ताजा अपडेट »

तीज गीत : मौलिकता हराउँदै, पहिचान मेटाउँदै

विहीबार, २४ भदौ २०७८, १० : ००
10 Shares

काठमाडौ। तीजमा गीत कहिलेदेखि गाउन थालियो इतिहास स्पष्ट छैन । धार्मिक महत्वका हिसाबले तीजमा महादेव, पार्वतीको भजन गाउने परम्परा छ । तर, तीजमा भजन भन्दा पनि महिलाका विरह र वेदनाका गीत नै धेरै गुञ्जने गरेको पाइन्छ । 

पहिले पहिले महिलाको बिहे गरेर गएको घर टाढा हुने अनि माइतमा सासू, नन्द, देवरानी जेठानीले मानसिक यातना दिने हुँदा तीजमा वर्षभरीका ती वेदना, यातना र पीडा माइती आएर गीतका माध्यमबाट व्यक्त गर्ने चलन थियो ।

वेदनाले भरिएका मौलिक गीत 

पहिले तीजमा वेदनाले भरिएका मौलिक गीत मात्र गुञ्जने गर्थे । तर, हिजोआज भने तीजका नाममा मौलिकता हराउँदै गएको गुनासो छ लोक गायिका बिमाकुमारी दुराको ।  ‘हाम्रो पालामा तीज गीत यस्ता हुँदैनथे’ उनी भन्छिन, ‘यो सबै आफूमा भर पर्ने कुरा हो । आफू कसरी हिंडने भनेर आफूले नै निक्र्योल गर्नुपर्छ ।’

अहिलेका गीतले तीजको मौलिकता, महिलाको वेदना तथा मर्मलाई बोक्न नसकेको दुराको अनुभव छ । हामी आफू पनि यही समाजमा बस्ने हुनाले समाजमा कसरी हिंड्ने भन्ने कुरा आफैंले विचार गर्नुपर्ने उनको तर्क छ । ‘कता कसरी जाने र समाजमा कसरी हिंड्ने त्यसका बारेमा आफैंले सोच्नुपर्छ,’ उनको सोच छ । तर, अहिले भने तीजमा मौलिक गीत बज्न छोडेर डिस्को जाने मार्काका गीत बज्न थालेकोमा उनको चिन्ता छ । ‘पहिले हामीले जान्दासम्म मामाघर जाँदा चेलीमात्र जाने अनि नाचगान गाउने चलन थियो । तर, अहिले त सबैले गीत गाउने नाच्ने चलन आएको छ । यसले तीजको मर्म हरायो,’ उनको असन्तुष्टि छ । 

नाच्ने र हेर्ने गीत  

अहिले गीत गाउने भन्दा पनि नाच्ने र हेर्ने उद्देश्यका साथ बनाउने गरिन्छ । यसो हुँदा यसले मौलिकता भन्दा धेरै विकृती निम्त्याएको अर्की गायिका शर्मिला गुरुङको चिन्ता छ । ‘पहिले हाम्रा आमा दिदीले गाउँदा अझै मौलिक भाका थियो । हामीले त्यसलाई सकेसम्म पच्छ्याउने कोशिश गर्यौं तर, अहिले भने त्यस्तो छैन,’ मौलिकताप्रति उनको चासो देखिन्छ । 

पहिले महिलाले तीज गीत मार्फत उत्पीडन, मनका गुम्फन बाहिर निकाल्थे । तर, अहिले भने सुन्ने भन्दा हेर्ने र नाच्ने गीत बन्ने गरेका कारण यसले आफ्नो स्वभाविकता गुमाएको गायिका गुरुङको ठहर छ । 

‘तीजको रहर आयो बरीलै’

तीजको गीतकाबारे कुरा गर्दा ‘तीजको रहर आयो बरीलै’ भन्ने तीज गीत सदाबहार गीतका रुपमा रहेको देखिन्छ । पूराना तथा नयाँ सबैले यो गीत रुचाएको देखिन्छ । अनि तीजका जतिसुकै आधुनिक गीत गाइए पनि यसबाट बीट मार्ने वा प्रारम्भ गर्ने गरेको प्रायः तीज समारोहमा देखिन्छ । 

चेतन कार्कीको शब्द रहेको यो गीत मौलिक तथा रिमेक गरी धेरै बज्ने गरेको पाइन्छ । चलचित्र कन्यादानको यो गीत युट्युबमा राखिएपछि एक करोड ७० लाख पटक हेरिएको छ । ‘तीजको गीत मौलिक नै हुनुपर्छ भनेर हामीले भन्दै आइरहेका छौं । र, मौलिक गीतलाई हामीले् फलो पनि गरिरहेका हुन्छौं,’ गुरुङ मौलिक गीत प्रतिको आफ्नो अडान दोहोर्याउनु हुन्छ । 

झ्याउरे र रत्यौली भाकाका गीत

‘तीज गीत भनेर अचेल झ्याउरे र रत्यौली भाकाका गीत आइरहेका छन । त्यस्ता गीतलाई त तीज गीत भन्न मिल्दैन,’ गुुरुङ प्रष्ट्याउनु हुन्छ, ‘अहिलेका तीज गीत त गाउँ घरका तिरका झ्याउरे र रत्यौली खेल्दा गाइने गीत जस्तो सुनिन्छ ।’

तीज गीतमा मौलिकता हराउँदै जानुको अर्को कारण भनेको गीतको अहिलेको बजार पनि हो । फैलँदो बजार र बढ्दो प्रतिस्पर्धा तथा हरेक भ्यूजपिच्छे सर्जकले देख्ने पैसाले सर्जकलाई मौलिकता भन्दा बढी व्यावसायिक बनाएको छ, बढ्दो व्यवसायिकरणमा उनको मत छ । ​व्यवसायिकरणसँगै तीज गीत पुरुषले पनि गाउने प्रचलन सुरु भयो । 

पुरुषले गीत गाउने प्रचलन

‘पहिले तीजमा पुरुषले गीत गाउने प्रचलन नै थिएन । यो पछि आएको प्रचलन हो,’ गायिका बिमाकुमारी दुरा सम्झिन्छिन, 'पहिले खासमा पुरुषले तीज गीत नै गाउँदैनथे । गाए पनि दाजुभाइ बनेर गाउँथे । अहिलेका गीत त के हो के हो !’  यस्तै गुनासो गायिका शर्मिला गुरुङको पनि छ, ‘पुरुषले तीज गीत गाउने हाम्रो परम्परा होइन । तर, पछिल्लो समय त पुरुषकै गीत बढी सुनिन्छ ।’

समय, परिस्थिति र परिवेश फेरिएका कारण पनि तीज गीतको स्वरुप फेरिएको हो । पहिले पहिले हुने महिलाका वेदना र व्यथाका स्वरुप फेरिएका छन त्यसले पनि स्वरुप फेरिएका हुन् । तर, वेदना र व्यथाको स्वरुप फेरिए पनि ती गीतमा नआएको गुनासो छ गायिका दुराको । 

‘मौलिक नै नभए पनि केही मात्रामा भए पनि महिला दिदीबहिनीका पीडा र व्यथा त आउनु पर्यो नि,’ उनको भनाइ छ । पुरुषले तीज गीत गाइनै सकेपछि त्यसलाई सकेसम्म मौलिक तथा महिलाका कथा व्यथा समेटिदिए हुन्थ्यो भन्ने आग्रह छ गुरुङको । 

‘पुरुषले गीत गाइसकेपछि ती गीतले पनि मौलिकता र महिलाको पीर वेदनालाई समेटिदिए अझ राम्रो हुन्थ्यो । तर, अहिलेका गीत त उच्छृङखल र व्यापार गर्ने मात्रै भए,’ गुरुङले गुनासो गरिन।  

गीतमा भित्रिएको विकृति 

पछिल्लो समय तीज गीतका भिडियोमा भड्किलो पहिरन, पश्चिमी शैलीको डान्स अनि चर्का वाद्ययन्त्रको प्रयोग बढ्दै गएको छ । अझ त्यसमा भिडियो हिट गराउने नाममा गीतका बीचमा हास्यरस, छाडा र दोहोरो अर्थ लाग्ने शब्दको प्रयोगले तीजको मौलिकपन हराउँदै गएको छ । 

यसको कारण पनि दर्शक नै रहेको गुरुङको भनाइ छ । मौलिक तथा शालिन किसिमका गीतहरु नचल्ने र कलाकारले जहिले पनि दुःख पाउने गरेका कारण पनि अहिले जसरी पनि कमाउने नाममा तीज गीतमा यस्तो विकृति भित्रिएको उनले बताईन। तर, पैसाका नाममा आफ्नो मौलिकता तथा पहिचान समाप्त गर्नु कत्तिको उचित हो त्यसको मूल्याँकन भने अरुले नभएर आफैंले गर्नुपर्ने हुन्छ । 

तीज मौलिक मात्र नभएर साँस्कृतिक पर्व पनि हो । यसको मौलिकता जोगाई राख्नु जरुरी छ । यसको मर्म र पहिचान जोगाई राख्न सके यसले नेपालीको मौलिक तथा साँस्कृतिक पहिचानलाई जोगाई राख्न अवश्य नै मद्दत गर्छ । उज्यालाे अनलाईनकाे सहयाेगमा

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।