ताजा अपडेट »

पोखरा-सिमरा उडान : दुई प्रदेशबीचका सम्भावनालाई उजागर गर्ने

शुक्रबार, १८ भदौ २०७८, २१ : ०८

गण्डकी । बुधबारदेखि बुद्ध एयरले सुरु गरेको पोखरा–सिमरा सिधा हवार्ई उडानसँगै नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स (नाट्टा) गण्डकी प्रदेश र नाट्टा प्रदेश नं २ को संयोजनमा आयोजित आन्तरिक पर्यटन पुनरुत्थान कार्यक्रम आजदेखि सकिएको छ ।

प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलसहित पर्यटन सम्बद्ध सङ्घसंस्थाका प्रतिनिधिको टोलीले प्रदेश नं २ का विभिन्न स्थलको अवलोकन भ्रमणसहित सरोकारवालासँग छलफल र अन्तरक्रिया सम्पन्न गरेको आज सिमरामा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक एवं नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष हरिराम अधिकारीले बताए ।

पत्रकार सम्मेलनमा गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री कँडेलले पोखरा-सिमरा सिधा हवाई उडानले आर्थिक नगरी र पर्यटकीय नगरीबीचको सम्बन्धलाई जोडेको बताए । पर्यटनको विकासका लागि सरकारका तर्फबाट नीतिगत व्यवस्थाका लागि आफूले पहल गर्ने विश्वास व्यक्त गर्दै उनले सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने बताए ।

पर्यटन व्यवसायी इच्छाबहादुर वाग्लेले निजी क्षेत्रको लगानीलाई सरकारले प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै पोखरा–सिमरा सिधा उडानलाई सुलभका साथै दीगो बनाउनुपर्ने आवश्यकता औँल्याए । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले कोरोना प्रभावित पर्यटनलाई बचाउने गरी काम गर्न सरकारलाई आग्रह गर्दै सुरक्षा मापदण्ड कायम गर्दै तत्काल सीमा नाका पर्यटक आवागमन हुने गरी खोल्नुपर्ने बताए ।

नाट्टा सेन्टरका अध्यक्ष अच्युत गुरागाइँले आन्तरिक पर्यटनका साथै भारतीय पर्यटकलाई अधिकतम भित्र्याउने वातावरण तयार गर्नुपर्नेमा जोड दिए । उक्त अवसरमा मन्त्री कँडेलले प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश नं २ का मुख्यमन्त्रीलाई गण्डकी प्रदेश भ्रमणका लागि पठाएको निम्तो नाट्टा प्रदेश नं २ मार्फत हस्तान्तरण गरे । त्यस्तै नाट्टा गण्डकी प्रदेशका तर्फबाट नाट्टा प्रदेश नं २ लाई पर्यटन व्यवसायी, स्थानीय तहका प्रतिनिधिसहित पोखरा भ्रमणका लागि निमन्त्रणा दिइयो ।

नाट्टा गण्डकी प्रदेशका महासचिव कमला गिरीले तीन दिने अवलोकन भ्रमण एवं अन्तरक्रिया प्रभावकारीरूपमा सफल बनेको बताउँदै आगामी दिनमा दुवै प्रदेशबीचको पर्यटकीय साझेदारी बढेर जाने विश्वास व्यक्त गरे । मन्त्री कँडेलसहितको टोली आजै सिमराबाट हवाई उडानमार्फत पोखरा फर्किएको छ । रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।