ताजा अपडेट »

तीजमा व्रत बसेकी श्रीमतीलाई श्रीमानको पत्र !

विहीबार, २४ भदौ २०७८, १४ : ०५
102 Shares

जीवन-संगिनीलाई 'बेटर हाफ' भनिन्छ। तीजमा व्रत बसेर मेरो आयु अनि हाम्रो परिवारको स्वास्थको कामना गर्ने प्रीय श्रीमती बिमला (बिमु) तिमी साँच्चै ‘बेटर’ छौँ। सबै श्रीमती ‘बेटर’ हुन्छन् कि नाइँ मलाई थाहा छैन। तिमी म भन्दा धेरै ‘बेटर’ छौ। मलाई सधैँ अचम्म लाग्छ। संसारमा प्रेम बारे लाखौँ लाख लेख, कविता, सायरी, गजल लेखिएका छन्। ती लेख प्रायस् प्रेमी अनि प्रेमिकाको प्रेम अनि बिछोडमा आधारित हुन्छन् तर, श्रीमान्-श्रीमती बारे निकै कम लेखिएका छन् । किन हो थाहा छैन। किन एउटा श्रीमतीको श्रीमान प्रतिको प्रेम कवितामा व्यक्त हुँदैन। किन श्रीमानले श्रीमतीको लागि आजकल प्रेमपत्र लेख्दैनन्। किन गीतहरू बन्दैनन्। थाहा छैन ? विज्ञजनहरूले यस विषयमा थप कमेन्टमा प्रस्ट पार्नुहोला ।

मलाइ यति थाहा छ, शिवशक्तिको स्वरूपमा महिला बायाँ हुन्छ। हाम्रो हृदय पनि बायाँ हुन्छ। त्यही कारण होला तिमी मनबाट सोच्छौं । म हरेक कुरामा तर्क खोज्छु। तिमी प्रत्येक पटक हाँसेर बोल्दा के भन्न खोजेको भनेर अर्थ खोज्छु । तिमी विना अर्थ माया गर्छौ। प्रत्येक पटक तिम्रो फोन आउँदा, केही भयो कि भनेर आत्तिन्छु। केही ल्याऊ भन्न होला भनेर तर्क खोज्छु। तर, मेरो तर्क, तिम्रो ‘इमोसन’को अगाडि सधैँ असफल भएको छ। मेरो ‘इगो’ तिम्रो ‘केयर’ को अगाडि हारेको छ। सबैका केही राम्रा अनि केही खराब पक्ष हुन्छ। यही बुझ्न सके सम्बन्धहरू टिक्न सक्दा रहेछन्। यसरी नै हाम्रो प्रेम टिकेको छ, है ?

यस पालिको तिजमा तिमिले मुलुकले झेल्दै गरेको दुर्दशापूर्ण अवस्था, गलत राजनीति, बेरोजगारी, भ्रष्टाचार, ग्रामीण जीवनको विकटता आदि एकसाथ उजागर हुने गीत गाएर समाजमा चेतना वढाउने छौं भन्ने आशा लिएको छु ।

नारी सशक्तीकरणको सिद्धान्त नेतृत्व, समानता, सुरक्षा, सिकाइ, पारदर्शिता, समुदाय र व्यवस्थापनरसहकार्य यी सातै क्षेत्रमा नारीहरूको भेदभावरहित समान उपस्थिति, समावेशीकरण, आत्मसम्मान र पहिचानका लागि तिम्रो आवाज बुलन्द र कर्तव्य दरिलो बनोस् हृदयबाट नै शुभकामना दिन चहान्छु ।

यसका लागि श्रीमान् श्रीमती साथी बन्न जरुरी रहेछ। श्रीमान्-श्रीमतीको सम्बन्ध, दुईवटा खुट्टाजस्तो हुँदो रहेछ। एउटा खुट्टा अघि बढ्दा, अर्को पछाडि नै रहँदा पनि खुसी रहने अनि अगाडिको खुट्टा रोकिँदा पछाडिको खुट्टा अगाडि बढ्ने। जीवन यही यात्रा रहेछ। तिमी अनि म यात्री। सहयात्री। यात्रामा तिम्रो साथ छ र त मलाई म यो दुनियाँ नै जित्न सक्छु जस्तो लाग्छ। राम्रो श्रीमान् बन्ने कोसिसमा सधैँ रहनेछु। धेरै धेरै माया। अ साच्चै तीजमा व्रत बस्दा पानी, सर्वत, फलफूल खान नविर्सनु ल !!

अन्त्यमा : सबै आमा-हजुरआमा, दिदी, बहिनीहरुमा हरितालिका तीजको धेरैधेरै शुभकामना !

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।