११ आश्विन २०७९, मंगलवार

Sep 27, 2022

काठमाडौँ । करिब दुई हजार मेगावाट बिजुली प्रवाह गर्न सकिने दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने विषयमा नेपाल र भारतबीच सहमति जुटेको छ । लामो समयदेखि प्रस्तावित भए पनि प्रक्रिया अगाडि बढ्न नसकेको बुटवल गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने विषयमा दुई पक्षीय सम्झौतामा बुधबार लगानी सम्झौतामा हस्ताक्षर भएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।

Advertisement

कूल ४०० केभी क्षमताको उक्त प्रसारण लाइन निर्माण गर्ने विषयमा २०७५ असोजमा नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठकले सहमति जनाएको थियो । सो सहमतिमा नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिडले समान लगानी गर्ने सहमति भएको थियो ।

बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि लगानी सम्झौता भएको भारतको राजधानी नयाँ दिल्लीमा रहनुभएका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । प्राधिकरण र भारत सरकारको स्वामित्वमा रहेको पावर ग्रिड कर्पोरेसन अफ इण्डियाबीच संयुक्त लगानी तथा लगानीकर्ता सम्झौतामा हस्ताक्षर भएको उनले बताए ।

सो प्रसारण लाइन अमेरिकी सहयोग परियोजना एमसिसीसँग पनि जोडिन पुगेको छ । काठमाडौँको नाङ्लेभारेबाट सुरु हुने ४०० केभी क्षमताको प्रसारण लाइन बुटवलसम्म पुग्नेछ । बुटवलमा निर्माण हुने ४०० केभी क्षमताको सवस्टेशन भएर सो प्रसारण लाइन भारतको गोरखपुरमा जोडिनेछ । एमसिसी उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणको क्रममा नै प्रसारण लाइन निर्माणका विषयमा सहमति हुनुलाई जानकारले सकारात्मक परिघटनाको रुपमा टिप्पणी गरेका छन् ।

भारतको राजधानी नयाँदिल्लीमा बुधबार भएको कार्यक्रममा प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र पावर ग्रिडका तर्फका कार्यकारी निर्देशक वाइ के दीक्षितले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । मन्त्रिपरिषद्को गत साउन १९ गतेको बैठकले बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको भारततर्फको खण्ड निर्माणका लागि स्थापना गरिने कम्पनीमा ५० प्रतिशत शेयर लगानी गर्न प्राधिकरणलाई स्वीकृति दिएको थियो ।

सम्झौतामा हस्ताक्षरपछि प्रसारण लाइन अन्तर्गत भारततर्फको खण्ड निर्माणका लागि प्राधिकरण र पावर ग्रिडको ५०र५० प्रतिशत संस्थापक शेयर रहने गरी संयुक्त कम्पनी स्थापना गर्न बाटो खुलेको कार्यकारी निर्देशक घिसिङले बताए । “दुई मुलुक बीचका सचिव र सह सचिवस्तरीय संयन्त्रका बैठकले भारततर्फको खण्ड प्राधिकरण र पावर ग्रिडको संयुक्त लगानी रहने गरी कम्पनी स्थापना गर्ने र त्यसैमार्फत निर्माण गर्ने सहमति भए तापनि मन्त्रिपरिषद्बाट स्वीकृति नपाउँदा संयुक्त लगानी तथा शेयर होल्डर सम्झौता हुनसकेको थिएन”, उनले भने, “मन्त्रिपरिषदका स्वीकृतिमा सम्झौतामा हस्ताक्षर भएसँगै प्रबन्ध पत्र, नियमावली तयार गरी कम्पनी स्थापना गर्न र प्रसारण सेवा सम्झौताका लागि अगाडि बढ्न बाटो खुलेको छ ।” उनले प्रसारण लाइन तीनदेखि साढे तीन वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढेको बताए ।

बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको लम्बाइ १२० किलोमिटर छ । त्यसमध्ये नेपालतर्फ २० किलोमिटर पर्छ भने भारतर्फ १०० किलोमिटर पर्छ । नेपाल खण्डको प्रसारण लाइन नेपाल आफैंले र भारततर्फको प्राधिकरण र पावर ग्रिडको ५०र५० प्रतिशत शेयर स्वामित्वमा स्थापना हुने कम्पनीले निर्माण गर्ने छन् ।

प्रसारण लाइनले करिब दुई हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्ने प्राधिकरण विद्युत् व्यापार विभागका निर्देशक प्रबल अधिकारीले जानकारी दिए । “अहिले सञ्चालनमा रहेको ढल्केबर– मुजफ्फरपुर पहिलो अन्तरदेशीय ४०० केभी प्रसारण लाइनले भन्दा बुटवल–गोरखपुर प्रसारण लाइनले झण्डै डबल क्षमतामा विद्युत् प्रवाह गर्न सक्छ, यो प्रसारण लाइन दुई मुलुक बीचको विद्युत् व्यापारका लागि लाइफ लाइन हुनेछ”, उनले भने ।

नेपाल–भारत ऊर्जा सचिव तथा सहसचिवको संयन्त्रको २७–२८ असोज २०७६ मा भएको सातौं बैठकले प्रसारण लाइन निर्माणको लगानीस्वरुपलाई टुङ्गो लगाएको थियो । करिब ६ अर्ब लागत अनुमान गरिएको आयोजनामा संयुक्त कम्पनीले २० प्रतिशत स्वपुँजीका रूपमा लगानी गर्ने र बाँकी रकम ऋण लिने सहमति छ ।

विद्युत् व्यापारका विषयमा भारतीय अधिकारीसँग छलफल

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ नेतृत्वको टोलीले नेपालमा खपत गरेर जगेडामा रहेको विद्युत् बिक्रीका सम्भावनाकाबारे भारतीय अधिकारीसँग छलफल गरेको छ । कूल ४५६ मेगावाटको माथिल्लो तामाकोशी र अन्य निजी क्षेत्रले निर्माण गरेका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बर्खाको समयमा मुलुकभित्र खपत गर्न नसकी खेर जाने अवस्था आएपछि घिसिङ नेतृत्वको टोली व्यापारको व्यवस्था गर्न भारततर्फ गएको थियो ।

टोलीले भारतको विद्युत् मन्त्रालय, केन्द्रीय विद्युत् प्राधिकरण, विहार स्टेट पावर होल्डिङ कम्पनी लिमिटेड र नेपालसँग विद्युत् व्यापार गरिरहेका भारतीय कम्पनीसँग छलफल गरेको थियो । नेपालमा जगेडा भएको विद्युत् भारतमा र बङ्गलादेशमा बिक्रीका लागि भारतीय अधिकारीसँगको छलफल सकारात्मक रहेको घिसिङले जानकारी दिए ।-रासस

प्रतिकृया दिनुहोस्

Flash News

डेंगु बिरामीको संख्या साढे २५ हजार नाघ्यो, हालसम्म ३२ जनाको मृत्यु निर्वाचन आचारसंहिता बुधबारदेखि लागू हुने सिलौटाले छातीमा प्रहार गरी श्रीमतीको हत्या वैकल्पिक राजनीतिक बारेको बहस ! आबेको अन्त्येष्टिअघि हजारौँ प्रदर्शनकारी विरोधमा उत्रिए अमेरिकी सहायकमन्त्री एलिजाबेथ भोलि नेपाल आउँदै लुम्बिनी प्रदेशमा पर्यटन प्रर्वद्धनका आधारहरु तीन घण्टादेखि बालुवाटारमा गठबन्धनको बैठक, सिट बाँडफाँट टुंग्याउने प्रयास दक्षिण कोरियाको असैनिकृत क्षेत्रको भ्रमण गर्दै ह्यारिस आश्रममै दशैँ राष्ट्रसंघमा परराष्ट्र सचिवले राखे युक्रेन, अफगानिस्तान, म्यानमार, लिबिया, सिरिया, प्यालेस्टाइन र यमनका विषयमा नेपालको स्पष्ट धारणा हरिकृष्ण कार्की बने कामु प्रधानन्यायाधीश ट्रयाक्टरबाट खसेर एकको मृत्यु मनास्लु हिमपहिराेः एक जनाको मृत्यु, १० को सकुशल उद्धार बेलहिया नाकामा ५ पर्यटकको भब्य स्वागत सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट रवीन्द्र मिश्र भोलि राप्रपा प्रवेश गर्ने, वरिष्ठ उपाध्यक्ष पद पाउने लुम्बिनी शिक्षा निकेतनको अध्यक्षमा पुनः गोविन्द ज्ञवाली बंगलादेशमा डुंगा दुर्घटनाः मृत्यु हुने ५१ पुगे ‘माटोका सामग्रीलाई प्लाष्टिकले विस्थापित गरिदियो’