ताजा अपडेट »

एमसीसीले गठबन्धन फुट्ला ?

विहीबार, २४ भदौ २०७८, ०७ : २४
2 Shares

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्मा प्रस्तुत गर्ने विषयले सत्ता गठबन्धनभित्रै शंका बढाएको छ ।एमसीसीका विषयमा सत्तारूढ गठबन्धनमा रहेका पाँच दलका फरकफरक मत हुँदा गठबन्धनभित्रै शंका बढेको हो । सरकारको नेतृत्व गर्ने मुख्य दल नेपाली कांग्रेसले एमसीसी सहमतिबाटै पास गर्ने नीति लिएको छ । तर, माओवादी केन्द्रले भने एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षड्यन्त्र भइरहेको भन्दै गठबन्धनमा नै आशंका व्यक्त गरेको हो ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षड्यन्त्र भइरहेको भन्दै गठबन्धनमा नै आशंका व्यक्त गरेका हुन् ।दाहालले आफू गठबन्धन जोगाउन र देशलाई क्षति नहुनेगरी एमसीसीको समाधान गर्न अघि बढिरहेको भन्दै देशभित्रबाट पनि र देशबाहिरबाट पनि गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको बताए ।

‘गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको छ, देशभित्र र बाहिरबाट एमसीसी प्रयोग गरेर गठबन्धन फुटाउन एकथरि लागिरहेका छन्,’ उनले भने । उनले मंगलबार वाईसीएलको भेलामा भने अमेरिकाले ११ बुँदे कूटनीतिक नोटको जवाफ नपठाए एमसीसी पास हुनै नसक्ने बताएका थिए ।

गठबन्धनकै अर्को घटक नेकपा एकीकृत समाजवादीले संशोधन नगरी यथास्थितिमा एमसीसी पास गर्न नसकिने बताउँदै आइरहेको छ । यसैगरी, पाँच दलीय सत्ता गठबन्धनमा आबद्धमध्येको एक दल राष्ट्रिय जनमोर्चाले त एमसीसीको विरोधमा सडक संघर्षको घोषणा नै गरिसकेको छ । सो पार्टीका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी नेपालको राष्ट्रहितका पक्षमा नरहेको भन्दै संशोधन गरिए पनि स्वीकार गर्न नसकिने बताए । ‘एमसीसी नेपालको हितमा छँदै छैन, यसलाई संशोधन गर्ने भनेको के हो ?, मैले बुझेको छैन, संशोधन गरे पनि मान्न सकिन्न,’ केसीले राजधानीसँग भने ।

बुधबार संसद् बैठक सुरु हुनुअघिसमेत गठबन्धन आबद्ध दलका नेताबीच संसद्मा लैजाने एजेन्डाका विषयमा छलफल भएको थियो । सो क्रममा समेत एमसीसीलाई संशोधन नगरी अघि बढाउन नहुने पक्षमा माओवादी केन्द्र र माधव नेपालको दल नेकपा एसले अडान लिएको थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा भने एमसीसी सहमतीबाटै संसद्बाट पास हुनेमा ढुक्क रहन आफ्ना सांसदलाई आग्रह गरेका थिए । उनले सो विषयमा कुनै भ्रम राख्न आवश्यक नभएको भन्दै भ्रमलाई चिरेर अघि बढ्न आफ्ना सांसदहरूलाई आग्रहसमेत गरेका थिए ।विकासशील देशहरूलाई ठूला पूर्वाधार आयोजना निर्माण गर्न साझेदारी गर्ने लक्ष्य लिएको एमसीसी परियोजना सन् २००४ मा अमेरिकी संसद्ले स्थापना गरेको हो । सन् २०१२ यता भएका शृंखलाबद्ध छलफलपछि सन् २०१७ मा तत्कालीन नेपाली कांग्रेसको सरकार हुँदा अमेरिका र नेपालबीच एमसीसीमा सम्झौता भएको थियो ।

अध्यादेशमा समान धारणा बनाइने
सत्ता गठबन्धनभित्र संघीय संसद्को नवौं अधिवेशनमा पेस हुने अध्यादेशमा भने समान धारणा बनाउने सहमति भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार संसद् बैठक सुरु हुनुअघि बसेको गठबन्धन आबद्ध दलका शीर्ष नेताहरूको संयुक्त बैठकले अध्यादेशमा समान धारणा बनाउने सहमति गरेका हुन् ।

गठबन्धनमा भएको सहमतिअनुसार नै सरकारले बुधबारको संसद् बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश भने पेस गरेको छ । गठबन्धनको बैठकमा सहभागी कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले मन्त्रीहरूसँग संसद्मा पेस हुने विषय र अन्य विषयबारे जानकारी मागिएको तथा अध्यादेशमा समान धारणा बनाउने सहमति भएको बताए ।‘गठबन्धन बैठकमा संसद्सँग सम्बन्धित विषयमा छलफल भयो, संसद्मा पेस हुने अध्यादेश र अन्य विषयबारे सम्बन्धित मन्त्रीहरूले ब्रिफिङ गर्नुभयो, अध्यादेशमा समान धारणा बनाउने सहमति भएको छ,’ खड्काले भने ।

बैठकमा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी थिए । आजको राजधानी दैनिकमा समाचार छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।