ताजा अपडेट »

नेपालमा सहयोग गर्न अमेरिकामा चित्रकला प्रदर्शनी

विहीबार, १७ भदौ २०७८, १८ : ३७
2 Shares

काठमाडौं । नेपालमा बालबालिकाका क्षेत्रमा सहयोग गर्न इन्गेज नेपालको आयोजनामा अमेरिकाको भर्जिनियामा दुईदिने चित्रकला प्रदर्शनी सुरु गरिएको छ । भर्जिनियाको रेष्टन आर्ट ग्यालरीमा आजसम्म चल्ने प्रदर्शनीमा नेपालका चित्रकलाको विभिन्न ६० वटा चित्र प्रदर्शनीमा राखिएको छ । नेपालका किरण चित्रकारले तयार पारेको ती चित्रकलाको प्रदर्शनी तथा बिक्रीसमेत गरिने छ । युगाण्डाका चित्र पनि प्रदर्शनीमा राखिएको छ ।

आयोजक संस्थाका कार्यकारी निर्देशक तथा नेपालका लागि अमेरिकाका पूर्वराजदूत स्कट एच डेलेसीका अनुुसार चित्रकलाको बिक्रीबाट आएको रकम पिकु र नेपाल कोरिया फ्रेण्डशीप म्युनिसियल अस्पतालको सहयोगमा निर्मित अस्पतालको बाल उपचार सघन कक्ष निर्माणका लागि सहयोग गरिने छ ।

पूर्वराजदूत डेलिसीको प्रयासमा सन् २०१५ को डिसेम्बरमा स्थापना भएको इन्गेज नेपालले नेपालमा विभिन्न १६ वटा आयोजना सञ्चालनमा ल्याएको छ । अमेरिकामा स्थापित संस्थाले कोरोना महामारीका बेलामा समेत आवश्यक पर्ने स्वास्थ्य सामग्री र उपकरण सहयोग गरेको थियो ।

सन् २०२१ मा संस्थाले दुई लाख ११ हजार डलर बराबरको सहयोग गरिसकेको छ । आफ्नो अवकाश जीवन व्यतित गरिरहेका डेलिसीले नेपाल केन्द्रित भएर सहयोग गर्दै आएका छन् । पूर्वराजदूत डेलेसीले भने, “मैले दशकौँ वर्ष राज्यको अङ्गमा बसेर सेवा गरेँ, मेरो जीवनमा नेपाल र नेपाली जनतासँगको सामिप्यताले महत्वपूर्ण भूमिका खेलेको छ । खासगरी नेपालीको हार्दिकता र आत्मीय भावले उनीहरुको साझा चुनौतीलाई हातेमालो गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेका हौँ ।”

नेपाली बालबालिकाका लागि जटिल प्रकृतिको रोग निराकरण गर्न सघन उपचार कक्ष अतिआवश्यक विषय हो । एक तथ्याङ्कअनुसार नेपालमा रहेका करिब ९० लाख बालबालिकाका लागि नेपालभरि जम्मा ९३ वटा सघन उपचार कक्ष रहेको छ । रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।