ताजा अपडेट »

खेलाडीको प्रदर्शनबाट अल्मुताइरी खुसी

सोमबार, २१ भदौ २०७८, ०७ : ३९
2 Shares

काठमाडौं । भारतसँग अन्तिम खेलमा पराजित भए पनि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खेलाडीको प्रदर्शनबाट आफू खुसी भएको बताएका छन् । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग २-१ गोल अन्तरले पराजित भएको थियो । पराजित बाबजुद प्रशिक्षक अब्दुल्लाहले खेलाडीले राम्रो खेलेको प्रतिक्रिया दिएका हुन् । 

‘हामीले राम्रो खेल्यौं । कन्ट्रोल गर्‍याे, रिसिभ राम्रो गर्‍याे । हाम्रो मौका थियो । मौकाको सदूपयोग गर्न सकेनौं । तर टोलीप्रति म खुसी छु, गौरवान्वित छु,’ खेलपछि पोष्ट म्याचमा प्रशिक्षक अब्दुल्लाहले भने । पहिलो हाफ भारतले नेपाललाई दबाब दिने प्रयास गरे पनि नेपाली डिफेन्स लाइनले त्यसलाई सहजै नियन्त्रणमा लियो । दोस्रो हाफमा भने भारतले लगातार दुई गोल गरेकाे थियाे । 

दोस्रो हाफमा मैदान प्रवेश गरेका पारुख चौधरीले खेलको ६२औँ मिनेटमा 'डि बक्स'भित्र बल नियन्त्रणमा लिँदै सहजै गोल गरे । खेलको ८१औँ मिनेटमा कप्तान सुनिल क्षेत्रीले भारतलाई २-० गोल अन्तरको अग्रता दिलाए । उनले मैदानबीच भागमा प्राप्त बललाई अगाडि बढाउँदै गोलरक्षक किरणलाई विट गर्दै सहज गोल गरे । नेपालका लागि खेल सकिन तीन मिनेट बाकी हुँदा मिडफिल्डर तेज तामाङले गोल गरे । उनले 'डि बक्स' बाहिरबाट गोल गर्दै सिनियर टोलीमा गोलको खाता खोले । यसअघि गत शुक्रबारकाे पहिलो मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा समाप्त भएको थियो । 

प्रशिक्षक अब्दुल्लाहले भारतविरुद्ध खेल्न खेलाडीलाई हौसला प्रदान गरेको र खेलाडीले सोही अनुसार खेलेको बताउँदै आगामी साफका लागि कतारमा तयारी पूरा गर्ने बताए । ‘भारतविरुद्ध खेलाडीलाई खुलेर खेल्न बताएको थिए । योजना अनुसार पहिलो हाफमा भारतलाई रोक्न सफल भयौं । फिनिसिङमा समस्या छ । हामी सुधार्ने प्रयास गर्नेछौं । कतार प्रशिक्षण राम्रो हुनेछ,’ प्रशिक्षक अब्दुल्लाहले भने ।

भारतीय प्रशिक्षक इगोर स्टिम्याकले पहिलो खेलको तुलनामा दोस्रो खेलमा आफ्नो खेलाडीले राम्रो खेलेको बताए । ‘खेल राम्रो भयो । सबैले रमाइलो गरे । पहिलो खेलको तुलनामा दोस्रो खेल राम्रो भयो । पिच राम्रो भएर पनि खेल राम्रो भएको हुनसक्छ । हुनुपर्ने जति राम्रो थिएन । तर अगाडिको भन्दा राम्रो थियो,’ क्रोयशियन नागरिक इगोरले भने । दुई मैत्रीपूर्ण खेलसँगै नेपाली टिम साफ च्याम्पियनसिपको तयारी लागि कतार भ्रमणमा निस्कनेछ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।