ताजा अपडेट »

खोला तरेर दूध बिक्री गर्ने बाध्यता

विहीबार, १७ भदौ २०७८, १४ : ३४
6 Shares

दमौली । पक्की पुलको विकल्पमा निर्माण गरिएको अस्थायी डाइभर्सन बगाएपछि तनहुँको व्यास नगरपालिका–१३ बेलवासका कृषक जोखिमपूर्ण तरिकाले खोला तरेर दूध बिक्री गर्न बाध्य भएका छन् । गत असार १७ गते आएको बाढीले व्यास नगरपालिका–१ र १३ जोड्ने छाब्दीखोलाको पुल बगाएपछि नगरपालिकाले असार २७ गते अस्थायी डाइभर्सन बनाएको थियो । उक्त डाइभर्सन पनि सोमबारको बाढीले बगाइदिएपछि कृषक थप मारमा परेका हुन् । छाब्दीखोलामा १८ वर्ष अगाडि पक्की पुल निर्माण भएको थियो ।

अस्थायी डाइभर्सन निर्माणपछि केही सहज भएको यहाँका कृषकलाई पुनः सास्ती भएको बेलवासका कृषक राजन सापकोटाले जानकारी दिए । “पुल भत्किए लगत्तै पनि यहाँका कृषकले दुः ख पाए, अहिले फेरि दुः ख भयो,” उनले भने, “पुल भत्किएको दश दिनपछि अस्थायी डाइभर्सन बनेकाले सहज भएको थियो, फेरि खोला तरेरै दूध बिक्री गर्न आउनुपरेको छ ।”

दूधको क्यान बोकेर खोला तर्दा जोखिम भएको उनले बताए । “केही दिनदेखि परेको झरीले छाब्दीखोला बढेपछि डाइभर्सन पनि बगायो, अहिले क्यान बोकेर खोला तर्नुपर्दा जोखिम छ”, उनले भने । छिटोभन्दा छिटो पक्की पुल निर्माण नभएसम्म यहाँका कृषकलाई सास्ती भइरहने सापकोटाको भनाइ छ । बेलबासमा ६० भन्दा बढी कृषकले दैनिक रुपमा दूध बिक्री गर्ने गर्दछन् । यहाँबाट दैनिक डेढ लाख भन्दा बढीको दूध बिक्री हुन्छ । “डाइभर्सन भत्किएसँगै पशुलाई खुवाउने दाना ढुवानीमा पनि समस्या आउन सक्छ”, उनले भने, “कृषकको समस्यालाई सरोकारवालाले छिटो समाधान गर्नेतर्फ लागोस् ।”

बेलबासबाट दैनिक दुई हजार लिटर भन्दा बढी दूध उत्पादन हुने र उक्त दूध सबै सदरमुकामस्थित डेरीबाट बिक्री हुने गरेकामा खोलाको पुल र डाइभर्सन बगाएपछि कृषक मारमा परेको बेलबास दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष लक्ष्मीकान्त मिश्रले जानकारी दिए । डाइभर्सन बगाएपछि स्थानीयवासीलाई वारपार गर्न पनि समस्या भएको स्थानीयवासी मेघराज आचार्यले बताउनुभयो । “यस्तो पीडा यहाँका जनताले कति दिन सहने हो”, उनले भने, “समस्याका बारेमा सबै जानकार भए पनि समाधानमा किन ढिला भइरहेको छ बुझ्न सकेका छेनौं ।”

पुल भत्किएर डाइभर्सन बनेपछि यातायात पनि सञ्चालन भइरहेको थियो । तर डाइभर्सन पनि बगाएपछि यातायात अवरुद्ध भएको छ । बुद्धसिं मार्ग अन्तर्गत गर्ने यस ठाउँमा यातायात अवरुद्ध भएपछि दक्षिण भेगसँगको सम्पर्क टुटेको स्थानीयवासी यामबहादुर आलेले बताए । यही पुल हुँदै व्यास–१३ को बेलवास, पोखरीभञ्ज्याङ, व्यास–१४ को केशवटार, सुढे, ऋषिङको हुस्लाङ, गुम्लेक, देवघाट, आँबुखैरेनी, बन्दीपुरलगायतका ग्रामीण भेगका बासिन्दा आवतजावत गर्दथे ।

यस ठाउँमा बेलिब्रिज जडानका लागि पूर्वाधार निर्माणको काम भइरहेको छ । भानु नगरपालिका–३ तुरतुरेमा रहेको बेलिब्रिज झिकेर यहाँ राख्नका लागि दुवैतर्फ जीप तयार भइसकेको पूर्वाधार विकास कार्यालयका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिए । तर तुरतुरेमा रहेको बेलिब्रिजको केही भाग गत भदौ १ गते बगाइदिएको छ । “बेलिब्रिजको केही भाग ल्याइसकिएको थियो, केही भने मस्र्याङ्दीमा आएको बाढीले बगाइदियो, त्यसकारण पनि केही ढिला हुनगएको छ”, उनले भने, “अब अर्को ठाउँबाट ल्याउनका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराएका छौ ।” -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।