ताजा अपडेट »

रड प्रहारबाट हत्या भएको आशंका, शव धरान पठाइयो

मंगलबार, २२ भदौ २०७८, १४ : ५९
8 Shares

खाँदबारी । सङ्खुवासभाको मादी नगरपालिका वडा न.१ उम्लिङमा हत्या भएको छ जनाको शवलाई विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जनाइएको छ । सोमबार राती स्थानीय बौदमान कार्कीको परिवारलाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरि हत्या गरेको थियो ।

उक्त घटना अनुसन्धानको लागि अहिले सङघीय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरिक्षक भीम दाहालको कमाण्डमा विशेष टिम घटना लगायत इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडा र जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी लालध्वज राइको टोलीले अनुसन्धन गरिरहेको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका प्रमुख टेकनारायण पौडेलले जानकारी दिए । उनका अनुसार घटना अनुसन्धानका लागि सङ्घीय प्रहरी इकाई कार्यालय धरानको डग शाखाबाट दुईवटा तालिम प्राप्त कुकुर समेत खटाइएको छ ।

घटनामा संलग्न हुन सक्ने अपराधी फरार हुन नदिन सङ्खुवासभाका सबै नाकाहरूमा प्रहरी परिचालन गरिएको निरीक्षक योगराज खतिवडाले बताए । मादी नगरपालिका वडा न. १ उम्लिङ स्थित खोलागाँउमा बौदमान कार्कीको श्रीमती ८४ वर्षिय पार्वता कार्की घरमा मृत अवस्थामा भेटिएको त्यस्तै छोरा ५२ वर्षिय तेज बहादुर कार्की घर छेउको रोडको भित्तामा, बुहारी ५२ वर्षिय कमला कार्की र जेठी बुहारी ३२ वर्षिय रञ्जना कार्की घर छेउको खोल्सामा, नाती ११ वर्षिय दिपेन कार्की घर भन्दा अलिक पर खर बारीमा र ७ वर्षिय नातिनी गोमा कार्की बारीमा मृत अवस्थामा फेला परेकी थिईन ।

मृतक सबैको टाउको र शरीर भर धारिलो हतियार प्रयोग नभई रड प्रहार गरि हत्या भएकोे प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी लालध्वज राइले राइले जानकारी दिए । ८५ वर्षिय बौदमान कार्की सकुसल रहेको डिएसपी लालध्वज राईको भनाई छ । बौदमान कार्कीलाइ उक्त घटना कतिवेला भयो भन्ने कुनै जानकारी नभएको बताइएको छ । उनी कान नसुन्ने र हल्का आँखा समेत देख्न नसक्ने रहेका छन् ।

उक्त रहस्मय घटना कसरी भयो भन्ने अनुसन्धानको लागि घटना अनुसन्धान टिममा प्रदेश प्रहरीको विशेष टिममा ‘ट्रयाकर’ डग पिकु र लैला समेत सहभागी रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी लालध्वज राइले जानकारी दिए । उनका अनुसार फरेन्सिक विज्ञको टोली समेत घटनास्थल तर्फ पुगेर अनुसन्धान गरिरहेको छ । घटनामा भएको छरछिमेकीले थाहा नपाएको जनाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।