ताजा अपडेट »

शिक्षण पद्धती र प्रणालीमा परिवर्तनको खाँचो

बुधबार, २३ भदौ २०७८, १९ : ०५
78 Shares

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । ‘मानवकेन्द्रित पुनर्लाभका लागि साक्षरता, प्रविधि प्रयोगको असमानतामा न्यूनता’ भन्ने नाराका साथ यो दिवस मनाइँदै छ । नेपालमा पनि भर्चूअल र अन्य माध्यमबाट विभिन्न कार्यक्रम गरी मनाइँदै छ । गत वर्ष जस्तै यस वर्षपनि कोभिड–१९ का कारण भौतिक उपस्थितिका कार्यक्रम राखिएको छैन।

अन्तारष्ट्रिय रुपमा साक्षरता दिवस मनाइ रहँदा नेपालमा पनि शिक्षा सम्बन्धी विष्लेषण,बहस लगाएतका कार्यक्रमहरु गरी मनाइन्छ । विश्वका तुलनामा नेपालको शिक्षा क्षेत्रमा पनि केहि परिमार्जन र विकास भएको देखिन्छ । तर, विकसित देशसँग तुलना गर्दा नेपालको शिक्षा प्रणाली र अवस्था भने पुरातन र कमजोर छ । कोरोनाका कारण लामो समयदेखि प्रभावित भएको शिक्षा क्षेत्र विस्तारै सूचारु हुँदै छ ।

नेपालमा तत्कालिन राणा शासनकालमा जय पृथ्वी बहादुर सिंहले आधुनिक शिक्षाको पहल गरेका थिए । ‘विद्यालय खोल्नु पर्छ,शिक्षा दिनु पर्छ ।’ भन्ने मान्यताका साथ राणा शासनमा पनि शिक्षाको सुरुवात र विकासका लागि उनले प्रयास गरेका थिए । शिक्षाका लागि उनले करिब २ दर्जन पुस्तक पनि लेखे । वि.सं.१९६०/७० को दशकमा नेपालमा विद्यालय स्थापना र पठन–पाठनमा उनले महत्वपूर्ण योग्दान पुर्याएका थिए । शिक्षा क्षेत्रमा पुर्याएको योग्दानका कारण उनलाई ‘पायनियर अफ एजुकेशन’भनिन्छ । राणाकालदेखि सुरु भएको शिक्षा प्रणाली अर्थात् जय पृथ्वी बहादुर सिंहले सुरु गरेको अभ्यासका एक सय वर्ष पूरा भएको छ ।

हाल नेपालमा १५ वर्षभन्दा माथिको उमेर समूहको साक्षरता ६७ दशमलव नौ प्रतिशत छ । सोही समूहका पुरुषको साक्षरता प्रतिशत ७८ दशमलव छ प्रतिशत र महिलाको साक्षरता प्रतिशत ५९ दशमलव सात प्रतिशत रहेको छ । मुलुकका ५४ जिल्ला साक्षर घोषित भइसकेका छन् । कूल २३ जिल्ला र दुई सय १८ स्थानीय तह साक्षर घोषणा हुन बाँकी रहेको छ । हाल ३५ हजार ६७४ कुल विद्यालय रहेकामा २७ हजार ८१८ सामुदायिक विद्यालय, छ हजार ७३२ संस्थागत (निजी) र एक हजार एक सय ३० परम्परागत (धार्मिक) तथ्यांकमा रहेको छ।

हाल हरेक क्षेत्र विश्वव्यापी भएको छ । शिक्षा पनि विश्वव्यापी बन्दैछ । एक देशबाट अर्को देश अध्ययन गर्न जानु पहिले बाध्यता थियो भने अहिले रोजाई बन्न थालेको छ । नेपालमा पनि तल्लो तहबाटै अन्तराष्ट्रिय पद्धतिको प्रभाव परेको छ । शिशु कक्षालाई हाल मन्टेश्वररीका नाममा आधुनिकरण गरिएको छ । विद्यालय स्तरी शिक्षामा अंग्रेजी भाषालाई प्राथमिकता दिइएको छ । त्यसैगरी उच्च शिक्षाका लागि दूरका देशका विश्वविद्यालयमा जानेको संख्या बढ्दो छ । एकातर्फ नेपालमै अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने पहल भएको छ भने अर्कोतर्फ नेपालबाट अध्ययनका लागि विदेश जाने संख्या बढ्दो छ ।

नेपालमा आधुनिक शिक्षा विकासको १०० वर्ष पूरा हुँदा पनि समय सापेक्ष शिक्षाको विकास हुन सकेको छैन । अझैपनि वर्षौ पहिले तयार भएका पाठ्यक्रम र पाठ्यपुस्तक शिक्षकबाट सुनेर विद्यार्थीले घोकेर तीन घण्टामा दिएको परीक्षाको आधारमा मूल्यांकन गर्ने विधि रहेको छ । अनिवार्य विषयका नाममा विद्यार्थीको रुचि,चाहना र क्षमता विपरित अध्ययन गर्नुपर्ने बाध्यता छ । अर्कोतर्फ केहि शिक्षामा निजीकरण हाबी भएको छ । जसले गर्दा शिक्षा व्यवसायिक र महङ्गो बन्दै गएको छ । राज्यले अरबौ लगानी गरेका केहि सामुदायिक विद्यालयमा भन्दा निजीमा अभिभावक र विद्यार्थीको आकर्षण छ । सरकारले मा.वि.तहसम्म निःशुल्क शिक्षा भनेता पनि देशका कैंयौं ग्रामिण भेगमा विद्यालय बन्न सकेका छैनन् भने बनेका विद्यालयमा आवश्यक पूर्वाधार र जनशक्ति छैन । त्यसैगरी शहरी क्षेत्रमा भएका केहि सामुदायिक विद्यालय बाहेक अधिकांश निजी विद्यालयको तुलनामा पछाडि छन् ।

२१औं शाताब्दीमा विकासले तिव्र गति लिइरहेको छ । भौतिक रुपमा नेपालमा पनि केहि विकास हुँदै छ । शिक्षा क्षेत्रमा पनि लगानी र भौतिक पूर्वाधार बढ्दैछ । तर, मुलुकको राजनीतिक अस्थिरता,शिक्षामा राजनीति,पहुँचको आधारमा नियुक्त , शिक्षामा दिगो र समय सापेक्ष योजनाको कमी,सरकारको उदासिनता,निजीप्रति आकर्षण लगाएतका कारणले शिक्षा क्षेत्र प्रभावित हुँदै आएको छ । अर्कोतर्फ अंकगणीतीय योग्यताको लागि अध्ययन,जागिरको लागि अध्ययन वा शिक्षित हुनका लागि मात्रै अध्ययन गर्ने पुरानो सोँचका कारण पनि शिक्षाले अपेक्षित विकास गर्न सकेको छैन ।

विश्वव्यापी शिक्षा र प्रतिष्पर्धासँगै राज्यले दक्ष जनशक्ति तयार गर्न सैद्धान्तिक भन्दा व्यवहारिक र प्रयोगात्मक शिक्षामा जोड दिन आवश्यक छ । त्यसको लागि प्रणालीमै परिवर्तन ल्याउन आवश्यक छ । विगत २ वर्षदेखि कोरोना महामारीका कारण विद्यालय र शिक्षा क्षेत्र निकै मारमा परेको छ । लामो समय विद्यालय ठप्प भएका छन् । विद्यार्थी विद्यालय भन्दा बाहिर भएका छन् । विद्यालय,शिक्षक र विद्यार्थीको सम्पर्क नभएको धेरै भयो । शहर तथा ग्रामिण क्षेत्रका केहि विद्यालयमा अनलाइन कक्षाको अभ्यास भएतापनि प्रतक्ष्य वा भौतिक उपस्थिति जस्तो प्रभावकारी भएको छैन । यसबाट पनि अब शिक्षा प्रणालीलाई वास्तवमै आधुनिक र विषय बस्तुलाई सीप,दक्षता,अनुसन्धान,प्रयोगात्मक बनाउनु पर्ने देखिन्छ ।

लामो समयदेखि चल्दै आएको नेपालको परम्परागत शैक्षिक प्रणालीलाई कोरोना महामारीले भत्काइदिएको छ । यस्तो अवस्थामा विद्यार्थी,विद्यालय र शिक्षकबीच दूरी बढेको छ । सामान्य अवस्था भन्दा दूर रहेको शिक्षा क्षेत्र धराशायी भएको छ । यसको पुर्नउत्थान र सञ्चालनका लागि शिक्षण पद्धति र प्रणालीलाई परिवर्तन गर्नुपर्ने खाँचो छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।