ताजा अपडेट »

पुरुषमात्रै भएको तालिबान सरकारको विरोधमा महिलाको प्रदर्शन

विहीबार, २४ भदौ २०७८, ११ : ५३
10 Shares

काठमाडौ । काबुल र उत्तर पूर्वी अफगान प्रान्त बदख्शांमा दर्जनौं महिलाले अफगानिस्तानमा पुरुष प्रधान अन्तरिम सरकारको गठनको विरोध गरेका छन् ।

यी प्रदर्शनकारीले महिलाको अनुपस्थितीको सरकार आफूहरुले स्वीकार नगर्ने बताएका छन् ।

विरोध प्रदर्शन तितरबितर हुनुअघि केही महिलामाथि हातपात गरिएको पनि बताइएको छ । स्थानीय समाचार एजेन्सी एतिलाट्रोजका अनुसार र्यालीबारे जानकारी संकलन गरिरहेका केही पत्रकारलाई हिरासतमा लिइएको र कुटपिट गरिएको छ ।

तालिबानले यी आरोपमाथि हालसम्म कुनै जवाफ दिएको छैन तर यस्तो प्रकारको प्रदर्शन अवैध भएको चेतावनी भने दिएको छ ।

यसैबीच मंगलबार पश्चिमी शहर हेरातमा एक प्रदर्शनको क्रममा तीनजनाको मृत्यु भयो ।

युरोपेली संघका अनुसार तालिबान सरकारलाई ‘समावेशी र प्रतिनिधि’ बनाउने बचनबाट विमुख भएको छ ।

अमेरिकाले पनि अंतरिम सरकारमा अमेरिकी बलमाथि हमलासँग जोडिएका मानिसहरुलाई समावेश गरिएको भन्दै चिन्ता जताएको छ ।

अमेरिकी विदेश मन्त्रालयले आफ्नो एक बयानमा भनेको छ, ‘हामीहरु केही व्यक्तिको ट्र्याक रेकर्ड’ सँग चिन्तित छौं ।’

तर चीनले अफगानिस्तानमा ‘तीन हप्ताको अराजकता’को समाप्तिको स्वागत गरेको छ र तत्काल ३१ मिलियन डलरको आर्थिक मद्दत गर्ने बचन दिएको छ ।

मुल्ला मोहम्मद हसन अखुन्द

अफगानिस्तानमा तालिबान विरोधी शक्तिले अन्तरराष्ट्रिय समुदायसँग तालिबानको नयाँ सरकारलाई मान्यता नदिन अनुरोध गरेका छन् ।

तालिबानको अन्तरिम मन्त्रीमण्डलमा कुनै महिला छैनन् र यसमा तालिबान र त्यससँग सम्बन्धित मानिसहरु मात्रै छन् । यसको अमेरिकाले पनि आलोचना गरेको छ । पञ्जशीरमा तालिबानसँग लडिरहेका लडाकूले सरकारलाई गैर कानूनी बताएको छ ।

अन्तरिम मन्त्रीमण्डल मुल्ला मोहम्मद हसन अखुन्दको नेतृत्वमा काम गर्नेछ जसलाई संयुक्त राष्ट्रले कालोसूचीाम राखेको छ । अन्तरिम मन्त्रीमण्डलमा सिराजुद्दीन हक्कानी अमेरिकी एफबीआईको वान्टेड लिस्टमा छन् ।

नेशनल रेजिस्टेन्स फोर्स (एनआपएफ) ले आफूहरुले तालिबानको अन्तरिम सरकारको मन्त्रीमण्डललाई ‘अफगान जनताविरुद्ध दुश्मनीको स्पष्ट संकेतको रुपमा हेरेको’ बताएको छ ।

तालिबानले नेशनल रेजिस्टेन्स फोर्सलाई हराएको बताएको छ तर एनआरएफका नेताले भने आफूहरु अहिले पनि संघर्षमा नै रहेको जानकारी दिएका छन् ।- एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।