ताजा अपडेट »

पाल्पा-श्रीनगर समाज हङकङद्वारा अग्निपीडितलाई १ लाख ८० हजार सहयोग

शनिबार, १२ भदौ २०७८, १७ : ०३
8 Shares

बुटवल । पाल्पाबाट हङकङमा गई बसोबास गरेकाहरुको समूह पाल्पा-श्रीनगर समाज, हङकङले आगलागीबाट प्रभावित भएका दुई जनालाई आर्थिक सहयोग गरेको छ । समाजले घर र गोठ आगलागीबाट प्रभावित भएका माथागढी गाउँपालिका–७ का दानबहादुर लम्काहा मगर र असबहादुर लाम्काहालाई १ लाख ८० हजार नगद सहयोग गरेको हो।

उनीहरुको घर र गोठमा गत वर्षको चैत्रमा आगलागी हुँदा पूर्णरुपमा क्षति भएको थियो । शनिबार एक समारोहका बीचसमाजका सल्लाहकार , बुटवलका केसर राज थापाले सो सहयोग रकम हस्तान्तरण गरेका हुन् । उनले घर आगलागी भएका दानबहादुर लामकाहा मगरलाई रु १ लाख ३० हजार र गोठ आगलागी भएका असबहादुर लामकाहा मगरलाई रु ५० हजार हस्तान्तरण गरेका हुन्।

समाजका सल्लाहकार थापाले आफ्नै देश तथा जिल्ला भित्रका दाजु–भाईको घर गोठमा आगलागी भएको खबरपछि हङकङमा रहेका नेपालीहरुले आर्थिक संकलन गरेर पठाएको नगद सहयोग राहत स्वरुप प्रदान गर्दै रकमको सही सदुपयोग गर्न सुझाय । सहयोग प्राप्त गरेकाद्वय मगरले घर र गोठ जलेको पीडामा विदेश रहेका नेपाली दाजुभाइहरुले दिएको सहयोगले मल्हम लगाए जस्तै भएको बताउँदै धन्यवाद दिए । उनीहरुले घर र गोठ जलेर ध्वस्त भएको र पुनः नयाँ निर्माण गरेको बताए । स्थानीय छिमेकी र तहको सहयोगमा घर निर्माण गरेपनि अन्य अत्यावश्यक सामग्रीको अभावमा प्राप्त सहयोगले ठूलो सहयोग पुग्ने बताए।

विदेशमा भएपनि आफ्नो देश र गाउँमा समस्या पर्दा र दाजु–भाईलाई दुःख पर्दा जे–जसरी सहयोग गर्न सकिन्छ,त्यसरीनै गरौं भनेर आर्थिक संकलन गरेर पठाएको र सल्लाहकारमार्फत हस्तान्तरण गर्न अनुरोध गरिएको समाजका अध्यक्ष पूर्ण दर्लामीले बताए । समाजले यस अघिपनि नेपालमा विभिन्न सहयोग गर्दै आएको समाजका महासचिव झलक थापाले बताए। उनले समाजमा पाल्पाबाट हङकङ गएका २७ जना आवद्ध रहेको र १७ जनाको कार्यसमिति तथा १० जना सल्लाहकार रहेको बताए। सहयोग हस्तान्तरण कार्यक्रममा सहजीकरण गर्ने रतन कंडेल, स्थानीय अमर काम्मु मगर लगाएतको सहभागिता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।