ताजा अपडेट »

पूर्व-पश्चिम राजमार्गका दुई पुल भासिए, 'नदी दोहन र ओभरलोड' प्रमुख कारण

शुक्रबार, ११ भदौ २०७८, १९ : २७
8 Shares

बुटवल । अनियन्त्रित रुपमा नदी दोहन र ओभर लोडका कारण मुलुककै पुरानो र मूख्य राजमार्ग पूर्व–पश्चिम राजमार्गका दुई वटा पुल भासिएका छन् । पुल भासिएपछि राजमार्ग नै अवरुद्ध भएको छ । रुपन्देहीको देवदहमा रहेको घोडाहा पुल र नवलपरासीको तुरतुरे खोलाको पुल भासिएपछि राजमार्ग अवरुद्ध भएको छ ।

दैनिक हजारौंका संख्यामा सवारीका साधन चल्ने मुख्य सडककै पुल भासिएपछि आवागमन प्रभावित भएको छ । नदि दोहन र ओभर लोडका कारण जीर्ण बनेका पुल बिहीबार साँझदेखि परेको अविरल वर्षासँगै आएको बाढीले भासिएको हो । रुपन्देहीको घोडाहामा रहेको ६१ दशमलव ४ मिटर लामो पुलको ४ पिल्लर मध्ये बीच भागमा रहेको पिल्लर नै भासिएपछि राजमार्ग अवरुद्ध बनेको छ ।

फाउण्डेशन क्षेत्रमा उत्खनन् गर्दा पुल भासियोः सडक डिभिजन

करिब ५० वर्ष पुराना ति पुल क्षेत्रमा अत्याधिक दोहन हुनुका साथै ओभर लोडका कारण पनि पुल भासिएको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले बताए । पुल क्षेत्रबाट कम्तिमा ५ सय मिटर तल–माथि गिट्टी बालुका उत्खनन् गर्न नमिल्ने भएपनि सो अनुसार नभएको उनले बताए । यसैगरी ४ लेन सडक विस्तारका क्रममा अर्को पुल निर्माणका लागि फाउण्डेशन खन्ने क्रममा पुलको पिल्लर क्षेत्रको जमिन गहिर्याउँदा असर परेको उनले बताए ।

अनुगमनका लागि सो क्षेत्रमा पुगेका मरासिनीले क्षतिको सम्पूर्ण विवरण तथा क्षति हुनुका कारण बारे सम्पूर्ण तथ्याङ्क निकाल्न बाँकी रहेको बताए । पुल भासिनुमा ओभर लोड पनि कारण रहेको उनले बताए । सामान्यतया १० देखि ४० टन क्षमताका उक्त पुलमा दैनिक ७० देखि ८० टनसम्मका लोडसहित सवारी गुड्दा संरचना थप जीर्ण बन्ने गरेको उनले बताए । ‘आरसीसी’ प्रविधिको प्रयोग गरी बनाइएका पुल मर्मतका लागि खोलामा पानीको वहाव बढी भएकाले तत्काल सम्भव नभएको सडक डिभिजन कार्यालय बुटवलका ईन्जिनियर कृष्णबहादुर कुंवरले ग्लोबल आवाजलाई जानकारी दिए ।

‘मर्मतका लागि पुल उठाएर पिल्लरको फाउण्डेशन बनाउन पानीको बहाब कम भएपछि मात्रै सम्भव छ ।’–कुंवरले भने ‘यदि त्यो विकल्पले काम गरेन भने अन्य विकल्पको बारेमा पनि अध्ययन गर्दैछौं ।’ घोडाहा पुल भत्किएर अवरुद्ध भएपछि तत्कालका लागि डाइभर्सन निर्माण गरी सडक सुचारु गर्न सक्ने विकल्प भए पनि नवलपरासीको तुरतुरेमा भने डाइभर्सन बनाउन असम्भव देखिएको उनले बताए । तुरतुरे खोलामा रहेको ६८ दशमलव ४ मिटर लामो पुलका ५ पिल्लर मध्ये २ वटा पिल्लर भासिएका छन् ।

अत्याधिक नदी दोहन भयो : स्थानीय

त्यस क्षेत्रका एक स्थानीयले विगतका वर्षहरुमाभन्दा यो वर्ष गिट्टी बालुका बढी उत्खनन् गर्दा समस्या भएको बताए । रातको समयमा समेत गिट्टी बालुका चोरी निकासी हुने तथा स्थानीय निकायलेसमेत मुख्य आम्दानीको रुपमा नदी उत्खनन्लाई प्राथमिकता दिनु गलत भएको उनले बताए । यसैगरी बुटवल–नारायणघाट चार लेन सडक विस्तारको क्रममा निर्माण कम्पनीले नयाँ पुल बनाउनका लागि पुरानो पुलको संरचनालाई नै असर गर्नेगरी उत्खनन् गर्दा कमजोर भई भासिएको स्थानीयहरु बताउँछन् ।

देवदह नगरपालिकाले घोडाहा खोलाबाट गएको वर्ष ३९ हजार ९ सय ७४ घटमिटर गिट्टी बालुवा निकासी गरेको थियो । नगरपालिकाका योजना शाखाका ईन्जिनियर रवि पाण्डेका अनुसार हाल भासिएको पुलभन्दा ५ सय मिटर माथिका क्षेत्रबाट विभिन्न ३ वटा गौरवका आयोजनाका नाममा २३ हजार घनमिटर नदिजन्य पदार्थ निकासा गरिएको थियो । उक्त क्षेत्रमा ३५ हजार घनमिटर निकासा गर्ने योजना भए पनि कम निकासा गरिएको बताए । यसैगरी पुलभन्दा ५ सय मिटर तल रहेका टटेरा–बसन्तपुर खण्डबाट १६ हजार ९३७ दशमलव ७४ घनमिटर गिट्टी बालुवा निकासी गरिएको योजना शाखाका ईन्जिनियर पाण्डेले बताए ।

नगरपालिकाले नदिजन्य पदार्थको निकासीका लागि गरेको अध्ययन प्रतिवेदन आईई अनुसार कम परिमाणमा मात्रै निकास गरे पनि विगतका वर्षहरुमाभन्दा यो वर्ष निकासा बढी भएको स्थानीयहरु बताउँछन् । यसैगरी यस क्षेत्रमा विभिन्न समया नदिजन्य पदार्थको चोरी निकासी हुने गरेको गुनासाहरु स्थानीयले सुनाउने गरेका छन् ।

योजना शाखाका ईन्जिनियर रवि पाण्डेले भने नगरपालिकाबाट नदीजन्य पदार्थको निकासीले पुलको संरचनामा असर गर्न नसक्ने बताउँछन् । उनका अनुसार बुटवल–नारायणघाट चार लेन सडक बनाउने क्रममा निर्माण कम्पनीले पुल नजिकैको क्षेत्रमा मापदण्ड विपरित उत्खनन् गर्दा पनि समस्या भएको हो । निर्माण कम्पनीले ढुङ्गा, गिट्टी तथा बालुवा आफै व्यवस्था गर्नु पर्ने भए पनि नियम विपरित सोही ठाउँबाट उत्खनन् गरेको पाइएपछि नगरपालिकामा बोलाएर सचेत गराउने काम समेत भएको उनले बताए ।

ओभर लोडका कारण पुल भासियो : व्यवसायी

नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले भने ओभर लोडकै कारण पुल भासिएको बताएका छन् । घोडाहा र तुरतुरेमा पुल भासिएपछि स्थलगत अनुगमनमा पुगेका उनले विशेष गरी सडक क्षमताभन्दा बढी लोड भएका भारतीय गाडीहरु गुड्दा पुलमा क्षति भएको उनी बताउँछन् । यसैगरी महासंघका लुम्बिनी प्रदेशका संयोजक यामप्रसाद पाण्डेले पनि ओभर लोड नै पुल भासिनुको प्रमुख कारण भएको बताउँछन् ।

सरकारले सडक क्षमताभन्दा बढी लोडका भारतीय सवारीहरुलाई निर्वाध सञ्चालन गर्न दिँदा यसैगरी पुलहरु भासिनुका साथै सडक जीर्ण बन्ने उल्लेख गरे । मापदण्डभन्दा बढी तौल बोक्ने नेपाली वा भारतीय कुनै पनि मालवहाक गाडिहरुलाई सडकमा गुड्न नदिन सरकारले कडाईका साथ नियमन गर्नु पर्ने बताउँदै उनले यसका लागि सम्बन्धित पक्षको ध्यान जान आवश्यक रहेको बताए ।

पश्चिमाञ्चल यातायात व्यवसायी समितिका महासचिव जितबहादुर भातले पनि ओभर लोडलाई राज्यले नियन्त्रण गर्न नसक्दा करोडौंको क्षति व्यहोर्नु परेको बताउँछन् । पुर्व-पश्चिम राजमार्गमा भासिएका पुलको स्थलगत अध्ययनमा पुगेका उनले सडक तथा पुलहरु जीर्ण बन्नुको प्रमुख कारण ओभर लोड नै रहेको दाबी गरे ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।