ताजा अपडेट »

कुशे औंसी : मुख भन्दा बुवाको सुख र खुशी हेर्ने मन छ

मंगलबार, २२ भदौ २०७८, ०९ : ०७
75 Shares

सर्वप्रथम बुवाको मुख हेर्ने दिनको उपलक्ष्यमा सबै बुवाहरु प्रति नमन गर्न चाहन्छु। मैले यसअघि पनि बुवाको बारेमा लेख लेखेको थिएँ । शिर्षक ‘संघर्ष र दुःखले जेलिएको बुवाको मुहार’ नामक लेख धेरैले रुचाउनु भएको थियो। आज मैले यस वर्ष पनि मेरो बुवा शीर्षकमा लेख तयार गरेको छु। मेरो बुवा बिहानै पाँच बजे कृषि उपज थोक बजारमा व्यवसायीका लागि जानुहुन्छ। हाम्रो फलफूल होलसेल पसल छ। समयसँगै बूढो भएको मेरो बुवाको शरीर थाकेको म छोराले धेरै पटक महसुस गरेको छु । तर, परिवार र घरको अगाडि नथाकेको बाहाना पार्नुहुन्छ। रोग र औसधि साथी बनेको छ तर पनि परिवारमा कुनै किसिमको कमि महसुस हुन दिनुभएको छैन।

बुवाको संघर्षको कथाहरु धेरै सुनेको छु। धेरै आफ्ना मान्छेहरुले भन्ने गर्छन् ‘बाबू तिम्रो बाबाले सानैदेखि दुःख भोगेको छ ।’ यसरी यी कुराहरु सुन्दा मलाइ लाग्छ बाबाले आफ्नो बाल्यकाल,खेल्ने उमेर सबै त्याग्नु भएको रहेछ । त्यसैले त होला मलाई बाबाले यति धेरै केयर र माया गर्दै भोलिका मेरा दुःखका दिन नआउन् भनेर मेरो भविष्यबारे पनि यति चिन्तित हुनु भएको। घरको दयनिय स्थितिले गर्दा एघार वर्षको उमेरमा घर छोड्नु भएको रहेछ। भारतमा गएर नोकरी गर्दै पैसा घर पठाउने गर्नु भएको रहेछ। समय बित्ने क्रममा २०५८ साल देखि नेपालमै बल्ल ब्यापारको लाइन समाउन सफल हुनु भएको रहेछ। शून्यबाट कारोबार गर्दा कति समस्यासँग लड्नु पर्यो होला!

‘कहिले काहीँ खाने कुरा नभएर भोकै सुतेँ’ भन्नुहुन्छ बुबाले । कहिले खानकै लागि चामल नभएर चाउचाउ र चिउरा डब्बामा जम्मा गरेर त्यसैले दिन र रात काटेको बताउनु हुन्छ । चाडबाड आउँदा हामीलाई ऋण गरेर दशै– तिहार मनाएको,हामीलाई स्कुल बोर्डिङ पढाउँदा फिस नपुगेर पढ्न रोकेको ती दिन बाबाले धेरै चिन्ता गरेको त हामीले पनि जानेकै दिन हो। आफूले सानैदेखि दुःख सङ्घर्ष गरेपनि मैले अब केही गर्छु र हजुरलाई साथ दिन्छु भन्दा मलाई ‘त अझै सानो छस्।’ भन्नुहुन्छ । मेरो सपना अब त बुवाको पिर, तनाव, जिम्मेवारी लिन पाए केही हदसम्म बुबा माथिको लोड कम हुन्छ कि भन्ने सोँच हो। तर, पनि बुवाले मलाई अझै सानो देख्नु हुन्छ।

छब्बिस वर्षको उमेरको छोरो मलाई स्कुटी लिएर टाढा नजा भन्नुहुन्छ, जति झुट बोलेपनि ज्योतिषले जस्तै मेरो गल्ती रुचि अनि पिर आँसु बुझ्नुहुन्छ। उमेर र बेलाले कहिलेकाहीँ म सबैभन्दा जान्ने बुझ्ने छु भनेर सोचेँ भने पनि मैले भन्दा धेरै कुरा जानेको,बुझेको र भोगेको हुनुहुन्छ भन्ने मनमा आउँछ अनि आफ्नो जान्ने–बुझ्ने भ्रम भएको मेरो घमण्ड कमजोर भैदिन्छ। संसारमा सबैभन्दा ठूलो धन,सम्पत्ति,शिक्षा,माया र समय भन्दा पनि सबैभन्दा ठूलो बुवानै हो भन्ने लाग्छ मलाई। मलाइ यहाँसम्म आइपुग्दा हरेक दुःख सङ्घर्ष झेल्नु परेको दिनहरु याद गर्छु। बुवाको माया बैसाख जेठको घामामा शितलता प्रदान गरेको महसुस गर्छु । पुष माघको जाडोमा न्यानो महसुस गराउँछ बाबाको मायाले मलाई।
बुवा अर्थात् पिता जन्मदाता मात्रै होइनन् पहिलो गुरु पनि हुन् । जो त्यागी हुन्छ । आफ्ना कैंयौं इच्छा चाहनालाई बलि दिँदै सन्तानको लालन–पालन र भविष्यको चिन्ता गर्दछ । संस्कार,संघर्ष,त्याग र जिउने कला सिकाउने पिताले अन्तिम साससम्म पनि आफ्ना सन्तानलाई आफ्नो सहाराको खाँचो देख्छ ।

बुवाको च्यातिन लागेको जुत्ता हेर्छु ,बुवाले फेर्न मान्नुहुन्न । तर, हामीलाई भने नयाँ किन नयाँ किन भन्नुहुन्छ। आफूलाई रोगले गर्दा मीठो खाना हुन्न तर, हामीलाई भने के खाने मन छ भन्दै आफ्नो आत्मालाई मारेर हाम्रो इच्छा पूरा गर्नुहुन्छ। यो संसारमा भगवान छन् या छैनन् मैले देखेको छैन। तर, भगवानको अर्को रुप भनेकै बुवा हो जस्तो मलाई लाग्छ। बुवाको संघर्षका कथा आफ्नै आँखाले धेरै देख्न सुन्न पाएँ । तर, यसको भागीदार हुन पाएको छैन। बुवाले जति हाम्रो लागि गर्नुभयो यो दुःख र पीडाको बदला मैलेपनि अब बुवालाई सुख र खुशी पार्ने अवसरको खोजीमा छु। र अन्तिम लक्ष्य पनि बुवाको सुख हेर्ने हो।

बुवाले सिकाएको शिक्षा–दीक्षा, इमान्दारिता, कुलको रक्षा नै मेरो मूल मन्त्र हो। भनिन्छ,बुवा आफ्नो लागि बाँच्दैनन्,आफ्नो लागि कमाउँदैनन् र आफ्नो खुसी भन्दा ठूलो परिवारको खुशीको लागि आफूले दुःख गर्छन्। भोक– प्यास,गर्मी–जाडो, रोग नभनी आफ्नै परिवारको लागि उमेर जीवन दुःखमा बिताएर हाम्रो इच्छा आकांक्षा र मनलाई मात्र सर्वपरी ठान्दै परिवारको लागि दुख गर्ने आफ्नो कुनै प्रवाह नगर्ने बुवानै मेरो लागि सबै भन्दा ठूलो ईश्वर हुन्।

आजको बुवाको मुख हेर्ने दिनमा हाम्रो लागि दुःख गर्ने मेरो बुवालाई भित्री मनदेखि ढोग छ । बुवा नै मेरो लागि ईश्वर,सुरक्षाकर्मी र मेरो सारा संसार हुनुहुन्छ। सबैले आफ्नो बाबाको त्याग र हजुरहरुको परिवारलाई गरेको माया अनि हजुरहरुको लागि गरेको सङ्घर्ष बुझ्नु पर्छ। बाबाहरुको लागि सबै भन्दा ठूलो आफ्नो परिवारको खुशी हो। जुन खुशी हजुरहरुले बाबालाई गरिदिँदा मात्र पनि बाबामा थप उर्जा मिल्छ । बाबाको माया सबैभन्दा धेरै जब आफू बाबा बनिन्छ त्यो बेला अझै धेरै बुझ्न सकिन्छ। आजको यस ‘मेरो बा’ विषयमा लेखिएको लेख बाबाको मुख हेर्ने दिनको लागि मात्र नभै सधैं बाबाको अमूल्य योगदानको निम्ति रहन ेछ।मेरो बा,सबैका सम्पूर्ण बा हरुलाई ‘बाबाको मुख हेर्ने’ दिनको धेरै सुभकामना !

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।