सुन्दर भविष्यका लागि एमालेमा विभाजन हुनु हुँदैनथ्यो । एमाले विभाजनका मुख्य योजनाकार र कारकतत्वहरू को-को र के-के हुन् ? समयक्रममा खुल्दै जानेछ । एमालेको यो विभाजनले मुलुकमा अस्थिरता र अन्योल भने बढ्ने देखिन्छ । यो दुःखद कुरा हो ।

आफ्नै पार्टीको आन्तरिक द्वन्द्व र व्यक्तिगत इगोका कारण एमालेमा विभाजन भएको हो । त्यही आन्तरिक द्वन्द्व, व्यक्तिगत इगो र विभाजनकै कारण एमाले नेतृत्वको दुई तिहाइको सरकार ढलेको हो । प्रदेश सरकारहरू पनि त्यही जगका आधारमा ढलेका हुन् । अझै ढल्ने क्रममा छन् । बलियो जनसमर्थन प्राप्त भएको संघीय सरकार एमालेको हातबाट फुत्किएर कमजोर जनमत प्राप्त नेपाली काङ्ग्रेसको हातमा पुगेको छ । सरकार फुत्किए सँगसँगै पार्टी पनि विभाजित भएको छ । एमाले विरोधी गठबन्धनले उसलाई एक्लो बनाएर घेराबन्दीमा पारेको छ । यसर्थ यतिखेर नेकपा एमाले सर्वाधिक संकटमा फसेको छ । यो गम्भीर संकटबाट एमाले अब कसरी उत्रिन्छ वा अझ बढी डुब्छ ? त्यो भने एमाले नेतृत्वका आगामी क्रियाकलापले नै निर्धारण गर्नेछन् ।

नेकपा एमाले जनादेशको आधारमा सबैभन्दा लोकप्रिय र ठूलो पार्टी थियो । एमाले अरूका कारण हैन, आफ्नै कमजोरीका कारण गम्भीर संकटमा फसेको छ । आफ्नै दुर्बुद्धिले दुर्गतिपथमा आफै घचेटिएको छ । करिब छ महिनाको अन्तरालमा दुई पटक संसद् विघटन र दुवै पटकको संसद् पुनस्र्थापनापश्चात् सत्ताको बागडोर केपी ओलीबाट शेरबहादुर देउवाको हातमा पुगेको छ । एमाले सबभन्दा ठूलो दल भएर पनि यतिबेला प्रतिपक्षमा खुम्चिन वाध्य भएको छ । आफ्नै पार्टीका सांसदले विपक्षीलाई भोट दिँदासमेत एमाले नेतृत्व निरीह बनिरह्यो । यो निरीहता पार्टी एकताको प्रतीक्षाका लागि थियो वा आफ्नै कमजोरी लुकाउनका लागि ? एमालेले यसबारेमा सूक्ष्म विश्लेषण गर्नैपर्ने देखिन्छ ।

एमाले नेतृत्वले सत्ताको शिखरमा पुगेपछि नेपाली जनमतको अपार तागतलाई सम्हाल्न सकेन । नेताहरूले जनआकांक्षाको मर्मलाई उचित व्यवस्थापन गर्न जानेनन् । जनताले सुम्पेको जिम्मेबारीपूर्ण स्वर्ण अवसरलाई उचित ढंगले सदुपयोग गर्न सकेनन् । नेताहरूमा अतिशय मात चढ्यो । पार्टीभित्र आन्तरिक विवाद बढ्दै जाँदा जनताको असीम आकांक्षामाथि विश्वासघात भइरह्यो । नितान्त व्यक्तिगत र पदीय स्वार्थका लागि पार्टीभित्र झगडाको आगो सल्काएर नेताहरुले जनअपेक्षामाथि कुठाराघात गरिरहे ।

विपक्षमा रहँदा जनजीविकाका तमाम सबाल उठाएर लोकप्रिय बनेका एमाले नेताहरू सरकार चलाउन भने अपेक्षाकृत कुशल, सक्षम र सफल देखिएनन् । पार्टीले सिद्धान्त, विधि,विचार र अनुशासनमा नियन्त्रण गर्न नसकेपछि नै नेताहरू आफ्नो नैतिकता र आदर्शबाट च्युत भएका हुन् । अहम् र दम्भकै कारण एमाले सत्ताको शिखरबाट सडकमा पछारिएर विक्षिप्त बनेको छ । एमालेको यो विक्षिप्तता र विभाजनले लामो सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त सङ्घीयता र गणतन्त्रजस्ता महत्वपूर्ण राजनीतिक उपलब्धिहरू जोखिममा पर्ने हुन् कि भन्ने चिन्ता बढेको छ । अर्कोतिर राजनीति अस्थिर र सङ्कटपूर्ण बन्दै जाँदा मुलुक नै असफल बन्ने त होइन भन्ने त्राससमेत थपिएको छ । यसपछाडिको मुख्य दोषी एमाले नेतृत्व नै हो ।

अहिले सबैजसो पार्टी र नेताको अर्जुनदृष्टि सत्ता बनेको छ । उनीहरूलाई जसरी पनि सत्ता चाहिएको छ । पार्टी फुटाएर सत्ता चाहिएको छ । गुट परिवर्तन गरेर सत्ता चाहिएको छ । जेजसो गरेर पनि मन्त्री पद चाहिएको छ । अर्को चुनाव जित्ने आर्थिक जोहोका लागि मन्त्री बन्नै परेको छ । नेताहरुको कुर्सीको यो लुछाचुँडीको चपेटामा निरीह र निर्दोष जनता परेका छन् । यो अर्को दुःखद पक्ष हो ।

समाजका सबैजसो क्षेत्रमा प्रभाव जमाउन सफल एमाले संगठनको मूल आधार निम्न वर्ग र निम्न मध्यम वर्ग नै थियो । तर, आजभोलि सो पार्टीले मध्यम वर्ग र दलाल पुँजीपति वर्गको हितमा काम गर्न थालेको छ । पार्टीभित्रै निम्न वर्गका आवाजहरु दबिन थालेका छन् । सांगठानिक रूपमा आफूलाई बलियो बनाउँदै सडकको आडमा पटक-पटकका सत्ता-अवसरलाई एमाले नेताहरूले नितान्त निजी स्वार्थका लागि दुरूपयोग गरे । पार्टी र जनताका लागि भन्दा पनि उनीहरूको स्वार्थ फगत पदकेन्द्रित र सरकारकेन्द्रित बन्यो । जनताको मुक्तिका लागि भन्दै ठूलो संघर्ष र बलिदान गरेर आएका कतिपय नेताहरू नै यतिखेर नेपालको कम्युनिस्ट विभाजनको कुत्सित अभियानमा लागेका देखिन्छन् । नेताहरूले राजनीतिलाई पेसा बनाउन थालेपछि नै तमाम विकृति र विसंगति बढेका हुन् । त्यसैको फलस्वरूप एमाले पार्टी दुई टुक्रा भएको हो ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा लिएर एमाले सत्तामा पुग्न सफल भयो । जीवनमा आर्थिक अभाव र दरिद्रता समाप्त होला भन्ने आशामा जनताले एमालेलाई समर्थन र विश्वास गरेका थिए । जनताले चाहेको, खोजेको र अपेक्षा गरेको आफ्नो जीवनस्तरमा आमूल परिवर्तन नै हो । एमाले नेताहरूले आफ्नो अहङ्कार र राजनीतिक स्वार्थका कारण जनतालाई भुलेपछि जनताका सपना पूरा हुन सकेनन् । त्यसैले त आम जनता निराश, खिन्न र दुःखी भएका छन् ।

जनाधारको हिसाबले नेपालको सबैभन्दा व्यवस्थित,बलियो र संगठित पार्टी एमाले यतिबेला अत्यन्तै अव्यवस्थित, लथालिङ्ग र विभाजित अवस्थामा छ । एमालेको विभाजनले नेपालको समग्र कम्युनिस्ट आन्दोलन नै प्रतिरक्षात्मक अवस्थामा पुगेको छ । यसले कम्युनिस्ट आन्दोलन नै भ्रष्टीकरण हुँदै दक्षिणपन्थी ध्रुवीकरणमा बरालिने त होइन भन्ने आशंकासमेत बढाएको छ ।

जनताले ठूलै विश्वास र असीम आकांक्षा राखेर तीनै तहका सरकारमा एमालेलाई पठाएका हुन् । ती सरकारले पार्टीका तर्फबाट पाउनुपर्ने सुझाव, पृष्ठपोषण र नियन्त्रण पाएनन् । फलस्वरूप सबै तहका सरकारले गरेका राम्रा कामको पार्टीमार्फत् जनतामा सम्प्रेषण भएन । न सरकारहरू पार्टीको घोषणापत्र,निर्देशन र कार्यक्रमअनुसार चल्न सके न त सरकारका कामको जिम्मेबारी पार्टीले लिने अवस्था नै रह्यो । फलस्वरूप यतिखेर जनताले सुम्पेको एमाले नेतृत्वको सरकार न एमालेको हातमा छ न त जनताका बीचमा पार्टी नै बच्न सकेको छ ।

नेकपा एमाले सामूहिक नेतृत्वमा चल्न छाडेपछि पार्टीमा संकट आएको हो । केपी ओलीको अहङकार र दम्भले नै यो दयनीय अवस्थामा आएको हो । पार्टीले तय गरेको पद्धति, विधि र निर्णयअनुसार काम भएका भए एमालेमा यस्तो अवस्था आउने थिएन । सरकारको काम पार्टीको संस्थागत निर्णय, निर्देशन र अनुगमनअनुसार भएको भए समस्या बल्झिने थिएन ।

यतिखेर आफ्नो नेतृत्वका करिब दुई तिहाइका प्रदेश सरकारहरू पनि धमाधम ढल्दै जाँदा एमालेलाई धेरै थोक सिकाएको हुनुपर्छ । आन्तरिक कलह र भित्रभित्रै रापिंँदै गइरहेका गुट–उपगुटका श्रृङ्खलाले सिङ्गो पार्टीमा आगो कसरी सल्काउँछन् भन्ने पाठ एमालेले राम्रैसँग बुझेको हुनुपर्छ । पार्टीमा आन्तरिक द्वन्द्व व्यवस्थापन गर्न नसक्दाको परिणाम कतिसम्म घातक हुन्छ भन्ने तितो अनुभव पनि गरेकै हुनुपर्छ ।

यसर्थ, पार्टीमा हदैसम्मको शुद्धीकरण र कडा अनुशासन एमालेका लागि अब अपरिहार्य विषय भएका छन् । जनमुखी चिन्तन, आदर्श जीवनशैली ,सैद्धान्तिक र राजनीतिक आधारमा स्कुलिङ एमालेले अँगाल्नैपर्ने कुरा भएका छन् । सरकारी गठबन्धनको घेराबन्दीमा परेको एमाले पार्टीले अपनाउने सिद्धान्त,रणनीति,व्यवहार तथा आचरणले नै अबको एमालेको भविष्य निर्धारण हुनेछ ।
( ज्ञवाली रूपन्देहीका शैक्षिक अगुवा हुन् )

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।