ताजा अपडेट »

चार सय ७२ परिवारलाई धुवाँरहित चुलो वितरण

शुक्रबार, ११ भदौ २०७८, १४ : ३४
54 Shares

डोटी । जिल्लाको पूर्वी चौकी गाउँपालिका–२ बगलेकबासीले  चुलोमा खाना पकाउँदा आउने धुवाँबाट मुक्ति पाएका छन् । मानवीय सेवामा अनेकौं प्रयास (साइन नेपाल) नामक गैरसरकारी संस्थाले उक्त वडामा चार सय ७२ परिवारलाई धुवाँरहित फलामे चुलो वितरण गरेपछि धुवाँको समस्या हटेको हो । 

उक्त संस्थाको रु ८५ लाखको आर्थिक सहयोगमा वडाबासीलाई धुवाँरहित चुलो वितरण गरेको थियो । धुवाँले फोक्सो, निमोनिया र आँखाका समस्या समाधान हुने बताइएको छ । ती समस्याबाट जोगिन र दाउराको खपत समेत कम गर्न चुलो वितरण गरिएको संस्थाका कोषाध्यक्ष मेघराज भट्टले जानकारी दिए ।

वडाध्यक्ष योगेन्द्र ठकुल्लाले भने, “धुवाँ आउने चुलोले बालबालिकासहित घरका परिवारलाई निकै सास्ती थियो, अहिले धुवाँरहित चुलो आएपछि वडावासीलाई धुवाँको समस्याबाट मुक्ति मिलेको छ ।” जिल्लामा निःशुल्क रुपमा धुवाँरहित चुलो वितरण गर्ने उक्त संस्था पहिलो हो ।

नागरिकका स्वास्थ्यमा सुधार हुने तथा समाज स्वच्छ हुनाका साथै वातावरणमा समेत सुधार हुने अपेक्षा लिइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले जानकारी दिए । निकट भविष्यमा पालिकाका सबै वडामा चुलो वितरण गर्ने योजना रहेको संस्थाले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।