ताजा अपडेट »

रुपन्देहीमा कांग्रेस महाधिवेशनको चहलपहल

बुधबार, १६ भदौ २०७८, २० : ५२
4 Shares

बुटवल । सत्तारुढ दल नेपाली कांग्रेसमा चुनावी चहलपहल बढेको छ । पार्टीको आसन्न १४ औं महाधिवेशन नजिँकिएसँगै देशभर चुनावी सरगर्मी बढेको हो । कांग्रेसको केन्द्रीय निर्वाचन कार्यतालिका अनुसार देशभर यही भदौं १८ गते वडाको अधिवेशन हुन लागेको छ । अधिवेशन नजिँकिएसँगै नेता तथा कार्यकर्ताहरु राजधानी लगाएतका ठाउँबाट गृह जिल्लामा फर्कने क्रम बढेको छ ।

यस्तै, नेपाली कांग्रेस रुपन्देहीमा पनि चहलपहल बढेको छ । ५ संघीय, १० प्रदेश निर्वाचन क्षेत्र, १६ स्थानीय तह र १५५ वडा रहेको रुपन्देहीमा कांग्रेसका नेता तथा कार्यकर्ता उत्साहित छन् । केन्द्रीयस्तरका नेताले आफ्ना कार्यकर्तासँगको भेटघाट र छलफल बाक्लिन थालेको छ । पटक-पटक सर्दै आएको महाधिवेशन यसपाली हुने पक्कापक्की भएपछि रौनक थपिएको रुपन्देहीका युवा नेता विष्णु पोखरेल बताउँछन् ।

कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका नेता–कार्यकर्ताहरु पनि हौसिएका छन् । विद्यार्थी नेताहरु पनि जागरुक हुन थालेको विद्यार्थी नेता सुरज क्षेत्री बताउँछन् । वडा अधिवेशन सुरु हुन २ दिन बाँकी रहँदा चुनावमा भिड्न आकांक्षी नेता तथा कार्यकर्ताहरु आन्तरिक बैठक, छलफल र भेलामा जुटेका छन् । पूर्वनिर्धारित कार्यतालिका अनुसार १८ गते हुने वडाको अधिवेशनबाट चुनिने नेतृत्वसँगै पालिका, प्रदेश र जिल्ला अधिवेशनमा भाग लिन पाउने प्रतिनिधिसमेत छनोट हुनेछन् ।

केन्द्रले पठाएका जिल्ला मुख्य निर्वाचन अधिकृत भेषराज घिमिरे रुपन्देही आईसकेका छन् । निर्वाचनको लागि चाहिने आवश्यक सामग्रीसहित रुपन्देहीका आएका घिमिरेले महाधिवेशनको आवश्यक तयारी सुरु गरिसकेका छन् । उनले प्रत्येक वडामा निर्वाचन अधिकृत खटाईने तयारी भइरहेको बताए । निर्वाचन समितिले स्थानीय स्तरमा सहकार्य गरि अधिवेशन गर्ने र १८ गते सम्पन्न हुन नसकेका स्थानमा सहमतिमा अर्को दिन पनि निर्वाचन हुन सक्ने उनको भनाई छ ।

हरेक वडामा हुने अधिवेशनका लागि सहमतिमा सर्वसम्मत् नेतृत्व चयनको लागि प्रयास हुने र सहमति नभएमा चुनावबाट चुन्ने गरी निर्वाचन समितिले तयारी गरेको छ । कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले पार्टीको तर्फबाट सम्बन्धित तहका नेता, कार्यकर्तालाई जानकारी गराउने काम भइसकेको बताउँछन् । उनले पार्टी केन्द्रबाट क्रियाशील सदस्यता टुङ्गिएर आइसकेको र मुख्य निर्वाचन अधिकृतले वडामा परिचालन हुने शिक्षकलाई आवश्यक प्रशिक्षण र सहजीकरण गरिसकेको जानकारी दिए । उनले आवश्यक सामग्रीसहित सबै वडामा निर्वाचन टोली परिचालन गर्ने बतारी भइरहेको बताए ।

रुपन्देहीमा नेपाली कांग्रेसका क्रियाशील सदस्यहरुको संख्या करीब २२ हजार रहेको छ । पार्टी केन्द्रले सार्वजनिक गरेको क्रियाशील सदस्यको विवरण अनुसार, रुपन्देहीमा पुराना नवीकरण भएका ११ हजार र नयाँ थप भएका ११ हजार गरि करिब २२ हजार क्रियाशील सदस्य रहेको नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले जानकारी दिए ।

पालिका, प्रदेश निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनका लागि वडाबाट चुनिने प्रतिनिधि नै निर्णायक हुने भएकाले यतिबेला वडास्तरमा व्यापक बहस र छलफलले व्यापकता पाएको छ ।

वडा महाधिवेशन संघारमा प्रशिक्षण
नेपाली कांग्रेस रुपन्देहीले वडा महाधिवेशनको संघारमा जिल्लाका प्रत्येक वडा, पालिका र क्षेत्रीय सभापतिहरुलाई प्रशिक्षण दिएको छ । कांग्रेसले अधिवेशनको तयारी, निर्वाचन निर्देशिका तथा कार्यविधीबारे बुधबार पार्टी कार्यालय भैरहवामा जिल्लाका १ सय ५५ वडा सभापति, पालिका, क्षेत्रीय सभापतिहरुलाई प्रशिक्षण दिएको हो ।

सो अवसरमा कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जिल्लामा सर्वसम्मत नेतृत्व चयनको लागी अधिकतम प्रर्यत्न गर्ने र वडा तहमा खटिने निर्वाचनकर्मीहरु सहयोग गर्न आग्रह गरेका थिए । पूर्व जिल्ला सभापति रामचन्द्र ढकालले अधिवेशन एउटा पर्व रहेको भन्दै सबैलाइ सक्रिय रुपमा सहभागी हुन आग्रह गरेका थिए ।

सुरज घिमिरे
लेखकको बारेमा
सुरज घिमिरे