ताजा अपडेट »

प्रतिघण्टा १३ हजार तिरेर सडक मर्मत

विहीबार, २४ भदौ २०७८, १५ : ०१
4 Shares

सिमकोट । सिमकोट गाउँपालिकाले अविरल वर्षाले अवरुद्ध सडक खुलाउन प्रयास जारी राखेको छ । यसका लागि गाउँपालिकाले निजी एक्साभेटरलाई  प्रतिघण्टा रु १३ हजार खर्च गरिरहेको छ ।

गाउँपालिकाका वडा नं १ दोजाम, २ ठेहे र ३ बरगाउँको बाटो भत्केको आठ महिना बितिसकेको छ । समयमा मरमत नगरिँदा सडक अवरुद्ध बनेको हो । अहिले स्थानीयवासीलगायत आवतजावतमा निकै समस्या भएको छ ।

भत्किएको सडक गाउँपालिका आफैँले मर्मत गरिरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले जानकारी दिए । यतिखेर सिमकोट वडा ४ बुराउँसेबाट वडा नं ३ लाङदु बरगाउँ हुँदै वडा नं २ ठेहेसम्मको सडक मर्मत गाउँपालिकाले गरिरहेको वडा नं ३ का वडाध्यक्ष ताक्ला जिक्मेत लामाले बताए । आन्तरिक  पर्यटकका लागि रलिङ गुम्बा अति उत्तम स्थान मानिन्छ ।  

सो स्थानमा जाने मुख्य बाटो भत्कँदा पर्यटकलाई आवतजावतमा निकै सास्ती भएको छ । सिमकोट-१ दोजामसम्म सडक निर्माण गरिसकेपछि मात्र एक्साभेटर फिर्ता भएर पर्यटकीय मार्ग रलिङ गुम्बा जाने सडक निमार्ण गरिने जनाइएको छ । 

सिमकोट–खार्पु सडकखण्ड अवरुद्ध

कर्णाली करिडोरको सिमकोट–खार्पु सडकखण्ड अवरुद्ध भएको छ । चार दिनदेखिको लगातार वर्षा भइरहँदा एक हप्तादेखि उक्त सडकखण्ड अवरुद्ध हुँदै आएको छ । वर्षा बढेसँगै स्याम्ने खोलाको पानी सिधै कच्ची सडकमा पस्नुका साथै खोलामा रहेको सडक बाढीले अवरुद्ध बनाएको स्याम्नेगाउँका दख्खल महतले बताए।

खोला सडक भएर बगेको छ । सडकका धेरै ठाउँमा चिरा परेको छ । खोलाको पानीले करिब ३०० मिटर सडक बगाएको उनले जानकारी दिनुभयो । बाढीले सडक अवरुद्ध बनाउँदा यस क्षेत्रमा आवतजावत गर्ने नागरिकलाई थप समस्या बनाएको छ । चिरा परेका सडकमा यातायात सञ्चालन गर्न सम्भव नभएको स्थानीयवासी चीन रावतले जानकारी दिए ।

सडक क्षतिग्रस्त हुँदा पनि मर्मत गर्न सरोकारवाला निकाय मौन रहेको उनले बताए । क्षतिग्रस्त सडक सिमकोट गाउँपालिका, पूर्वाधार विकास कार्यालय र हिल्सा सिमकोट सडक आयोजनामध्ये कसले मर्मत गर्ने भन्ने अन्योल रहेको स्थानीयवासीले बताउने गरेका छन् । सडक अवरुद्ध भएपछि सर्वसाधारण पैदल हिँड्न बाध्य हुँदै आएका छन् ।  रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।