ताजा अपडेट »

मर्चवारी अध्यक्ष लोकतान्त्रिक समाजवादीमा

विहीबार, १७ भदौ २०७८, १५ : १८
4 Shares

भैरहवा । रुपन्देहीको मर्चवारी गाउँपालिकाका अध्यक्ष केशवनन्द बनियाले लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् । बनिया सहित मर्चवारी गाउँपालिकाका ४ जना जनप्रतिनिधिले आज निर्वाचन कार्यालय रुपन्देहीमा लोकतान्त्रिक पार्टीमा रहने गरि सनाखत गरेका छन् ।

अध्यक्ष बनियासंगै गाउँपालिकाका कार्यपालिका सदस्य पूनम मिश्रा, सुनिता हरिजन र राजेश हरिजनले पनि जनता समाजवादी पार्टी फुटेर बनेको लोकतान्त्रिक समाजवादीमा पार्टी रोजेर निर्वाचन कार्यालयमा सनाखत गरेको रुपन्देहीका जिल्ला निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीले जानकारी दिए ।

लोसपा रोजेका गाउँपालिका केशवनन्द बनिया तत्कालीन मधेशी जनाधिकार फोरमबाट निर्वाचन जितेका थिए । उनिसंगै गाउँपालिकाका अन्य प्रतिनिधिहरु पनि लोसपामा आउने केन्द्रिय कार्यकारिणी सदस्य निलम यादवले जानकारी दिईन । “गाउँपालिका उपाध्याक्ष सहितका केही आईतबार सनाखत गर्न आउदै छन् । जिल्लाका अन्य पालिकाका प्रतिनिधिहरु पनि लोसपा रोजेको र २२ गते भित्र सबैलाई निर्वाचन कार्यालयमा सनाखत गराउदै छौं ।” यादवले भनिन्

सनाखतको लागी आएका मर्चवारी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष राम अचल कुर्मिको भने सनाखत हुन सकेन । तत्कालीन मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक) बाट निर्वाचित कुर्मिले फोरम लोकतान्त्रिक नेपाली कांग्रेसमा समाहित हुदा जनता समाजवादी पार्टी रोजेका थिए । उनले जनता समाजवादी पार्टीमा प्रवेश गरेको प्रमाणित हुने गरि कागजात पेश गरे मात्र सनाखत हुने भएको छ ।

वर्तमान देउवा सरकारले राजनैतिक दल फुटाउने सम्बन्धि ल्याएको अध्यादेश पछि नेकपा एमाले फुटेर नेकपा (एकिकृत समाजवादी) पार्टी र जनता समाजवादी पार्टी फुटेर लोकतान्त्रिक समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएका छन् । सोही अनुसार नै यहि भदौ २२ गते कार्यालय समयभित्रको समय दिएर नया दर्ता भएको दलमा लाग्ने जनप्रतिनिधिको हकमा निर्वाचन कार्यालयमा सनाखत गर्ने समयसिमा तय भएको छ ।

प्रदेश कमिटीको हकमा प्रदेशका निर्वाचन कार्यालय र जिल्लाको हकमा सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा जनप्रतिनिधि आफै पुगेर सनाखत गर्नु पर्ने हुन्छ । सनाखत गर्न नेपाली नागरिकताको प्रमाण पत्र वा निर्वाचन आयोगले जारी गरेको मतदाता परिचय पत्र र निर्वाचन आयोगले प्रदान गरेको निर्वाचित जनप्रतिनिधिको प्रमाण पत्र वा सम्बन्धित स्थानिय तहको प्रमाणित परिचय पत्र अनिवार्य रहेको जिल्ला निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीले जनाकारी दिए ।

उनले भदौ २२ गते कार्यालय समय भित्र सनाखतको अन्तिम समयावधि तोकेको र अहिले सम्म लोकतान्त्रिक समाजवादी पार्टीको लागी मात्र सनाखत गर्न आएको बताए । नेकपा एमाले फुटेर बनेको अर्को दल नेकपा (एकिकृत समाजवादी) पार्टीका तर्फबाट अहिले सम्म कोही पनि सनाखतको लागी कार्यालयमा नआएको भण्डारीले बताए ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा