ताजा अपडेट »

‘खोप नलगाई खोल्दा बालबालिकामा जोखिम बढ्न सक्छ’

सोमबार, २१ भदौ २०७८, १३ : ५९

काठमाडौँ । उपत्यकाका तिन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञालाई खुकुलो बनाउदै स्थानीय निकायहरुको समन्वयमा विद्यालयहरु सञ्चालन गर्न सक्ने जनाएसँगै स्थानीय तहहरु विद्यालय खोल्ने गृहकार्यमा लागेका छन् ।

तर विद्यालय सञ्चालन गर्दा लामो समयदेखि विद्यालय जान नपाएका बालबालिकालाई संक्रमणबाट जोगाउन भने चुनौती रहेको छ । पछिल्लो तथ्याङ्कले विदेशी राष्ट्रहरुमा बालबालिकाहरु बढी संक्रमण भएको देखाएसँगै विज्ञहरुले पनि बालबालिकाहरु बढी जोखिममा रहेको बताईरहेका छन् ।स्वास्थ्य मन्त्रालयले पनि अहिले नै विद्यालय सञ्चालन गर्न हतार गर्न नहुने बताएको छ । मन्त्रालयका सह(प्रवक्ता समिरकुमार अधिकारीले संक्रमण दर घटेपनि जोखिम नटरेकाले विद्यालय सञ्चालन गर्न नहुने बताए ।

पछिल्लो अध्ययनले बालबालिकाहरु बढी संक्रमण हुन सक्ने देखाउँदा नेपालका १८ वर्ष मुनिका बालबालिकाहरुले खोप नपाईसकेको अवस्थामा विद्यालय सञ्चालन त्यति न्यायोचित नहुने उनको भनाई छ । “सरकारले गर्ने निर्णयमा मन्त्रालयले केही गर्न मिल्दैन तर बालबालिकाहरुलाई बढी जोखिम रहेको छ” उनले भने ।

यस्तै महामारीविद् डा।केदार बरालले पनि अहिले विद्यालय सञ्चालन गर्दा बालबालिकाहरुमा कोरोना संक्रमण बढ्न सक्ने बताए । शिक्षकहरुले कोरोना विरुद्धको खोप लगाएपनि बालबालिकाहरु भने खोपको पहुँचबाट वञ्चित रहेकाले जोखिम रहेको उनको भनाई छ । बालबालिकाहरुको एन्टिबडी कमजोर हुने भएका कारण पनि बालबालिकाहरुमा कोरोना संक्रमण भए समस्या हुने उनको
यस्तै बालरोग विशेषज्ञ डा नर्मदा कोइरालाले पनि कोभिडको जोखिम तत्काल नटरेकाले विद्यालय सञ्चालन गर्न केही समय पर्खनुपर्ने बताए ।

बालबालिकाहरुले स्वास्थ्य मापदण्डको पालना पनि गर्न नसक्ने भएकाले विद्यालयबाट कोरोना संक्रमण अझ बढ्न सक्ने उहाँको भनाई छ । बालबालिकालाई विद्यालय पठाउँदा मनोवैज्ञानिक रुपले राम्रै मानिए पनि शारीरिक तवरले खतरा नै रहेको उनी बताए ।
“बालबालिकाहरु धेरै समय पछि आफ्नो साथीलाई भेट्दा नजिकिएर बस्ने खेल्ने गर्न सक्छन् । यस्तो अवस्थामा कोरोना संक्रमणको जोखिम उच्च हुन्छ” उनले भने ।-गोरखापत्र

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।