११ आश्विन २०७८, सोमबार

Sep 27, 2021

“ए फुलमाया एता आइजा एउटा कुरा सुन त,
यति राम्रो जोवन लान को आउने हो कुन त ?”

Advertisement

प्रकाश सपुतले बजारमा ल्याएको यो तीज गीतले समसामयिक विषयलाई जोड्दै अहिलेको युवापुस्ताको मन छुन सफल छ । केही समय पहिलेसम्म यो गीत युट्युबको एक नम्बर पर्नुले त्यो देखाएको छ । गीतको शब्दसँगै देखिने श्रव्यदृश्यमा दुई चेली ओझिलो संवादसहितको अभिनय देखिन्छ । पँधेरोबाट फर्किँदै गर्दा सङ्गिनी आइपुग्छिन् र संवाद सुरु हुन्छ ।

‘डाक्टर, पाइलट, इञ्जीनियर, सुब्बा नायक आए,
जुन पेशाको भए पनि हुनुपरो लायक ।’

अझै पनि छोरीको विवाह राम्रो व्यक्तिभन्दा पनि राम्रो पेशाका व्यक्तिसँग होस् भन्ने चाहना परिवारको छ । त्यसलाई चिर्दै गीतले पेशाभन्दा जीवनको लायक श्रीमान् प्राप्त गर्ने चाहनालाई चरितार्थ पार्न खोजेको छ । नायिका आँचल शर्मा र स्वस्तिमा खड्कालाई पात्र बनाई सपुतले समाजमा फरक खालको सन्देश दिन खोजेको छ । गीत छोटो समयमा नै एक करोड दर्शकले हेरेका थिए । पहिले सामान्यतया तीजको गीतमा महिलाका पीडा, श्रीमान् र सासुको हेपाइका विषय हुने गरेकामा यो गीतले त्यसमा परिवर्तन गरेको छ । महिलामाथि हुने हिंसाविरुद्ध र सशक्तीकरणको विषय उठान गरेको यो गीतले सबै उमेर र वर्गले उत्तिकै रुचाएको पाइन्छ ।

लोक सङ्गीतमा नयाँनयाँ प्रयोग गर्न रुचाउने गायक हुन् सपुत । उनका ‘गलबन्दी, दोहोरी ब्याटल, फुटेका चुरा, मेरो पनि होइन र यो देश’ ले यस्तो गीत चल्छ भन्ने धारणा नै बदलेको थियो । तीज गीतमा पनि महिलाका कथाव्यथा र आँसुका कुरा मात्रै बिक्छन् भन्ने मान्यतालाई यो वर्ष निस्केको ‘कुरा बुझ्नु पर्च’ ले बदलेको छ ।
अहिलेका युवापुस्ताको आत्मविश्वास, सुन्दरता, भविष्य र अपेक्षालाई आफूले गीतमा समेटेको गायक सपुतले बताए । आफ्नी हुर्कँदै गरेकी पाँच वर्षीया छोरी हेरेर उनी कस्तो भइदिएहुन्थ्यो भन्ने सोच आएकाले त्यही कुरा गीतमा समेटेको उनले बताए ।

लोकगीतलाई गाउँबाट आएको गीत र यसले हाम्रो संस्कृति झल्काउनुपर्छ भन्ने गरिएको छ । अहिले गीत बनाउँदा रुवाबासी र डाँडापारिको माइती जान नपाएको मात्रै कथामा सीमित हुनुहुँदैन भन्ने सोचले नै उनले गीत तयार गरे । उनले भने, “अहिलेका चेलीको पीडा श्रीमानले कुटेको, घर बाहिर नै निस्कन नपाएको भन्दा पनि अरु रहेका छन् हामी पनि त्यतै जानुपर्छ ।”

विगतमा खरको छानामुनि बसेर रोधी बस्नु, ढिकी कुट्नु, बिहान ४ बजे उठेर जाँतो पिध्नुलाई संस्कृति मानिन्थ्यो । त्यतिबेला जन्ती जान नपाएर घरमा रत्यौली गाउनुलाई संस्कृति मानिन्थ्यो । जीवनशैली परिवर्तन हुँदासँगै संस्कृति पनि परिवर्तन भइरहेको सपुतले बताए । मौलिक भाका, पहिचान संरक्षण गरेर संसारलाई देखाउनुपर्ने तर संस्कृति भनेर समयसँगै हुने परिवर्तन रोक्न नसकिने उनको भनाइ थियो । अहिले नै १० वर्षपछि हुने कुरा देखाउन खोज्दा विकृति भनिने र २०–२५ वर्ष पहिलेको रहनसहनलाई संस्कृति मान्ने गरिएको सपुतले बताए ।

मिडियामा कम मात्रै देखिने गायिका विष्णु माझीको स्वरमा रहेको ‘चरी जेलैमा’ पनि यो वर्ष चर्चित बन्यो । विवाहिता महिलाको पीडा र तीजमा माइती जान नपाउँदाको दुःखेसो गीतको विषयका रूपमा रहेको थियो । लामो समयसम्म युट्युबको ट्रेन्डिङमा पहिलो नम्बरमा परेको यो गीतको भिडियोले पनि दर्शकको मन छोएको थियो ।

पहिले हिन्दू महिलाको पर्वका रूपमा रहेको तीज पर्व सबै जाति, धर्म र लिङ्गले मनाउने चाड हुँदैछ । त्योसँगै तीजमा गाइने भाका र गीतमा समेटिने विषयवस्तु पनि फेरिँदै गएको छ । विस्तारै चेलीले पराई घरमा खेप्नुपरेको पीडाभन्दा पनि टिकटक, कर्ली कपाल र रानीहारका चर्चा गीतका विषय बनिरहेका छन् । कतिपय कलाकार गीतमा बदलिँदै गएको विषयवस्तुलाई समयको मागका रूपमा लिएका छन् भने पुराना कतिपय कलाकारले यसलाई विकृतिका रूपमा हेरेका छन् ।

लोक तथा दोहोरी गायक बद्री पङ्गेनी तीज गीतमा शब्द चयन र सङ्गीत दुवैमा मौलिकता हराउँदै गएको बताए । अहिलेको गीतमा टिकटक, फेसबुक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालको कुरा समेटिएको पाइन्छ । उनका अनुसार अहिले गाउँ परिवेश, उकाली–ओरालीका कथा विस्तारै कम भइरहेका छन् । समग्रमा नै लोकगीतको शैली बदलिएको छ । गीतमा पहिले सुखदुःखका कुरा हुन्थे अहिले मनोरञ्जनका कुरा बढी पाइने उनले बताए। उनले भने, “लोकबाजाको साटो अहिले आएर आधुनिक बाजाको प्रयोग बढी भएको पाइन्छ ।”

समयअनुसार केही परिवर्तन ठीकै होला तर कतिपय कुरामा अस्वभाविक परिवर्तन भएको पाइएको गायक पङ्गेनीले बताए । लोकगीतले संस्कृतिको संरक्षण गर्नुपर्ने भए पनि त्यो हुन नसकेको र गीत–सङ्गीत समाजभन्दा अघि बढेको उनको अनुभव छ । दर्शक र स्रोता सबै किसिमको पाइएको उनले बताए । कतिपयले नयाँ स्वाद चाहने पनि छन् र मौलिकता मन पराउने पनि उत्तिकै छन् । उनले भने, “कलाकारले बजारले के खोज्यो भन्दा पनि मौलिकता संरक्षण गर्नमा ध्यान दिनुपर्छ ।”

तीजलाई लक्षित गरेर केही वर्ष पहिलेदेखि व्यावसायिक गीत आइरहेकामा त्यसले यस वर्ष पनि निरन्तरता पाएको छ । कोरानाको प्रभाव भए पनि कलाकारले गीत निकाल्न कम भएन । यो वर्ष झण्डै २०० गीत निस्केकमा झण्डै दुई–चारवटा मात्रै सफल भएको उनले बताए ।

पहिले–पहिले तीजलाई महिलाको मात्रै पर्व मानिन्थ्यो र महिलाको मात्रै स्वरमा गीत बजारमा आउने गरेको थियो । पुरुषको सहभागिता बाजा बजाउनेमा वा अप्रत्यक्षरूपमा हुने गरेको थियो । पछिल्लो एक दशकमा हेर्ने हो भने महिला र पुरुषको दाहोरीका रूपमा गीत बजारमा आइरहेको पाइन्छ । गायक पङ्गेनीले भने, “दिदीबहिनीले गाउँ भनेपछि नाइँ भन्न नसकेर तीज गीत गाइरहेको छु ।”

झण्डै दुई दशकदेखि सङ्गीत क्षेत्रमा स्थापित नाम हो बिमाकुमारी दुरा । बाल्यकालदेखि नै गीत गाउँदै आए पनि उनले तीज गीतको एल्बम बजारमा ल्याएको झण्डै २० वर्ष भयो । यो अवधिमा बजारमा आउने तीज गीतमा भने आकाश पातालको भिन्नता भएको उनको अनुभव छ । पहिले रीतिरिवाज, संस्कार र संस्कृतिका रूपमा तीज मनाइने र तीजका गीत कलाकारले निकाल्ने गरेकामा अहिले त्यो नपाइएको उनको अनुभव छ । उनले भने, “अहिलेका तीज गीतमा परम्परा र संस्कृतिको कुरा पाइँदैन ।”

तीज गीतमा गाउँले परिवेशका कुरा र मौलिक भाका विस्तारै हराउँदै गइरहेको दुराले बताइन्। लोकगीत भए पनि कतिपय तीज गीत जहान परिवारसँग बसेर हेर्न मिल्ने खालको छैन । कलाकारले बजारले खाजेको भन्दै जथाभावी शब्द र सङ्गीत दिन नहुने उनको भनाइ छ । उनेले भनिन्, “गीत–सङ्गीत स्रोताले मागेर दिने होइन, कलाकारले जस्तो दियो स्रोता, दर्शकले सुन्ने र हेर्ने हो ।”

तीज गीत मात्रै होइन, तीज मनाउने तरिका पनि बदलिएको छ । गाउँघरमा अहिले पनि तीजलाई तीज जसरी मौलिक रूपमा नै मनाइने गरिएकामा सहरको तीज आफूले नबुझेको उनले बताए । सहरमा आए पनि गाउँबाटै आएकाले पनि तीजको मौलिकता बिर्सिदै छन् । उनले भनिन्, “गाउँमा कहिल्यै बदलिँदैन हाम्रो परम्परा र म गाउँबाट आएर होला त्यही मनपर्छ ।”

लोक तथा दोहोरी गायक बुद्धिसागर बस्यालले तीजको गीतले मौलिकता नै झल्काउनुपर्ने बताए । तीज गीतमा पुरुषको स्वरभन्दा महिलाको स्वरमा नै हुँदा उनलाई राम्रो लाग्छ । अहिले गीत–सङ्गीत सुन्नका लागि भन्दा हेर्नका लागि बनाइएको छ । उनले भनिन्, “राम्रो, नराम्रोजस्तो भए पनि बजारमा बिके पुग्छ भन्ने सोचले तीज गीतमा विकृति भित्रिएको छ ।”

तीज गीत धेरै गाउने गायिकामा पर्नुहुन्छ गायिका सुनिता दुलाल । विसं २०६० देखि तीजका गीत गाउँदै आएकी उनको स्वरमा यो वर्ष पनि दुई गीत बजारमा आए । गीतमा समयानुसार परिवर्तन हुनु स्वभाविक भएको उनको भनाइ छ । पहिले पहिले बुहारीले श्रीमानको घरमा विभिन्न किसिमको हिंसा सहनुपर्ने भए पनि अहिले त्यो कम भइरहेको छ । गाउँघरमा पनि महिला शिक्षा बढिरहेकाले हिंसाको घटनामा कमी आउन थालेको उनले बताए । उनले भनिन्, “समाजसँगै गीत पनि बदलिनु स्वभाविक नै हो ।”

तीज पहिलेभन्दा अहिले व्यापक बन्दै गएको दुलालको अनुभव छ । पहिले पहिले एउटै गाउँमा सीमित भाका अहिले भने राष्ट्रियदेखि अन्तर्राष्ट्रिय बजारसम्म नै पुगिरहेको छ । देशभित्रभन्दा देश बाहिर यो पर्व अझै भव्यरूपमा मनाउने गरिएको छ । कोभिड संक्रमणको जोखिम भए पनि स्टुडियो ब्यस्त भएकाले समय पाउन गाह्रो भएको उनले बताइन् । गत वर्ष र यस वर्षलाई हेर्दा महामारीले पनि बजारमा नयाँ गीत आउन रोकिएको छैन ।

कोरोनाका कारण स्टेज कार्यक्रम हुनसकेको छैन । तीन वर्ष पहिलेसम्म दुलाल असारको अन्तिमदेखि भदौसम्म गरी दुई महिनाभन्दा बढी स्टेज कार्यक्रममा नै व्यस्त हुन्थिन् । गत वर्ष एउटै कार्यक्रम हुन सकेन भने अहिले पनि अवस्था झण्डै उस्तै छ । उनले भनिन्, “यो वर्ष अनलाइनबाट थोरै कार्यक्रम भइरहेको छ ।” -रासस

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

५० लाख धरौटीमा छुटे शर्मा नेप्सेमा उच्च अङ्कको गिरावट, कारोबार रकम समेत घट्यो पर्यटकको आगमनले उत्साहित हुँदै व्यवसायी नेपालमा थपिए १ हजार २८२ कोरोना संक्रमित, ७ जनाको मृत्यु बुटवलमा दशैं सस्तो बजार मध्य भोटेकोशीको आइपीओ बाँडफाँट दक्षिण कोरियामा कोरोना भाइरसले पुनः महामारीको रुप लियो सुरु भएन विद्युतीकरण सुस्ताएको पर्यटन व्यवसाय जुरमुराउँदै टिपरको ठक्करबाट बोलेरो चालकको मृत्यु लुम्बिनीको नेपालगन्ज उपमहानगर बैठकमा लफडा, एक घाइते फार्मेसी संघ, लुम्बिनी प्रदेशद्वारा शुभकामना तथा अन्तरक्रिया कार्यक्रम फार्क विद्रोहीको आक्रमणमा पाँच जनाको मृत्यु भारतमा थप २६ हजार नयाँ सङ्क्रमित मल अनुदानमा वृद्धि बेँसी झर्न थाले भेडी गोठ सरकारको लक्ष्यानुसार नै कोरोनाको खोप पुग्दै, नेपाल सार्कमा चौथो इपिएल : काठमाडौँ र विराटनगरको खेल स्थगित चितुवाले खोरभित्र बाँधिएका २३ बाख्रा मार्यो प्रतियोगिता नहुँदा खेलमैदान सुनसान