Mar 28, 2023
काठमाडौँ । कोभिड १९ को पूर्ण खोप लगाउँदा रोग लाग्ने जोखिम कम हुने मात्र नभै दीर्घ (लङ) कोभिड हुनसक्ने जोखिमबाट पनि बचाउने किङ्ग्स कलेज लन्डनको पछिल्लो अध्ययनले देखाएको छ।
अध्ययनमा- दुई मात्रा खोप लगाएपछि पनि कोभिड लागेका मानिसहरूमा चार हप्ता भन्दा लामो समयसम्म लक्षण रहिरहने समस्या ५० प्रतिशतले घटेको पाइएको छ। यो खोप नलगाएका मानिसलाई लागेको रोगसँग गरिएको तुलना हो। अहिलेसम्म यूकेमा ७८.९%ले कोभिड खोपको दुई मात्रा नै लगाइसकेका छन्।
धेरैजसो कोभिड बिरामीहरू चार हप्ता जतिमा निको हुन्छन्। तर कसै कसैलाई हप्तौँदेखि महिनौँसम्म कोभिडका लक्षण बाँकी भइरहन्छ जसलाई दीर्घ कोभिड भन्ने गरिएको छ। कोभिडका सामान्य लक्षण देखिएकामा पनि दीर्घ कोभिड हुन सक्छ।
द ल्यान्सेट इन्फेक्सिअस डीजिज जर्नलमा प्रकाशित लेखमा अनुसन्धानकर्ताहरूले खोपले मानिसको जीवन बचाइरहेको र गम्भीर लक्षण हुनबाट जोगाइरहेको स्पष्ट भएको उल्लेख गरेका छन्। तर लामो समय रहिरहने किसिमको कोभिडमा कस्तो असर पर्छ भन्नेबारे कम थाहा छ। उनीहरूले यूकेको ‘जो कोभिड स्टडी एप’मा भएका तथ्याङ्क सङ्कलन गरेर विश्लेषण गरेका थिए।
उक्त एपमा मानिसहरूले आफूलाई लागेको रोग लक्षण खोप र परीक्षणबारे स्वयंसेवी रूपमा आफ्ना अनुभव व्यक्त गर्ने गर्छन्। डिसेम्बर २०२०देखि जुलाई सम्मको तथ्याङ्कमा १२ लाखले खोपको एक मात्रा र ९ लाख ७१ हजारले दुई मात्रा लगाएका मानिसहरूको अनुभव विश्लेषण गरिएको हो।
अनुसन्धानकर्ताहरूले केही मानिसहरू दुई खोप लगाए पनि खतरामा रहेको पाए। खास गरी सुविधा नभएका स्थानमा बस्ने कमजोर र वृद्धवृद्धाहरू। त्यो पनि खास गरी एक मात्रा मात्र खोप लगाएका मानिसहरू बढी खतरामा पाइयो।
अनुसन्धानको नेतृत्व गरेकी डा. क्लेयर स्टीभ्सले भनिन्, खतरामा रहेका मानिसहरूलाई बूस्टर मात्रा दिन प्राथमिकतामा राख्न आवश्यक छ।उनले भनिन्. “दीर्घ कोभिडको समस्याको सन्दर्भमा हाम्रो अध्ययनले पत्ता लगाएको राम्रो समाचार के हो भने दुई मात्रा कोभिडको खोपले रोग लाग्ने जोखिम र लागिहाले पनि दीर्घ कोभिड हुने जोखिम घटाइदिन्छ।”
स्वास्थ्य मन्त्री साजिद जाभिदले खोपले इङ्ल्यान्डमा मात्रै १ लाख ५ हजार जीवन जोगाएको र २ करोड ४० लाख सङ्क्रमण हुनबाट जोगाएको छ। उनले भने “खोपले रोगबाट बचाइरहेको छ र त्यो नै मानिसहरूलाई गम्भीर लक्षण हुनबाट बचाउने उपाय पनि हो। खोप लगाउने उमेरका हरेक व्यक्ति दुई मात्रा नै खोप लगाउन आउन म आग्रह गर्छु।”-बीबीसी
प्रतिकृया दिनुहोस्