ताजा अपडेट »

नवनियुक्त सचिवलाई अर्थ मन्त्रालयमा स्वागत

आइतबार, १३ भदौ २०७८, २१ : ०२
2 Shares

काठमाडौं । अर्थ मन्त्रालयले नवनियुक्त राजस्व सचिव र महालेखा नियन्त्रणलाई स्वागत गरेको छ । मन्त्रालयमा आयोजित स्वागत समारोहमा अर्थमन्त्री जनार्दन शर्माले राजश्व सचिव कृष्णहरि पुष्कर कर्ण र महालेखा नियन्त्रकको जिम्मेवारी पाएका सचिव सुमनराज अर्याललाई स्वागत गरेका हुन् । योसँगै अर्थ मन्त्रालयमा उच्च पदस्थ अधिकारीको नयाँ टिमले पूर्णता पाएको छ ।

नवनियुक्त सचिवलाई स्वागत गर्दै मन्त्री शर्माले मन्त्रालयअन्तर्गत तीन सचिवको विशिष्ट जिम्मेवारीलाई एकीकृत कार्यप्रणालीको माध्यमबाट सम्पादन गर्न निर्देशन दिए । वित्त व्यवस्थापन (मूलतः अर्थोपार्जन), त्यसको समूचित वितरण र अनुगमनको जिम्मेवारीमा रहेका सचिवबाट आआफ्नो विशिष्टता अनुसारको परिणाममुखी भूमिका निर्वाह हुने विश्वास अर्थ मन्त्रीले व्यक्त गरे । त्यस क्रममा मन्त्री शर्माले यसअघि आफूले राजस्व वृद्धि, भन्सार, सार्वजनिक संस्थान, अनुगमन, अध्ययन अनुसन्धानलगायत विषयमा आफूले माग गरेका योजना यथाशक्य चाँडो पेश गर्न निर्देशन दिए ।

अर्थ सचिव मधुकुमार मरासिनीले अर्थतन्त्रका सूचकमा सकारात्मक परिणाम दिन सके मात्र आफूले काम गरेको ठहर्ने भएकाले सोहीअनुसार खटिनुपर्नेमा जोड दिए । उनले राजस्व वृद्धि, पुँजीगत खर्च क्षमताको वृद्धि र वित्तीय अनुशासन कायम गर्ने विषयमा सकारात्मक परिणाम दिनैपर्ने आवश्यकता औँल्याउँदै सचिव मरासिनीले संविधानको भावना र वर्तमान सरकारको भिजनअनुसार समाजवादी अर्थतन्त्र निर्माणको जग बसाल्ने जिम्मेवारी आफूहरूमा रहेको बताए ।

स्वागत कार्यक्रममा नवनियुक्त राजश्व सचिव कृष्णहरि पुष्कर कर्णले कर्मचारी प्रशासनमा अनुभवी व्यक्ति धेरै रहेको तर ‘पर्फमर’ कम देखिएको स्वीकार गर्दै देशभर रहेका अन्य सरकारी कार्यालयले स्वामित्व महसुस गर्ने गरी काम गर्ने गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले कर दातामैत्री सेवा प्रवाहमा जोड दिनुका साथै राजस्व तथा भन्सार प्रशासनमा ‘इम्पोर्टेड ट्रेन्ड’ भन्दा ‘होम ग्रोन ट्रेन्ड’ का आधारमा काम गरिने बताए । नवनियुक्त महालेखा नियन्त्रक सुमनराज अर्यालले नीतिगत सुधार व्यावसायिक दक्षता र सूचना प्रविधिको उच्चतम प्रयोग गरेर महालेखाको कार्य प्रणालीलाई थप सुदृढ गर्ने प्रतिबद्धता जनाए । उनले सरकारी खर्च प्रणालीमा वित्तीय अनुशासनको पक्ष महत्वपूर्ण रहेकोमा जोड दिँदै त्यसको लागि आफ्नो तर्फबाट सक्दो योगदान हुने विश्वास दिलाए । रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।