ताजा अपडेट »

मकवानपुरमा स्वास्थ्य बिमा गराउनेको सङ्ख्यामा वृद्धि

सोमबार, २१ भदौ २०७८, १३ : २५
6 Shares

वाग्मती । मकवानपुरमा स्वास्थ्य बिमा गराउनेको सङ्ख्या दिनप्रति दिन बढ्दै गएको छ । हेटौँडालगायत ग्रामीण क्षेत्रमा हालसम्म एक लाख ३८ हजार ५५५ भन्दा बढी व्यक्तिले स्वास्थ्य बिमा गरेका छन् । सोमध्ये ७१ हजार १८४ महिला र ६७ हजार ३६७ पुरुषले २०७७/०७८ सम्ममा स्वास्थ्य बिमा गरेको एक तथ्याङ्कले जनाएको छ ।

साथै स्वास्थ्य बिमा गर्नेमध्येमा गत आर्थिक वर्षमा ३२ हजार ९६६ व्यक्तिले बिमा नवीकरण गरेका छन् भने बिमा गर्ने ३३ हजार ९६६ नयाँ सदस्य थपिएका स्वास्थ्य बिमा बोर्ड मकवानपुरले जनाएको छ । कोरोना महामारीको कठिन परिस्थितिमा समेत ८७ प्रतिशतले गत आर्थिक वर्षमा बिमा नवीकरण गराएका छन् । सो सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा अत्यधिक रहेको छ । बिमा गर्नेमा ३९ हजार २५० ले पूर्ण शुल्कमा बिमा गरेका छन् भने छ हजार १३२ ज्येष्ठ नागरिकले निःशुल्करुपमा स्वास्थ्य बिमा गरेका सो बोर्डद्वारा उपलब्ध तथ्याङ्कमा उल्लेख गरिएको छ ।

यसैगरी ८७२ पूर्ण अपाङ्गता भएका रहेकाले निःशुल्क बिमा सेवा लिइरहेको बताइएको छ । त्यस्तै एचआइभी सङ्क्रमित भएका २३७ ले समेत निःशुल्क बिमा सेवा प्राप्त गरेका छन् भने क्षयरोग भएका एक जनालाई निः शुल्क सेवा दिइएको जनाइएको छ । महिला स्वास्थ्य स्वम्सेविकाका परिवारलाई ५० प्रतिशत छुट दिइ ५२४ को स्वास्थ्य बिमा गरिएको बताइएको छ । स्वास्थ्य बिमा गर्ने स्थानीय तहमा हेटौँडा उपमहानगरपालिकामा सबैभन्दा धेरै सङ्ख्या रहेको छ । वाग्मती गाउँपालिकाको सङ्ख्या सबैभन्दा कम रहेको सो बोर्डका दर्ता अधिकारी नरबहादुर खड्काले जानकारी र्दिए ।

सरकारले गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहँुच सुनिश्चित गर्न स्वास्थ्य बिमा ल्याएको र बिमा कार्यक्रम सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिद्वारा २०७२ चैत २५ गतेदेखि कैलालीबाट सर्वप्रथम सुरु गरिएको थियो । मकवानपुरमा विसं २०७४ असार १५ गतेदेखि सुरु भएको बिमा कार्यक्रमले सोही वर्षको भदौ १ गतेदेखि सेवा सञ्चालन गरेको थियो । मकवानपुरमा सुरुआतको वर्षमा ५५ हजारभन्दा बढी व्यक्तिले स्वास्थ्य बिमा गरेको थियो ।-रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।