ताजा अपडेट »

दैनिक १२६ आपराधिक घटना

विहीबार, १० भदौ २०७८, २० : ००
4 Shares

काठमाडौं । चालू आवको साउनमा मलुकभर तीन हजार ९१६ अपराधका घटना भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा बढी सामाजिक अपराधका ८९१, ज्यानसम्बन्धीका ७१८, आत्महत्याका ५०२, चोरीका २९६, सङ्गठित/आर्थिक अपराधका ५४४, महिला बालबालिका विरुद्ध ४६६, सवारीसम्बन्धी १३२ मुद्दा दर्ता भएको छ । एक महिनाको प्राप्त तथ्याङ्कअनुसार दैनिक १२६ आपराधिक घटना भएको छ ।

यसैगरी हातहतियार तथा खरखजानासम्बन्धी २५, बाल यौन दुराचारका २५, अपहरण वा शरीर बन्धकका १४, मानव बेचबिखन तथा ओसारपसारका १७ मुद्दा दर्ता भएको जनाइएको छ । गत साउन महिनामा दर्ता भएका कूल तीन हजार ९१६ आपराधिक घटनामा ४ हजार ९०२ अभियुक्त संलग्न रहेका छन् । अपराधमा संलग्नमध्ये तीन हजार ७१६ पक्राउ परेका छन् । एक हजार १८६ फरार छन् । 

एक महिनामा अदालतबाट सजाय तोकिएका एक हजार ११९ फरार प्रतिवादी पक्राउ परेका छन् । उनीहरुबाट जरिवानाबापत रु ११ करोड ३० लाख ४९ हजार असुल भएको छ । एक महिनामा कूल रु ३६ करोड ४७ लाख ६५ हजार राजश्व सङ्कलन भएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । 

एक महिनामा एक हजार ८१८ सवारी दुर्घटनामा १६० को मृत्यु भएको छ भने ५४० गम्भीर घाइते भएका छन् । औसतमा प्रतिदिन ५८ सवारी दुर्घटना भएको  तथ्याङ्कले देखाएको छ ।

एक महिनामा कूल ३६१ लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएकोमा ५५६ मानिस पक्राउ परेका छन भने ३३५ किलो गाँजा र १९ किलो चरेश बरामद भएको छ । ५८ हतियार, ९७ राउण्ड गोली र ६ थान म्यागजिन बरामद गरिएको छ । अवैध हातहतियारसहित ३९ जना पक्राउ परेका छन् । साउन महिनामा ४३९ विपद्का घटनामा २३ ले ज्यान गुमाएका छन् भने ६९ जना घाइते भएका छन् । प्रहरी कर्मचारी विरुद्ध ४८ वटा उजुरी दर्ता भएकोमा १३ उजुरी फछ्र्यौट भएका छन् । कूल २०२ प्रहरी कर्मचारी विभागीय कारबाहीमा परेका प्रहरीले जनाएको छ । रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।