२० आश्विन २०७९, बिहीबार

Oct 6, 2022

राजविराज । मिथिलाञ्चलमा आज आस्था तथा निष्ठापूर्वक चौरचन पर्व मनाइँदै छ । सप्तरीसहित धनुषा, महोत्तरी, सिरहा, सर्लाहीलगायतका जिल्ला तथा सीमावर्ती क्षेत्र भारत विहारको केही क्षेत्रमा चौरचन पर्व मनाइने गरिन्छ । प्रत्येक वर्ष भाद्र शुक्लपक्षको चतुर्थी तिथिमा मनाइने चौरचन पर्वमा चन्द्रमालाई पूजा गरिन्छ । चन्द्रमालाई पूजा गरिने विधि नै चौठचन्द्र अथवा चौरचन हो । शुक्रबार राति व्रत बसेकी व्रतालु महिलाहरु आ–आफ्नो घरको आँगनमा पूजा सामग्री चढाएर उदाउँदै गरेको चन्द्रमालाई अघ्र्य दिएर यो पर्व मनाउँछन् ।

Advertisement

यस पर्वका लागि व्रत बस्ने व्रतालु महिला दिनभर निराहार बस्छन् । साँझपख चन्द्रमा उदय हुनुअगाडि दिनमा पवित्रताका साथ बनाइएका पूजा र अन्य सामग्री माटोको भाँडामा सजाएर राखिन्छ । चन्द्रमाको उदय भएपछि सर्वप्रथम व्रतालु महिलाले हातमा कुनै फल लिएर चन्द्रमाको दर्शन गर्छिन् र आफ्नो मनमा रहेका सङ्कल्प र आराधनाको मनमनै स्मरण गर्छिन् । त्यसपछि घरका अन्य सदस्यहरू त्यसैगरी फलसहित दर्शन गर्छन् ।

तीज पर्व सम्पन्न भएसँगै सुरु हुने यस पर्वलाई मिथिलामा निकै आस्थाका रुपमा लिइन्छ । कृष्ण जन्माष्टमीको १२ दिनपछि यो पर्व मनाइन्छ । छठपछिको दोस्रो ठूलो पर्वका रूपमा मनाउने यो पर्व हर्सोल्लास र भक्तिका साथ मनाइन्छ । यो पर्वलाई चौरचन, चौथीचान, चौरचण्ठ र चौथीचन्द्र भन्ने गरिएको छ । यस पर्वको माध्यमबाट मैथिल कला संस्कृतिको समेत उजागर हुन्छ । खासगरी आँगनमा पूजा हुने भएकाले चामलको पीठोको कलात्मक अरिपन बनाई त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ ।

सो क्रममा नयाँ माटोको भाँडोमा एक दिनअगाडि जमाइएको दही, केरा, मिठाई, फलफूलका साथै विभिन्न प्रकारका पकवान राखेर विभिन्न देवीदेवतालाई चढाइने गरिन्छ । आफ्नो सन्तान र पतिको दीर्घायुको कामना गर्दै पूजामा विशेष परिकारसहित पूजापाठ गर्ने चलन रहेको सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–२ सकरदहीका कलमवतीदेवी बडियैत यादवले बताईन् । यो पर्वमा साँझपख आँगनमा गाईको गोबरबाट लिपपोत गरी चौका लागाएर पूजापाठ गर्ने गरिन्छ । उनले भनीन्, “चौठचन्द्र पर्वमा प्रसादका रूपमा पिरकिया, खजुरी, खाजा, पुरी र खीर घरघरमा बनाउने चलन छ । फलफूलका अतिरिक्त दहीले पनि गणेश र चन्द्रमाको पूजा गरिन्छ ।”

चौथीको दिन चन्द्रदेवलाई खाली हात दर्शन गर्न नहुने मान्यताअनुसार चौठचन्द्र पर्व मान्ने परिवारजनले हातमा केरा, स्याउ, अम्बा, अनार, काँक्रा, घरमा तयार पारेको पकवान, मिठाई, गाजरजस्ता सामग्री लिएर दर्शन गर्ने परम्परा रहेको बताइएको छ । दिनमा प्रसाद बनाउने र बेलुका पूजा गर्ने भएकाले अहिले घरघरमा महिला प्रसाद तयार गर्नमा व्यस्त छन् । मिथिलाञ्चलमा यो पर्व हेमाङ्ग ठाकुरले प्रचलनमा ल्याएको बताइन्छ । ठाकुर आफैँ ज्योतिष थिए । उनलाई यो तिथिमा शुभफल प्राप्त भएकाले यस पर्वको सुरुआत गरेका हुन् । मिथिलाको लोकपर्व चौठचन्द्रको बेला गणेश र चन्द्रमाको कथा सुन्नेसमेत परम्परा रहिआएको छ ।

अरिपन चामलको पीठोले रेखाङ्कित गरिन्छ । भदौ शुक्लपक्षको चौथी तिथिको चन्द्र दर्शन शास्त्रीय मान्यताले दोषपूर्ण मानिएकाले व्रत बसेर मिष्टान्न परिकार र फलपूmल देखाएर दोष मेटाउने प्रचलन चलेको मैथिली संस्कृतिका जानकार बताउँछन् । पर्वको तयारीमा अहिले मिथिलाका हिन्दू महिलाहरु आफ्नो सामग्री जुटाउने तयारीमा छन् । पर्वमा घरमूली महिला दिनभरि निराहार व्रत बसेर साँझ चन्द्र दर्शन गरेर यो पर्व समापन गर्छन् । गौरीपुत्र भगवान् गणेशको श्रापबाट मुक्त हुन चन्द्रमाको पूजा गर्न थालिएको धार्मिक जनविश्वास छ । हिजो बिहीबार उपवास बसेर सप्तरीसहित जिल्लाको विभिन्न भेगका महिलाले तीज पर्वसमेत मनाएका छन् । -रासस

प्रतिकृया दिनुहोस्

Flash News

आज पनि टीका लगाइँदै आजको मौसम: सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा धेरै वर्षा हुने सन्दीप लामिछाने आज बिहान १० बजे काठमाडौँ आइपुग्ने रुपन्देहीकी युवा नेतृ २१ वर्षीया झरना चौधरीको दुर्घटनामा मृत्यु गुल्मीको मुसीकोटस्थित दरबार कोटको मेला (तस्वीरमा ) राम बन्न डराएका थिए प्रभास दशैं मनाउन मामाघर हिँडेका अर्घाखाँचीका १० वर्षीय समिरलाई खोलाले बगायो इन्टरनेट जडान गर्ने क्रममा २४ वर्षीय निलमको मृत्यु जीपको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती घाइते नेपाल थाइल्यान्डसंग पराजित तीन वर्षपछि टीका लगाउन पाउँदा कैदीबन्दी खुसी राष्ट्रपतिले लगाइदिइन् सर्वसाधारणलाई टीका आधुनिक घट्टले खुड्खुडीमा फेरियाे दैनिकी मिसाइल प्रक्षेपण असफल भएकोमा दक्षिण कोरियाले माग्यो माफी हिमपहिरोमा परी चार जनाको मृत्यु जसपाका केन्द्रदेखि नगरसम्मका नेताले गरे सामुहिक राजीनामा मांसाहारीबाट शाकाहारी बनेका यी हुन् बलिउड अभिनेता-अभिनेत्री नातिनीको स्याहार पाउने १०१ वर्षीय भाग्यमानी बाजे ! मधेशमा महिला हिंसा : घटनाकाे ग्राफ बढे पनि उजुरी बढेन भगवती मन्दिरमा चढाइयो ६ सय ६९ राँगाको बलि