ताजा अपडेट »

पुल निर्माणमा ढिलाइ हुँदा सास्ती

विहीबार, १० भदौ २०७८, १३ : १२
2 Shares

चितवन । हुलाकी सडकअन्तर्र्गत माडीमा निर्माणाधीन १० वटा पुलको निर्माणमा ढिलाइ भएको छ । विभिन्न समयमा ठेक्का सम्झौता भई काम थालिएकोमा म्याद सकिन लाग्दासमेत कामले गति लिन सकेको छैन । पुल निर्माण नहुँदा यस सडकमा यात्रा गर्ने माडी र ठोरीवासी प्रत्यक्ष रुपमा प्रभावित भएका छन् ।

माडी नगरपालिकामा खहरे खोला नागदबेली भएर घुमेका छन् । वर्षात्सँगै ती खोला उर्लीएपछि यातायातका साधन सञ्चालन हुन नसक्ने अवस्था देखिएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जका अनुसार माडी क्षेत्रमा निर्माणाधीन ११ वटा पुलमध्ये एउटाको मात्रै निर्माण सम्पन्न भएको छ भने अधिकांशको निर्माण काम १५ देखि ७० प्रतिशतसम्म मात्र सम्पन्न भएको छ ।

कार्यालयका इञ्जिनीयर सञ्जय ठाकुरका अनुसार विसं २०७४ मा सम्झौता भएर पुल निर्माणको ठेक्का पाएका व्यवसायीले विभिन्न समयमा म्याद थप गर्दासमेत निर्माण सम्पन्न गर्न नसकेको हो । विसं २०७४ चैत २८ गते सम्झौता भएको रिखोलाको पुल हालसम्म पनि सम्पन्न हुनसकेको छैन । विसं २०७७ असोज २७ गते सम्पन्न गर्नुपर्ने गरिएको सम्झौता पटकपटक म्याद थप हुँदासमेत काम हुनसकेको छैन । पछिल्लो पटक विसं २०७८ माघ २३ गतेसम्मका लागि म्याद थप भएको छ ।

रु १३ करोड ४२ लाख ६२ हजार ५३४ मा निर्माण सम्झौता भएको २५४ दशमलब ७५ मिटर लामो उक्त पुलको काम अहिलेसम्म २७ प्रतिशत मात्र सम्पन्न भएको इञ्जिनीयर ठाकुरले जानकारी दिनुभयो । यो पुल निर्माणका लागि लुम्बिनी प्रकृति जेभि काठमाडौँले ठेक्का सम्झौता गरेको छ । यो खोला माडी नगरपालिका(९ स्थित चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएकाले पुल निर्माणका लागि निकुञ्जले अवरोध गर्दै आएको उहाँको दाबी छ । बगाइ खोला पुलको निर्माण पनि ४५ प्रतिशत मात्र सम्पन्न भएको छ । सपना लोहनी जेभि काठमाडौँले विसं २०७४ असार २८ गते रु ८ करोड २४ लाख ९९ हजारमा ठेक्का सम्झौता गरेको भए पनि काम सम्पन्न हुनसकेको छैन ।

पछिल्लो पटक थप गरिएको म्यादसमेत सकिएको छ । विसं २०७८ साउन २५ गते दोस्रो पटक थप गरिएको समय पनि सकिएको र पुनः म्याद थपका लागि पत्राचार गरिएको छ । यो पुल १११ दशमलब १५ मिटर लामो रहेको छ । त्यस्तै घाघर खोलाको पुल १२७ दशमलब १ मिटर लामो रहेको छ । यो पुल निर्माण काम पनि ३० प्रतिशत मात्र सम्पन्न भएको छ । सपना लोहनी जेभि काठमाडौँले विसं २०७४ असार २८ गते रु आठ करोड ४२ लाख ६३ हजार ४०५ मा ठेक्का सम्झौता गरेको थियो ।

विसं २०७६ पुस ७ गते सम्पन्न गर्ने गरी सो ठेक्का लिएको र सो समयमा काम सम्पन्न नभएपछि २०७८ साउन २५ गते सम्मका लागि म्याद थप गरेको थियो । सो समयमा पनि कम्पनीले पुल निर्माण सम्पन्न गर्न सकेको छैन । यस पुलको पनि म्याद थपका लागि ठेकेदार कम्पनीले पत्राचार गरेको छ । माडीकै पतरे खोलाको पुल निर्माणको काम पनि १५ प्रतिशत मात्र भएको छ । ४१ दशमलब २ मिटर लामो यो पुल निर्माणको ठेक्का पाएका लोहनी एण्ड ब्रदर्स प्रालिले समयमा निर्माण सम्पन्न गर्न सकेको छैन् । रु तीन करोड ४० लाख ६२ हजारमा पुल निर्माण सम्झौता भएको थियो ।

विसं २०७४ असार ११ गते सम्झौता गरिएको सो पुलको निर्माण सम्पन्न गर्नुपर्ने समयावधि विसं २०७५ फागुन १० गते सकिएको थियो । पटकपटक सम्झौता थप गर्दा पनि समयमा काम नसकिएको इञ्जिनीयर ठाकुरले जानकारी दिए । थपिएको समयले विसं २०७७ असोज ९ गते काम सम्पन्न गर्नुपर्ने भए पनि काम नसकिएपछि पुनः समय थपका लागि कम्पनीले निवेदन दिएको कार्यालयले जनाएको छ ।

भालु खोलाको पुल १७ मिटर लामो छ । सो पुल निर्माणको काम ४० प्रतिशत मात्र सम्पन्न भएको छ । निर्माणका लागि विसं २०७६ असोज ५ गते रु तीन करोड १६ लाख १२ हजार ३५ मा ठेक्का सम्झौता भएको थियो । यसको समयावधि विसं २०७८ असोज ४ गते सम्पन्न गर्नुपर्ने हुन्छ । सम्झौताको मिति सकिनै लाग्दा पनि ३० प्रतिशत मात्र काम भएको छ । यो पुल नार्गाजुन जेभिले ठेक्का सम्झौता गरेको थियो । टुनामुना खोलाको पुल निर्माणको काम ३५ प्रतिशत मात्र सम्पन्न भएको छ । निर्माणका लागि पछिल्लो पटक थप गरिएको म्यादको समय सकिसक्दा पनि काम पूरा भएको छैन ।

विसं २०७४ असार २९ गतेको सम्झौताले विसं २०७६ असार २८ गते सम्पन्न हुनुपर्ने थियो । तर अहिले सम्म सो काम सम्पन्न हुनसकेको छैन । ६४ दशमलब १५ मिटर लामो सो पुल निर्माणका लागि रु पाँच करोड ३० लाख सात हजार ५४५ मा लुम्बिनी प्राकृतिक जेभिसँग सम्झौता भएको हो । पछिल्लो पटक २०७७ साल फागुन ६ गते सम्मका लागि समय थप गरिएको भए पनि काम सम्पन्न हुननसकेपछि पुनः म्याद थपका लागि प्रक्रिया अघि बढाइएको छ ।

२६ दशमलब दुई मिटर लामो बाँदरमुढे खोलाको पुलको निर्माणकार्य ३६ प्रतिशत मात्र सम्पन्न भएको निर्देशनालयले जनाएको छ । रु चार करोड ३५ लाख ८५ हजार ५५८ मा विसं २०७४ असार १८ गते ठेक्का सम्झौता भएको थियो । विसं २०७६ असार १७ गते सम्पन्न गर्नुपर्नेमा अहिलेसम्म पनि प्रभावकारी रुपमा काम हुनसकेको छैन । सपना आरडी जेभिले पुल निर्माणका लागि पछिल्लो पटक थपिएको समय विसं २०७७ असार ३० गते सम्मका लागि हो । पुनः म्याद थपका लागि प्रक्रिया अघि बढाइएको छ ।

रु पाँच करोड पाँच लाख ७४ हजार ६२७ को लागतमा निर्माण भइरहेको रतनी खोलाको पुलको काम हालसम्म ६५ प्रतिशत मात्र सम्पन्न भएको छ । विटी निर्माण सेवा काठमाडौँले विसं २०७६ भदौ २६ गते ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौता अनुसार विसं २०७८ भदौ २५ गतेभित्र काम सम्पन्न गरिसक्नुपर्ने हुन्छ ।

सपना लोहनी जेभि काठमाडौँले निर्माण गर्दै गरेको मुगई खोलाको पुलको काम ७० प्रतिशत सम्पन्न भएको छ । ९७ दशमलब १ मिटर लामो सो पुल निर्माणका लागि रु ६ करोड ५१ लाख एक हजार १९६ सम्झौता भएको थियो । विसं २०७४ असार २८ गते सम्झौता गरिएको सो पुल पछिल्लो पटक थप गरिएको म्यादले विसं २०७८साउन २५ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो । काम सम्पन्न नभएपछि म्याद थपको प्रक्रिया अघि बढाइएको छ ।

लुम्बिनी प्रकृति जेभी रुपन्देहीले विसं २०७८ असोज ५ गते निर्माण सम्पन्न गर्ने गरी विसं २०७६ असोज ६ गते सम्झौता गरेको चिताई खोलाको पुल निर्माणको काम ३५ प्रतिशत मात्र सम्पन्न भएको छ । २७ दशमलब २ मिटर लामो सो पुल निर्माणका लागि रु पाँच करोड १९ लाख ७६ हजार १९० मा सम्झैता भएको थियो । सम्झौता अनुसारको समयअवधि सकिन लागे पनि पुलको काम हुन नसकेको हो । सँगै निर्माण थालिएको परवि खोलाको पुल भने सम्पन्न भएको छ । विसं २०७४ असार २८ गते सम्झौता गरिएको सो पुल गएको साउन १५ गते सम्पन्न भएको हो । ९७ दशमलब १ मिटर लामो सो पुल रु ६ करोड ५२ लाख १२ हजारमा सम्पन्न गरिएको हो । बिटि निर्माण सेवाले पुल निर्माणको काम सम्पन्न गरेको हो ।

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले ठूलो प्रयासपछि पुलको काम थालिएको भए पनि सोचे अनुरुप काम हुन नसकेको बताउनुभयो । निर्देशनालय र ठेकेदार कम्पनीलाई छिटो काम सक्न दबाब दिइँदै आएको उनको भनाइ छ । कठिनाई सल्टाउँदै काम गर्न लगाइएको ढकालले बताए । यसै सडकअन्तर्गत निकुञ्ज क्षेत्रको बाटोलाई उच्चस्तरको बनाउने काम पनि भइरहेको उनको भनाइ छ । निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेकाले ती पुल निर्माणमा विभिन्न बाधा व्यवधान आउँदासमेत सहजीकरणको काम नगरपालिकाले गर्दै आएको प्रमुख ढकालको भनाइ छ । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।