ताजा अपडेट »

तीजको माहौलमा, जेलैमा हो जेलैमा…

विहीबार, २४ भदौ २०७८, १५ : १२
42 Shares

महिलाका भावनालाई शब्दमा ढालेर तीजका गीत बनाइन्छ । तीजमा नारी वेदनाका गीतहरु गाइने परम्परा छ। नारीका जीवन अनुभव, पीडा, वेदनाको समिश्रण हुन्छ तीजका गीतमा । महिलाकोवास्तविकजीवनभोगाइलाई चरितार्थ पार्ने गीतहरु तीजका अवसरमा गाइन्छ। तीजका अवसरमा महिलाहरु माइतीमा जम्मा हुन्छन्। सुख दुःखहरु गीतमार्फत साटा–साट गर्छन् । तीजमा गाउने पात्र स्वभाविक रुपमा नारी नै हुने भए । प्रायजसोे सासुले बुहारीलाई दिएको पीडाको पोको माइतीमा गएर गीतमार्फत फुकाउने परम्परा रहेको पाइन्छ। केही आधुनिकताको प्रभाव रहेपनि सामान्यतः गी तगाएर, दर खाएर, ब्रत बसेर तीज मनाउने परम्परा कायम छ। धर्म, संस्कृति, सांस्कृतिक पर्व, मेला आदिको संरक्षण र सम्मान भनेको मौलिकता ह्रास नहुने गरी परिस्कृत ढंगबाट ती संस्कृति मनाउनु हो । तीजको मौलिकता जोगाउनेतर्फ सबै सचेत हुनु जरुरी छ ।

तथापि आज–भोलि तीजको गीतमा वास्तविक स्वाद क्रमशः कम हुँदै गएको पाइन्छ । आधुनिकताका नाममा गीतका मौलिक पक्षहरु कुल्चने चलन बढ्दै गएको छ । नारी वेदनाहरुको साटो प्रायः प्रेम वेदना भएका गीतहरु बढी मन पराइन्छ । तीजका गीत र रोइलामा भिन्नता पाउन गार्हो भइसकेको छ । हुँदा-हुँदा यतिसम्म भएको छ कि केही गीतका शब्द, अश्लिल भिडियोको कारण सरकारले बन्देज लगाउनु परेको छ । अहिले गाउने व्यक्ति पनि महिला–पुरुष बराबरी जस्तो देखिन्छ । तीजका गीत गाउनेहरु पनि आधुनिक र सुन्नेहरु पनि उस्तै । दर्शक, स्रोतालाई माया प्रेमका गीत मन पर्ने भएका कारण पनि गीत गाउनेहरु बदलिँदो परिस्थिति अनुसारका गीत गाउन बाध्य छन् । लोकप्रियता भन्दापनि संस्कृति जगेर्ना गर्नतर्फ गीतहरु गाउनु पर्नेमा त्यसो हुन सकेको छैन। अतः तीज गीतको नाममा छाडातन्त्र जस्तो देखिने गरेका कारण मौलिकता लोप हुँदै जाने भय उत्तिकै छ ।

जेलैमा हो जेलैमा… भन्ने विष्णु माझीको गीतले अधिकतम नारीहरुको वास्तविक जीवन–भोगाई, कहानी चरितार्थ गरेको छ। नारी वेदनाको पोको यस गीतमा खोलिएको छ । यस गीतमा व्यक्त भएको जेल एउटा बिम्ब हो । जेल भनेको भौतिक मात्रै हुँदैन । मानसिक रुपमा घेराबन्दीमा पर्नु पनि जेलभित्र रहनु जस्तै हो । यस गीतमार्फत मूलतःनिम्नवर्गीय परिवारका महिलाले भोग्नु परेको भौतिक र मानसिक पीडा अभिव्यक्त गरिएको छ । कतिपय निम्नवर्गीय परिवारका महिलाहरु भौतिक रुपमा घरको चौघेराबाट बाहिर निस्कन सकेका हुँदैनन् ।

उनीहरु एउटा सिमा भित्र रहनु पर्ने बाध्ता हुन्छ । तीजको बेलामा समेत माइत जानु उनीहरुका लागि असम्भव हुन्छ । यस गीतमा माइत जान नपाएको पीडा प्रष्ट रुपमा देखाइएको छ । त्यसका अतिरिक्त आर्थिक रुपमा सम्पन्न महिलाहरुका मानसिक पीडा पनि केही न केही रुपमा उक्त गीतमा अभिव्यक्त गर्न खोजेको देखिन्छ । भौतिक रुपमा सम्पन्न परिवारका महिलाहरु तीज जस्ता चाडमा मात्रै हैन अरु बेलापनि चाड मनाउन, दर खान पार्टी प्यालेस जान, माइत जान कुनै रोकावट हुँदैन । तथापि उनीहरु परिवार भित्रका विभिन्न संस्कारका जंजिरमा बाँधिएर रहनु परेको हुन्छ । शारिरीक रुपमा देखिए जस्तो स्वतन्त्र हुँदैनन् । मानसिक रुपमा पीडामा हुन्छन् ।

यहाँ गायिकाले बताएको जेल कस्तो प्रकारको हो त भन्ने प्रश्न उठन सक्छ । जब महिलालाई आफ्नो व्यक्तित्व विकासमा परिवार र समाजबाट व्यक्त वा अव्यक्त रुपमा अवरोध हुन्छ । उचित, आवश्यक क्रियाकलाप गर्न अवरोध हुन्छ । जब सामाजिक क्रियाकलापमा सहभागि हुनबाट बञ्चित गरिन्छ । जब संस्कारका नाममा पुरातनशैली लादिन्छ । जब शारीरिक, मानसिक, संवेगात्मक पक्षलाई अहित हुने गरी व्यवहार गरिन्छ ।महिला भएकै कारण परिवार वा समाजले हेला गर्छ, अधिकारहरु कुण्ठित गर्दै केवल कर्तब्य मात्रै थोपर्दै गइन्छ,हिंसा सहनु पर्छ,अधिकार माथि कैंची चलाइन्छ । यथार्थमा त्यही नै हो महिलाको जेल । त्यसैगरी त्यो घरनै जेल हो जहाँ महिलाको मन सुनिदैँन।

जहाँ मातृत्वको अधिकार दिइँदैन । जहाँ मानवीय व्यावहार गरिदैँन । जहाँ आवश्यक सम्मान गरिदैँन । जहाँ कानून, संविधानप्रदत्त अधिकारहरुबाट बन्चीतगरिन्छ । जहाँ आर्थिक अधिकार दिइदैन । जहाँ पाच्य कुराहरु गर्न समेत छुट हुँदैन । जहाँ अधिकार माग्नु पर्ने हुन्छ ।जहाँ महिला र पुरुषका लागि छुट्टै व्यवहार गरिन्छ । जहाँ महिला पुरुषबीच समता छैन । त्यही नै महिलाको लागि जेल हो । बाहिरी रुपमा हेर्दा यस्तो जेल प्रायजसो अशिक्षित र निम्नवर्गीय परिवारमाहुने गर्छ । त्यस्तो परिवारमा ज्ञानको अभावले समेत महिलालाई उचितव्यावहार गरिदैन । तल्लो दर्जाको नागरिककै रुपमाव्यावहार गरिन्छ । जसले यहीगित समेत राम्ररी सुन्ने समय र मौका पाएका हुँदैनन् । थाहा पाएका हुँदैनन् ।

कतिपय चेली तीजमा समेत माइत जान पाएका हुँदैनन् । गीतको मध्येतिर नारीले तीजमा दर खान माइत जान समेत नपाएको कुरा उल्लेख छ । माइत जानुनै एक सपना बनेको छ । अलिक मिठो मसिनो खान समेत तिज नै कुर्नुपर्ने, माइतनै जानुपर्ने बाध्यता छ । त्यसैले मूलतःचाडवाडका दिन समेत सेखु भिरेर खेतमा जानुपर्ने वाध्यता भएका महिलाहरुका लागि बढी लक्षित छ यसको सन्देश । अतः सुख–सयल कुन चराको नाम हो भन्ने आभाष नभएकाहरुको प्रतिनिधिमूलक आवाजहो यो । तर, त्यो जेल भौतिक रुपमा मात्रै सिमित देखिँदैन ।

कतिपय पढे–लेखेका परिवारमा पनि महिलाहरु कैंयन पीडा भोग्न वाध्य छन् । भौतिक रुपमा सुख–सयल देखिन्छ । खान, लाउन, समाजमा रवाफ देखाउन कुनै कुराको खाँचो छैन । तीजमै पनिमहिनौं दर खान सम्भव छ । यस्तो अवस्थामा पनि कतिपय महिलाहरु मानसिक रुपमा विक्षिप्त बन्नु परेको हुन्छ । यस्ता परिवारमा संस्कारको जंजिर निम्नवर्गीय परिवारको भन्दा अझ बलियो हुन्छ ।त्यसलाई तोड्न महिलाको मात्र बलले भ्याउने देखिँदैन । पुरुषका आफ्नै दायित्व होलान् । कर्तब्य होला । संघर्षका कहानी होलान् । उनीहरुलाई होच्याउने नियत हैन । तथापि लैिङ्गक रुपमा तुलना गरी विचार राख्दा महिलाका दर्द, पीडा पुरुषका भन्दा अवश्य बढी छन् ।

प्रकृतिले नै विभिन्नवोझहरु नारीमाथि थोपरिदिएको छ । विवाहकै सन्दर्भमा विभेद छ । विहेपछि अर्काको घर जानुपर्ने सस्कार कायम छ । अर्काको घर धान्नुपर्ने भन्ने धारणा अझै परिवर्तन भएको छैन । बच्चा जन्माउने शारिरीक बोझ देखि रेखदेख सम्मको जिम्मेवारी महिलाको भागमा परेको छ । तथापिअझै मातृत्वको अधिकार महिलालाई दिन कन्जुस्याईँ गरिएको पाइन्छ । घर परिवार र समाजप्रति महिलाको कर्तब्यहरुको सूची लामो नै छ । घरायसी दैनिक क्रियाकलापमा पनि नारी बढीनै सक्रिय हुनुपर्ने परम्परा छ ।

अबका दिनमा यस्ता जेलहरु तोडिदै जानुपर्छ । कसैले कसैमाथि पनि भेदाभावपूर्ण सोँच राख्नुहुँदैन । समय सापेक्ष सबैले सबैको अस्थित्व स्वीकार गर्नु पर्छ । सबै एक भएर पुरातन मृत सस्कार तोड्नु पर्छ । उचित सस्कारको पालना गर्दै त्यसलाई समय सापेक्ष परिस्कृत गर्दै जानुपर्छ । तीज मनाउने क्रममा पनि तीजको मूल मर्म कुल्चन भएन ।

गीत, खानपान, पोषाक आदि कुराहरुले तीजको संस्कार धानेको अनुभूति सबैलाई गराउन प्रयत्न गर्नुपर्यो । तीजको नामाकरण पार्वतीको ब्रतसँगजोडिएको छ । विष्णुसँग विवाह गर्न नपरोस् भनी सँगिनीद्वारा हरेर जंगलमा पुर्याएकी पार्वतीले महादेव पति पाउनका निम्ति गरेको व्रत भएकोले यस चाडलाई हरितालिका नामाकरण गरिएको भन्ने आख्यानहरु पाइन्छ । एउटा महिला पुरुष पाउनकै लागि बसेको व्रतबाट तीजको प्रचलनशुरु भएबाट नै महिला पुरुषको साधन जस्तो जस्तो देखाउन खोजिएको छ । यस भ्रमलाई चिर्न पनि महिला स्वयम् सक्षम, सवाल बन्न सधैँ प्रयासरत हुनपर्यो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।