ताजा अपडेट »

स्वयंसेवक व्यवस्थापनका लागि अक्षयकोष खडा गर्ने

आइतबार, २० भदौ २०७८, १६ : ५०
4 Shares

ललितपुर । पाटनको संस्कृति तथा सम्पदा संरक्षणमा लामो समयदेखि काम गर्दै आएको मङ्गलटोल सुधार सङ्घले अक्षयकोष खडा गर्ने भएको छ। पाटनमा मनाइने मुख्य पर्वमा स्वयंसेवक परिचालन र व्यवस्थापनका लागि सो कोेष स्थापना गर्न लागिएको हो ।

पाटन दरबार परिसरमा रहेको कृष्ण मन्दिरमा हरेक वर्ष भाद्र कृष्णअष्टमीका दिन मनाइने ‘कृष्णजात्रा’, नवमीका दिन पाटनको टोलटोलमा मनाइने ‘कृष्ण पूजा’ का साथै सोही दिन मङ्गलबजारको ‘भीमसेनको खटजात्रा’ आदिमा जनशक्ति परिचालन गर्दा लाग्ने खर्च जुटाउन ललितपुर महानगरपालिका–१६ बाट रु पाँच लाख सहयोग प्राप्त भएपछि कोष खडा गर्न लागेको सङ्घका अध्यक्ष किरणमान प्रधानले बताए ।

उनले भने, “यसअघि मनाइने पर्वमा स्वयंसेवक खटाउन व्यक्ति–व्यक्तिसँग गएर आर्थिक सहयोग माग्नुपर्ने समस्याको अन्त्य भएको छ। कोष खडा भएसँगै यहाँका धार्मिक कार्यमा मानिस खटाउन सङ्कोच हुने छैन।” वडास्तरीय बजेटमार्फत जात्रा अनि पर्व तथा संस्कार र संस्कृति जगेर्णा गर्न आफूहरुले गत शुक्रबार सो मूल्यको रकम सहयोेग गरेको नं १६ का वडाध्यक्ष निर्मलरत्न शाक्यलले बताए ।

उनले भने, “यसैगरी केही दिनअघि हामीले ‘बौद्ध संस्कृति र संस्कार’ लाई निरन्तरता दिन बज्राचार्य पूजाविधि अध्ययन समितिलाई रु पाँच लाख दिनुका साथै सोमबार गुँला पर्व अवधिभर टोलटोलमा बसेर पाठ गर्ने ‘नामसङ्गति पर्व’ निरन्तरताको लागि नेपाल परम्परागत बौद्ध धर्मसङ्घलाई समेत यही मूल्य बराबरको चेक हस्तान्तरण गरेका थियौं ।”

त्यसैगरी, आउँदो शनिबार मतैया पर्व व्यवस्थापन समितिलाई पनि रु १० लाख सहयोग गर्ने तयारी भइरहेको शाक्यले जानकारी गराए। सो सङ्घको स्थापना विसं २०५३ मा भएको बताइएको छ। पाटन काठमाडौंँ उपत्यकाका तीन शहरमध्ये सबैभन्दा पुरानो र रमणीय क्षेत्र हो। यहाँ प्रत्येक वर्ष मुलुककै लामो मच्छिन्द्रनाथ रथयात्रा अनि भोटो देखाउने जात्रा, कात्तिक नाच, कुम्भेश्वरमा मेला आदिसमेत मनाइने गरिन्छ ।

पाटन पर्यटकीय दृष्टिकोणले पनि अत्यन्त महत्वपूर्ण क्षेत्र हो। सङ्घ रहेको पाटन दरबार क्षेत्रलाई युनेस्कोले विश्व सम्पदा क्षेत्रमा घोषणा गर्नाका साथै विश्व हस्तकला परिषद्ले ३५औँ कला नगरी समेत घोेषणा गरिसकेको छ । रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।