ताजा अपडेट »

एक वर्षमा १० खर्ब विप्रेषण भित्रियो

विहीबार, १० भदौ २०७८, २० : ०३
4 Shares

काठमाडौं । कोरोना कहरका कारण प्रमुख श्रम गन्तव्यमा नेपाली कामदारको गतिविधि कम भए पनि विप्रेषण आप्रवाहमा भने सकारात्मक प्रभाव देखिएको छ । सरकारले हुण्डी जस्ता अवैध कारोबारलाई नियन्त्रण गरेका कारण पनि वैधानिक माध्यमबाट विप्रेषण भित्रने क्रममा वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आव २०७७/७८ को विवरणअनुसार झण्डै रु १० खर्ब बराबरको विप्रेषण मुलुक भित्रिएको छ । 

केन्द्रीय बैंकका अनुसार विप्रेषण आप्रवाह ९.८ प्रतिशतले वृद्धि भई रु नौ खर्ब ६१ अर्ब पाँच करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ०.५ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ८.२ प्रतिशतले वृद्धि भई आठ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.३ प्रतिशतले घटेको थियो । 

आव २०७७/७८ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ६२.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो सङ्ख्या २०.५ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ४६.८ प्रतिशतले घटेको छ । 

अघिल्लो वर्ष यस्तो सङ्ख्या ३४.७ प्रतिशतले घटेको थियो । आव २०७७/७८ मा खुद ट्रान्सफर ९.१ प्रतिशतले वृद्धि भई रु १० खर्ब ७१ अर्ब ३५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर १.५ प्रतिशतले घटेको थियो । रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।