ताजा अपडेट »

पूर्वी नेपालमा भाटभटेनीको १९ औं स्टोर, नेपालकै ठूलो भएको दाबी

शनिबार, १९ भदौ २०७८, ११ : १८
30 Shares

बुटवल । नेपालकै वृहत चेन सुपरमार्केट भाटभटेनी इटहरीमा पनि सञ्चालनमा आएको छ । काठमाण्डौंबाट सुरु भएको भाटभटेनीको यो १९ औं स्टोर हो । पूर्वी नेपालको शहर इटहरी चोकबाट करिब ४ किलोमिटर पश्चिम लविपुरमा सञ्चालनमा आएको उक्त १९औं स्टोर भाटभटेनीका स्टोरहरु मध्ये मात्रै नभई नेपालकै ठूलो सुपर मार्केट स्टोर भएको भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले दाबी गरेका छन्।

भाटभटेनीको १९ औं तथा नेपालका ठूलो सुपर मार्केट भवनको शनिबार एक समारोहका बीच शुभारम्भ भएको हो । अध्यक्ष गुरुङ,उनका परिवार,इटहरीका केही व्यसायिक,प्रशासनिक व्यक्तिहरुको सहभागितामा सुभारम्भ भएको हो । ३५ कट्ठा क्षेत्रफल भित्र निर्माण भएको स्टोरमा जमिन र निर्माणमा मात्रै २ अर्ब बढी लगानी रहेको भाटभटेनी सुपर मार्केटका व्यवस्थापक विनोद भट्टराईले बताए ।

३ वटा ब्लकमा निर्माण भएको स्टोर साढे तीन लाख स्क्वायर क्षेत्रफलमा रहेको छ । सबै ब्लक ७ तलाका रहेका छन् । ब्लकमा ग्रोसरीका परिकारसँगै विद्युतीय,बैंकिङ्ग,क्याफे,रेष्टूरेण्ट,पार्क,फर्निचर,मनोरञ्जन लगाएत सम्पूर्ण सामग्री तथा सेवाहरु उपलब्ध हुनेछन् । शुभारम्भको अवसरमा ग्राहकका लागि सबै सामग्रीहरुमा १० प्रतिशत छुट रहेको स्टोरका चिफ अप्रेशन म्यानेजर पानु पौडेलले जानकारी गराए ।
देशभर सेवा विस्तार गर्ने अभियानमा रहेको भाटभटेनीले इटहरी पछि हेटौंडामा २०औं स्टोरको शुभारम्भ गर्दैछ ।

देशमै यूरोपियन स्तरको मार्केटिङ शैली र सेवा प्रदान गरी स्वरोजगार प्रदान गर्ने लक्ष्यसहित भाटभटेनी अगाडि बढेको अध्यक्ष गुरुङले बताए । उनले भने ‘बद्लिँदो परिवेशमा एकै छानामुनी सबै सामग्री र सेवा प्रदान गर्नुका साथै स्वदेशमै धेरै जनालाई रोजगार बनाउने हाम्रो लक्ष्य रहेको छ ।

यस अभियान अन्तर्गत देशका विभिन्न शहरमा स्टोर विस्तार गरी करिब ५० हजारलाई रोजगार प्रदान गर्ने हाम्रो योजना रहेको छ।’ इटहरीसँगै हाल देशभर भाटभटेनीका १९ वटा स्टोर सञ्चालित छन् । स्टोरमा करिब १० हजार रोजगाररत छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।