ताजा अपडेट »

मर्चवारका तीन पालिका गँहु जोनका लागि प्रस्तावित

विहीबार, १० भदौ २०७८, १७ : ४५
2 Shares

भैरहवा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत रुपन्देहीको मर्चवारी गाउँपालिका, सम्मरीमाई गाउँपालिका र कोटहीमाई गाउँपालिका गँहु बालीको लागि गहुँजोनको रुपमा प्रस्ताव गरिएको छ ।

मर्चवारी गाउँपालिकाको वडा नम्बर ४, ५, ६ र ७ सम्मरीमाई गाउँपालिकाको वडा नम्बर ४, ६ र ७ तथा कोटहीमाई गाउँपालिकाको वडा नम्बर ५, ६ र ७ चालु आर्थिक वर्षमा गहुँजोनमा परेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कार्यान्वयन ईकाइ रुपन्देहीले जानकारी दिएको छ । रुपन्देही र नवलपरासी (पश्चिम) कार्यक्षेत्र रहेको परियोजना कार्यान्वयन ईकाइ अन्तर्गत नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ६ पनि गहुँजोनको रुपमा प्रस्तावित भएको छ । यस्तै नवलपरासीकै प्रतापपुर गाउँपालिकाको वडा नम्बर ६, ७ र ८ तथा सुस्ता गाउँपालिकाको वडा नम्बर ४ र ५ केराजोनको लागी प्रस्तावित गरिएको कृषि अधिकृत जोगेन्द्र कान्दुले जानकारी दिए ।

आर्थिक बर्ष २०७८/०७९ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्यन ईकाइ रुपन्देहीबाट सञ्चालन हुने कार्यक्रमहरु सार्वजनिक गरिएको छ । बिहिबार भैरहवामा एक कार्यक्रमको आयोजना गर्दै रुपन्देही र नवलपरासीमा सञ्चालन हुने कार्यक्रमहरु सार्वजनिक गरिएका हुन । परियोजनाका सूचना अधिकारी समेत रहेका कान्दुले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्यन ईकाइबाट सञ्चालन हुने कुल बजेट ८ करोड ६७ लाख २४ हजार रहेको बताए । स्थानिय तह मार्फत सञ्चालन हुने पकेट बजेट तर्फ रुपन्देही र नवलपरासीको गरि ८ करोड १४ लाख र कृषि ज्ञान केन्द्र मार्फत सञ्चालन हुने ब्लकको बजेट दुवै जिल्लामा गरि २ करोड ५५ लाख ९५ हजार रहेको छ ।

रुपन्देही जिल्लामा स्थानिय तहहरुबाट सञ्चालन हुने पकेट क्षेत्रहरुको हकमा गत बर्ष सञ्चालन भएका कृषि तर्फका कार्यक्रमहरुलाई निरन्तरता दिने र प्रत्येक पालिकालाइ १२ लाखका दरले बजेट बिनियोजन भएको छ । यस्तै बाख्रा कार्यक्रमलाई पनि निरन्तरता दिईदै ७ लाख रुपैया प्रत्येक पालिकालाई बिनियोजन भएको छ । माछा तर्फ भने कन्चन गाउँपालिका र रोहिणी गाउँपालिकालाई निरन्तरता दिदै ८/८ लाख रुपैया छुट्टयाईएको छ ।

रुपन्देहीमा नया पकेट तर्फ तरकारी खेती सञ्चालनको लागी बुटवल, देवदह, तिलोत्तमा, मायादेवी, शुद्धोधन, मर्चवारी र कोटहीमाई गाउँपालिकामा १२ लाखका दरले बिनियोजन भएको छ । धान पकेट क्षेत्र सञ्चालनको लागी लुम्बिनी सांस्कृतिक नगरपालिका, सियारी, गैडहवा, ओमसतिया र सम्मरीमाईलाई पनि १२ लाखका दरले बिनियोजन गरिएको छ ।

रुपन्देहीको सिद्धार्थनगर नगर पालिका र रोहिणी गाउँपालिकामा गहुँको पकेट बनाउन १२ लाखका दरले बिनियोजन भएको छ । मकैको लागी भने सैनामैना नगरपालिकालाई १२ लाख रुपैया छुट्टयाईएको छ । यस गरि बाख्राको नया पकेट बनाउनको लागी बुटवल, सियारी र ओमसतियामा १५ लाखका दरले बजेट बिनियोजन गरिएको कृषि अधिकृत जोगेन्द्र कान्दुले जनाए । माछा पकेटको लागी देवदह नगरपालिकालाइ १५ लाख पनि छुट्टयाएको उनले बताए ।

स्थानिय तह स्तरमा सञ्चालन हुने गरि पकेट क्षेत्र पहिचान गर्ने र कृषि तथा पशुको उत्पादनको लागी पकेटको विस्तार गर्दै ब्लकमा परिणत गर्ने एवम रितले ब्लकहरु मिलाएर जोनको निर्माण गर्ने र जोनको माध्यमबाट सुपरजोन बनाई कृषिजन्य उद्योगमा रुपान्तरित गर्ने परियोजनाको उद्देश्य रहेको छ । कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यावसायिक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने सोच सहित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट संचालन हुने गरि सुरु भएको थियो । १० वर्ष परियोजना २०७३ साउनबाट सुरु भई २०८२ को असारमा सकिने परियोजना कार्यान्वयन ईकाइका प्रमुख नारायण काफ्लेले बताए ।

प्रमुख कृषि उपजहरुको विशिष्टीकृत क्षेत्रहरु निर्माण गर्ने, निर्यातयोग्य कृषि वस्तुहरुको मूल्य अभिवृद्धि गर्दै प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने, कृषिलाई सम्मानजनक नाफामुखी व्यावसायका रुपमा विकास गर्दै रोजगारीका अवसरहरु सृजना गर्ने र बहुसरोकारवाला निकायहरु बीचको कार्यमूलक समन्वय मार्फत प्रभावकारी सेवा प्रवाहको सुनिश्चितता गर्ने परियोजनाका लक्ष्य रहेका छन् ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा