ताजा अपडेट »

महामारीमा रङ्गमञ्च - जसरी हुन्छ टिक्ने प्रयासमा नाटकघर र कलाकार

आइतबार, २० भदौ २०७८, १० : ३९
2 Shares

अर्चना पन्थी पाँच वर्षदेखि रङ्गमञ्चमा सक्रिय छिन्। सन् २०१६ मा पहिलोपटक नाटकमा अभिनय गरेपछि रङ्गमञ्चप्रति उनको मोह बढ्यो। नियमित हुने नाटक र अभिनयसम्बन्धी कामहरूबाट व्यक्तिगत खर्च धान्न पुग्दो पैसा कमाइ रहेकी थिइन्।

तर एकाएक कोरोनाभाइरसको महामारी फैलियो। रङ्गमञ्च बन्द भए। नियमित नाटक मञ्चन, कार्यशाला र कार्यक्रमहरू हुन छाडे। कमाइको बाटो ठप्प भयो। कोठा भाडादेखि नियमित खर्च पुर्‍याउनै मुस्किल भयो। "दुई वर्ष त पर्खिएँ। अझै कति पर्खनु पर्ने हो टुङ्गो लागेन। त्यसैले कला र अभिनयभन्दा फरक काम गर्न थालेँ," पन्थीले भनिन्।

अहिले उनी एक कर्पोरेट कम्पनीमा सञ्चार अधिकृतको रूपमा काम गर्छिन्। "रङ्गमञ्चको काम नहुँदा दोबाटोमा उभिएकोजस्तै हुन थाल्यो। हरेक दिन आफैसँग प्रश्न गरेँ, अब के?," आफ्नो मानसिक स्थितिबारे पन्थी भन्छिन्।

"रहर बाहेकको काम गर्ने निर्णयमा पुग्न गाह्रो हुँदो रहेछ।"रङ्गमञ्च सञ्चालन नहुँदा आर्थिक रूपमा मात्र नभई मानसिक रूपमा पनि विचलित भएको उनी बताउँछिन्। पन्थीले भोगेको अवस्था उनको मात्रै होइन, लगभग सबै रङ्गमञ्चकर्मीको हो। महामारीका कारण विगत दुई वर्ष रङ्गमञ्च क्षेत्र नराम्ररी प्रभावित बनेको छ।

नाटकघर निर्माण योजना अलपत्र

विसं २०७६ फागुन २८ गतेका लागि तय भएको थियो नाटक 'बाछिटा'को पहिलो मञ्चन। मञ्चदेखि कलाकार र उनीहरूको वेशभूषा तयार थियो।दमक सामुदायिक हलमा देखाउन लागिएको नाटकको अग्रिम भुक्तानीसमेत गरियो। भाडामा ल्याइएका बत्तीहरू जडान गरियो र टिकट छपाइयो।

मञ्चन सुरु हुनुभन्दा ठिक दुई दिनअगाडि सरकारले सूचना जारी गर्‍यो - भिडभाड हुने कार्यक्रम र सभा सम्मेलन नगर्नु।"त्यति बेला कोरोनाभाइरसबारे धेरै थाहा थिएन। लकडाउन हप्ता-दश दिन होला त्यसपछि त खुलिहाल्छ नि भनेर बस्यौँ," नाट्यकर्मी सिजन दाहालले सुनाए।

महिनौँ बित्यो तर कोरोनाभाइरसको महामारी टुङ्गिएन। लकडाउन खुले पनि नाटक मञ्चनका लागि स्थिति सहज बनेन।झापास्थित कदम थिएटरको तयारी बालुवामा पानी खन्याए सरह भयो। नाटकको लागि गरिएको खर्च ऋण बन्यो।

लकडाउनकै कारण २०७० सालमा खाका बनेको नाटकघरको भौतिक संरचना निर्माणको काम पनि प्रभावित भएको दाहाल सुनाउँछन्।"हामी नाटकमार्फत् आफ्नो र समाजको कथा भन्ने कुरा गर्छौँ। काठमाण्डूमा बसेर त्यो सम्भव थिएन। त्यसैले आफ्नै ठाउँमा नाटकघर स्थापनाको योजना बनाएको हुँ," दाहालले सुनाए।

मोफसलमा रहेका र अभिनयको हुटहुटी बोकेका सबैका लागि आफ्नो रहर पूरा गर्न काठमाण्डू धाउनु सहज छैन।दाहालले झापाकै स्थानीय कलाकारहरूको संलग्नतामा 'मरिचेको जुक्ती' र 'गैँडा टाइम्स' नाटक निर्माण गरे।स-साना गतिविधिमा सीमित 'कदम थिएटर'लाई दमक नगरपालिकाले जग्गा उपलब्ध गरायो। त्यहाँ उनीहरूले भौतिक संरचना बनाई प्रदेश १ का विभिन्न नाट्य समूहका कलाकारको सहभागितामा नाट्य कार्यशाला आयोजना गरे।सक्रियताकै कारण प्रदेश सरकारले नाटक घर निर्माणका लागि समेत बजेट विनियोजन गरिदिएको दाहाल बताउँछन्।

"जग हाल्नु र लकडाउन सुरु हुनु एकै पटक जस्तो भयो। योजनाले बल्लतल्ल मूर्त रूप लिँदै थियो सबै कुरा ठप्प भइदियो," उनी सुनाउँछन्।"त्यसपछि त गतिविधि शून्य। कलाकार जोगाउनै हम्मेहम्मे पर्न थाल्यो।"कोरोनाभाइरस महामारीकै असरकै कारण कदम थिएटरका केही कलाकार विदेशिए। कसैले अन्यत्र जागिर खोज्नुपर्ने स्थिति आइपरेको दाहाल सुनाउँछन्। संस्थालाई ऋण लाग्यो।

तर अभिनयमा निखारिएका कलाकार यस क्षेत्रबाटै टाढिनुको तुलनामा आर्थिक भारलाई कम आँक्छन् दाहाल। "पैसा त भोलि नाटक देखाएरै तिरौँला तर नाटक गर्नका लागि कलाकार चाहियो। कलाकार हुन रहर चाहियो। सुरुदेखि तालिम दिनु र मसिना कुराहरू बुझाउनु चुनौतीपूर्ण बन्न जान्छ," उनले भने।

मोफसलमा काम गर्न काठमाण्डूमा भन्दा सहज हुने भन्ने उनको ठम्याइ थियो।'घरको काम सकेर, घरकै भात खाएर, नाटक गर्न आउँछन्' भन्ने बुझाइलाई आम युवाको उत्साहजनक सहभागिताले सही साबित गर्दै थियो। तर लकडाउन यता धेरैको घरमा 'भात पाक्नु' नै चुनौती बनेको दाहाल बताउँछन्।

यसरी काठमाण्डूको अवसर र सम्भावना छाडेर समाजको कथा खोज्न र भन्न हिँडेका दाहाल महामारी अन्त्यको पर्खाइमा छन्। त्यसपछि 'कदम थिएटर'को नाटकघर निर्माणले द्रुत गति लिन्छ भन्ने आशासहित।

काठमाण्डूमा भाडा तिर्नै गाह्रो

पूर्ण समय रङ्गमञ्चमा बिताएकाहरूका लागि जीविकोपार्जनको बाटो नै नाटक र नाटकघर हो। नाटकघर भाडामा दिएर वा नाटकको टिकट बिक्रीमार्फत् हुने आम्दानीले लेखक, निर्देशक, कलाकार र प्राविधिकहरूको गर्जो टर्थ्यो।तर लकडाउनयता नाटकघरको भाडा तिर्नै सकस परेको सञ्चालकहरू बताउँछन्।

"आयस्रोत नै बन्द भएपछि आर्थिक भार पर्‍यो," शिल्पी थिएटरका सञ्चालक एवं निर्देशक घिमिरे युवराज भन्छन्,"कमाइ नहुँदा कलाकारहरूलाई थुम्थुमाएर राखिएको छ। तर घरधनीलाई भाडा र र बिजुली शुल्क त तिर्नै पर्‍यो।" उनले तलबी कलाकारहरूलाई गाउँ फर्किएको सुनाए। लकडाउनमा घरबाटै सामाजिक सञ्जालमा गीत सङ्गीत "काम र कमाइ नहुँदा कलाकारहरू मानसिक रूपमा समेत प्रभावित छन्।"

घिमिरेले आर्थिक भार र मानसिक प्रभावलाई केही कम गर्ने उद्देश्यसहित 'अनुपस्थित तीन' नाटक निर्माण गरे। सुरुवाती चरणमा अनलाइन देखाएर कथामाथि छलफल र अभ्यास भयो।असारको पहिलो साता निषेधाज्ञा केही खुकुलो भएपछि सुरक्षा मापदण्ड अपनाएर सीमित मानिसको उपस्थितिमा तयारी गरे।

रङ्गमञ्चलाई चलायमान राख्न नाटक त गर्ने भए। तर सङ्क्रमण फैलिरहँदा दर्शक आउने परिस्थिति कहाँ हुनु?सामान्यता एक महिना प्रदर्शन हुने नाटकलाई तीन दिनमा खुम्च्याएको एवम् फेसबुक र युट्युबमार्फत प्रत्यक्ष प्रसारण गरेको घिमिरे बताउँछन्।

शिल्पीले नाटकलाई सहयोग स्वरूप 'सङ्कटमा सहयोग' नाम दिएर इच्छादानको प्रावधानसमेत अघि सारेको थियो।"घाटा भयो तर एक रङ्गकर्मी भित्रको जुनुन जोगाउन भए पनि यो चुनौती स्वीकार्नु थियो। दर्शकलाई नाटकघरसँग जोडिराख्नु थियो। त्यसका लागि नाटक गर्‍यौँ," उनले भने।

कमाइ बेगर भइरहेको खर्चले नाटकघर घाटामा गएको दाबी गर्छन् मण्डला थिएटरका सोमनाथ खनाल।गैरसरकारी संस्थाहरूसँगको साझेदारीले भने केही राहत दिलाएको खनाल बताउँछन्। साझेदारीअन्तर्गत प्राप्त हुने रकमले भरथेग गरिरहेको उनले बताए।

"करिब डेढ वर्षको अवधिमा हामीले 'ड्रामा स्कूल'नै सञ्चालन गर्‍यौँ। सङ्क्रमणको जोखिमका कारण केही महिना भर्चुअल र केही महिना आवासीय कक्षा चलाएका हौँ," खनाल भन्छन्।

"बन्द छ, अभाव छ भनेर चुप लागेर बसेको भए यतिकै दुई वर्ष बितेर जान्थ्यो। समस्याहरू त परिस्थिति अनुकूल बन्दै गएपछि ठिक भइहाल्छ। हाल रङ्गमञ्च र कलाकारहरूको जोस जीवन्त राख्नु थियो। हामीले त्यही प्रयास गर्‍यौँ।"

इन्टरनेटमा सक्रिय रङ्गकर्मीहरू

कोभिड-१९ सङ्क्रमण फैलिएयता धेरै रङ्गकर्मीले पनि भर्चुअल माध्यममार्फत् रङ्गकर्मलाई निरन्तरता दिए।थिएटर मलको अग्रसरतामा 'क्वारन्टीन अभियान नाट्य उत्सव' आयोजना भएको थियो। जसमा देशभरका रङ्गकर्मीहरूले बनाएको नयाँ तथा पुराना नाटकहरू अनलाइन प्रदर्शन गरियो।

"कलाकारहरूका लागि अभिनयले महत्त्व राख्छ। अभिनय र अभ्यास छुट्दा खल्लो लाग्छ। झन् दर्शकसँगको सम्बन्ध टुट्यो भने कस्तो होला?" दाहाल प्रश्न गर्छन्।उनी भन्छन्,"त्यसैले भर्चुअल नै भए पनि कक्षा सञ्चालन गर्‍यौँ। कचहरी मञ्चन गर्‍यौँ।"

कचहरी अर्थात् फोरम थिएटर। दाहालका अनुसार नाटकको यस विधामा कुनै एउटा विषयमाथि बहस हुन्छ। समाजको समस्या लिइन्छ, त्यसलाई नाट्य रूपान्तरण गरिन्छ र समाजकै मानिसलाई देखाइन्छ। कथालाई एउटा विन्दुसम्म पुर्‍याएपछि दर्शकलाई प्रश्न गरिन्छ - यहाँ सही भइरहेको छ कि गलत? तपाईँ यी पात्रको ठाउँमा भइदिएको भए के गर्नु हुन्थ्यो?

शिल्पी थिएटरले पनि कचहरी नाटकको अनलाइन आयोजना गर्‍यो। अनलाइनमार्फत कथा भन्ने, सुन्ने र मञ्चन गर्ने अर्को माध्यम बन्यो 'प्ले ब्याक' अर्थात् चौतारी नाटक। नाटकको यस विधामा कथाको पूर्वतयारी नहुने नाट्यकर्मी बताउँछन्। मध्यस्थकर्तासँग सहभागी दर्शकले आफ्नो देखेको, सुनेको वा भोगेको घटना सुनाउँछन्। ती भोगाइलाई सुनेका आधारमा सङ्गीत, संवाद र विभिन्न भावभङ्गीसहित अभिनयमा रूपान्तर गर्छन् कलाकारहरूले।

कौसी थिएटरले गत वर्षको जुलाइ महिनामा नै जुम एप्लिकेसनमार्फत चौतारी नाटक सुरु गरेको थियो।

यस माध्यमले कलाकार साथसाथै दर्शकलाई मानसिक राहत दिलाएको बताउँछिन् कौसी थिएटरकी सञ्चालक एवं निर्देशक आकाङ्क्षा कार्की।

"भौतिक उपस्थितिबीच अनुभव साट्दा मानिसमा देखिने वा गोपनीयता भङ्ग हुने डर हुन्थ्यो। त्यसैले रमाइला विषयमा कुराकानी हुन्थ्यो," कार्की सुनाउँछिन्।

"महामारीपछि मानिस एक्लो भए, आत्ममूल्याङ्कन गरे। स्क्रीनपछाडि रहेका चिन्ता र अवसादका अनुभवहरू साटे।"

रङ्गमञ्चमा र अनलाइनको नाट्य प्रस्तुतिबिचको फरक भने कार्की स्वयंले अनुभव गरिन्। नाटकघरमा दर्शकको ध्यान अभिनयमा बढी केन्द्रित रहन्थ्यो। अनलाइनमा भने कथा सुन्नु केन्द्रीय विषय बन्यो।

सुरुसुरुमा १४/१५ जना सहभागी भएको उक्त चौतारी नाटकमा पछि ४० जनासम्म दर्शक नियमित उपस्थित भए।मण्डला थिएटरले पनि अग्रपङ्क्तिमा उभिएर कोरोनाभाइरसविरुद्ध लड्नेहरूको अनुभव सुन्न र सुनाउन जुममार्फत चौतारी नाटक आयोजना गरेको थियो।

आकाङ्क्षा भन्छिन्,"नाटक घरको विशेषता नै प्रत्यक्ष मञ्चन हो। अब त दर्शक पनि आफ्नो नियमित काममा फर्कन थालिसके। उनीहरूसँग अनलाइनमा बिताउन धेरै समय हुँदैन।""त्यसैले महिनामा एक पटक भौतिक प्रस्तुति दिने तयारी गर्दै छौँ। बिस्तारै रङ्गमञ्चमा फर्कनुको विकल्प छैन।"

रङ्गमञ्चलाई राज्यको असहयोग

कोरोनाभाइरस सङ्क्रमण रोकथामको निम्ति निषेधाज्ञा आदेश जारी छ। बजार, व्यवसाय, उद्योगहरू भने निर्बाध रूपमा सञ्चालित छन्। गीति भिडियोहरू दैनिक दर्जनको हाराहारीमा निर्माण एवं सार्वजनिक भइरहेका छन्।सिनेमा र रङ्गमञ्च मात्र यस्ता क्षेत्र हुन् जुन पुरानो लयमा फर्किएका छैनन्। सरकारको राहत वा अन्य सहुलियत त परको कुरा रहेको रङ्गकर्मीहरू बताउँछन्।

नाटकघरहरूमा बिजुलीको थ्री फेज लाइन प्रयोग हुन्छ। जसको मासिक शूल्क कम्तीमा १५ हजार रुपैयाँ अनिवार्य तिर्नुपर्छ।"सरकारबाट ठूला सहयोगको त अपेक्षा छैन। तर यस्ता विषयमा छुट दिन सक्छ नि," घिमिरे युवराज उदासीनता व्यक्त गर्छन्।"तर दिँदैनन् किनकि सत्तामा भएकाहरूलाई कला, साहित्य र रङ्गमञ्च केही पनि जोगाउनु नै छैन।"

लकडाउन यता नेपालभरका नाटक घरहरूले महामारी तथा लकडाउनका कारण प्रभावित रङ्गमञ्चमय गतिविधि र अन्य समस्या सम्बोधन गर्ने आग्रहसहित नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रज्ञाप्रतिष्ठान ज्ञापन पत्र बुझाएको थियो।रङ्गमञ्चको भाडा तिर्न, कलाकार/कर्मचारीलाई तलब दिन गाह्रो भएकोदेखि केही रङ्गकर्मीलाई दैनिक जीविका चलाउन गाह्रो भएकोले राहतमुखी कार्यक्रमका लागि पनि आग्रह गरिएको थियो।

"तर सम्बन्धित निकायको प्रतिक्रियाले गर्दा हामी निराश भयौँ। हाम्रो आग्रह निजी क्षेत्रको पहलबाट स्थापित रङ्गमञ्चको स्थान जोगाउनका निम्ति अपिल थियो," घिमिरे भन्छन्।"उनीहरूले गरेनन् भन्दैमा हामीले नगर्न मिल्दैन। त्यसैले विकल्प खोज्दै छौँ।"बीबीसी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।