११ आश्विन २०७८, सोमबार

Sep 27, 2021

काठमाडौँ । धेरै देशले कोभिड-१९ विरुद्ध पूर्ण मात्रामा खोप लिएका मानिसलाई बूस्टर डोज भनिने अतिरिक्त मात्रा दिन सुरु गरिरहँदा यसको प्रभावकारिता प्रमाणित भए वा नभएको विषयमा बहस चलिरहेको छ।

Advertisement

कैयौँ मानिसले कोभिड खोपको एक मात्रा पनि नपाएको अवस्थामा खोप पाइसकेका व्यक्तिलाई बूस्टर डोज दिनु “अनैतिक” हुने धारणा पनि व्यक्त भएको छ। पूर्ण मात्रामा खोप लिइसकेका व्यक्तिलाई अतिरिक्त मात्रा दिने उद्देश्यका पछाडि कोरोनाभाइरसको डेल्टा भेरिअन्टको त्रास भएको ठानिन्छ।

प्रमाणहरू सीमित भएकाले प्रभावकारिता तथा आवश्यकता पुष्टि नहुँदै कोभिड खोप अपर्याप्त भएको बेलामा अतिरिक्त मात्रा दिन खर्च गरिएको विषय अहिले विवादित बनेको छ।

“केही मानिसहरू डुब्ने निश्चित हुँदाहुँदै डुब्नबाट जोगाउने ज्याकेट यसअघि नै पाइसकेका मानिसलाई दोहोर्‍याएर दिने योजना हामी बनाइरहेका छौँ,” कोभिड-१९ महामारीलाई एउटा डुब्न लागेको डुङ्गासँग तुलना गर्दै विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को आपत्कालीन कार्यक्रमका कार्यकारी निर्देशक तथा महामारीविज्ञ माइक रायन भन्छन्।

डब्ल्यूएचओले एउटा बलियो नैतिक आधार देखाएर सरकारहरूलाई कोभिड-१९ विरुद्धको बुस्टर डोज रोक्न भनिरहेको छ। उसले विश्वको जनसङ्ख्याको ठूलो भागले खोप नपाउँदा सम्म बूस्टर डोज रोक्न आग्रह गरेको छ। तर बूस्टर डोजका पक्षमा पनि केही वैज्ञानिक प्रमाण र तर्कहरू प्रस्तुत गरिएको छ। कतिपयले यस्तो मात्रा आवश्यक भए पनि दिने समय आइनसकेको धारणा राखेका छन्।

कुनकुन देशमा दिइँदैछ बूस्टर डोज?

विश्व स्वास्थ्य सङ्गठनको अपील आग्रहविपरीत धेरै देशले निश्चित उमेर समूहका मानिसमा बूस्टर डोज लगाउन सुरु गरिसकेका छन्। अमेरिकाले मोर्डेना वा फाइजरको दोस्रो खोप लगाएको आठ महिना पुगेका जुनसुकै उमेर र स्वास्थ्यस्थितिका मानिसलाई बूस्टर डोज लगाउन भनिसकेको छ।

यूएईको दुबईमा उच्च जोखिम समूहका मानिसहरू खोपको दोस्रो मात्रा लगाएको तीन महिना र अरू मानिसहरू छ महिनापछि बूस्टर डोज लगाउन योग्य हुने भनिएको छ। इजरेलले दोस्रो मात्रा लगाएको पाँच महिना पुगेका ४० वर्षमाथिका सबै नागरिकलाई बूस्टर डोज दिँदै आएको छ।

चिले, युरुग्वे र क्याम्बोडियाले जोखिम समूहमा रहेका र ज्येष्ठताका आधारमा यसअघि सिनोफार्म र सिनोभ्याकको पूर्ण मात्रा लगाइसकेका मानिसलाई बूस्टर डोज लगाउन भनिरहेका छन्। थाईल्यान्ड र इन्डोनेशियाले यसअघि सिनोभ्याकको पूर्ण मात्रा लगाइसकेका स्वास्थ्यकर्मीहरूलाई तेस्रो मात्रामा फरक कम्पनीको खोप लगाउन भनेका छन्। थाईल्यान्डमा जम्मा आठ प्रतिशत र इन्डोनेशियामा जम्मा १२ प्रतिशत मानिसले मात्र पूर्ण मात्रामा कोभिड खोप लगाउने अवसर पाएका छन्।

फ्रान्स र जर्मनीले आगामी सेप्टेम्बरबाट बूस्टर डोज दिने तयारी अघि बढाएका छन् भने ब्रिटेनले यसबारे अहिलेसम्म कुनै निर्णय लिइसकेको छैन।

डेल्टा भेरिअन्ट र कोभिड खोप

अमेरिकी सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रीभेन्शन (सीडीसी) का अनुसार पहिलाका अरू भेरिअन्टभन्दा दुईगुना बढी सङ्क्रामक देखिएको कोरोनाभाइरसको डेल्टा भेरिअन्टको त्रास नै बूस्टर डोज दिन खोजिनुको मुख्य कारक हो।

डेल्टा भेरिअन्टबाट सङ्क्रमित भएका मानिसले पूर्ण मात्रामा खोप लगाइसकेका छन् भने पनि अरूलाई सङ्क्रमण सार्न सक्ने सीडीसीले आफ्नो निर्देशिकामा उल्लेख गरेको छ। यद्यपि खोप लगाएका व्यक्तिले अरूलाई सङ्क्रमण सार्ने अवधि केही छोटो हुने सीडीसीको भनाइ छ। अमेरिकी राष्ट्रपति जो बाइडनले “नयाँ भेरिअन्टहरूबाट आफूहरूलाई सुरक्षित राख्न खोप उत्कृष्ट उपाय” भएको बताउँदै आएका छन्।

प्रतिरोध क्षमतामा ह्रास

कोभिड खोपको प्रभावकारिताबारे अध्ययन गरिरहेका अनुसन्धानकर्ताहरूका अनुसार फाइजर र आस्ट्राजेनेका खोपका दुई मात्राले प्रदाना गर्ने सुरक्षा छ महिनाभित्र केही खस्किन थाल्छ। तर पनि तिनले डेल्टा भेरिअन्टसहित कोरोनाभाइरसविरुद्ध उच्च सुरक्षा दिन्छन्।

यूकेमा फाइजर वा आस्ट्राजेनेकाको दुवै मात्रा लगाइसकेका झन्डै १० लाख मानिसको सन् २०२१ को मे र जुलाई महिनाका बीच भएका पीसीआर परीक्षण नतिजामा आधारित भएर अनुसन्धान गरिएको थियो।

फाइजरको दुई मात्रा लगाएका मानिसमा पहिलो महिनामा सुरक्षास्तर ८८% रहेको भए पनि पाँचदेखि छ महिनापछि त्यो झरेर ७४% मा भएको पाइयो। आस्ट्राजेनेका खोपको हकमा त्यो पाँच महिनामा ७७ बाट झरेर ६७% पुगेको पाइयो। विज्ञहरूका अनुसार यसरी सुरक्षाको स्तरमा ह्रास आउनु अपेक्षित नै हो।

खोप लगाएका केही मानिसमा सङ्क्रमण भइरहेको भए पनि खोपले गम्भीर बिरामी हुन र मृत्यु हुनबाट राम्रोसँग जोगाइरहेको बताइन्छ। यस अनुसन्धानमा संलग्न जो कोभिड स्टडी एपका प्रमुख अनुसन्धानकर्ता प्राध्यापक टिम स्पेक्टरले यसका नतिजाले पूर्ण खोप लगाएका मानिसमा पनि कसरी सङ्क्रमण भइरहेको छ भनेर व्याख्या गर्न सक्ने बताए।

प्राध्यापक स्पेक्टर भन्छन्, “सुरक्षास्तरमा ह्रास आउनु अपेक्षित नै हो। खोप लगाउनु नपर्ने कुनै पनि कारण यसले दिँदैन।” “खोपले अझै पनि अधिकांश मानिसहरूलाई खासगरी डेल्टा भेरिअन्टविरुद्ध उच्च स्तरको सुरक्षा प्रदान गरिरहेको छ। सकेसम्म धेरै मानिसलाई पूर्ण खोप दिलाउनु निकै जरुरी छ।”

वैज्ञानिक प्रमाणले के देखाउँछ

यूनिभर्सिटी कलेज अफ लन्डनअन्तर्गतको स्कूल अफ फार्मेसीसँग आबद्ध वरिष्ठ अनुसन्धानधाता ओक्साना पाइजिक बूस्टर डोज लगाउने निर्णय “विज्ञानमा आधारित नरहेको” बताउँछिन्। “बूस्टरहरू डेल्टा भेरिअन्टका लागि झट्ट प्रतिक्रिया जनाए जस्तो मात्रै हो। यो केही भइहाल्छ कि भन्ने जस्तो मात्रै नीति हो,” उनले बीबीसीसँग भनिन्।

डा. पाइजिक बूस्टर डोजले भाइरससँग लड्ने क्षमता थप प्रभावकारी हुने वा आवश्यकताको पूर्ति हुने कुनै प्रमाण नभएको तर्क गर्छिन्। “अहिले मानिसमा प्रतिरोध क्षमता ह्रास हुनेबारे थोरै तथ्याङ्क उपलब्ध छ। यो स्थितिमा तथ्याङ्कले मानिसहरूलाई सामान्य लक्षणबाट जोगाउने क्षमतामा मात्र ह्रास आउने सङ्केत गर्छ तर गम्भीर सङ्क्रमणबाट बचाउने क्षमता घट्दैन,” उनी भन्छिन्।

नैतिक द्विविधा

इजरेलमा गरिएका अध्ययनहरूले फाइजरको तेस्रो मात्राले ६० वर्षमाथिका मानिसमा सङ्क्रमण हुन नदिने र गम्भीर जटिलताबाट रोक्ने नतिजा देखाएका छन्। फाइजर र मोर्डेनाबारे गरिएका अध्ययनहरूको पनि निष्कर्ष उस्तै नै छ।

तर डा. पाइजिक एउटा समूहलाई मात्रै सुरक्षा थपेर अरू मानिसहरूलाई खोप दिन ढिलो गर्नु उचित रणनीति नभएको बताउँछिन्। उनका अनुसार खोपले समेट्ने क्षेत्र नबढ्ने र समुदायमा भाइरसको सङ्क्रमण बढ्ने हुँदै जाँदा डेल्टाजस्तै अरू भेरिअन्टहरू उत्पत्ति हुँदै जानेछन्।“हामी विश्वभरि खोपहरू लगाउन जति ढिलो गर्दै जान्छौँ, प्रतिरोध क्षमता छल्न सक्ने भेरिअन्टहरू त्यति नै बढ्दै जाने जोखिम रहन्छ,” उनी भन्छिन्।

यदि सबै धनी देशले ५० वर्षमाथिका नागरिकलाई मात्रै बूस्टर डोज लगाउने हो भने मात्रै पनि कोभिड खोपको थप एक अर्ब मात्रा आवश्यक पर्ने डा. पाइजिक बताउँछिन्। उत्तरी अफ्रिकाका बुरुन्डी र एरिट्रियाजस्ता देशमा खोप कार्यक्रम नै सुरु भएको छैन भने कङ्गोमा ०.०१ प्रतिशत वयस्क मानिसले मात्रै खोप प्राप्त गरेका छन्। यस्तै तान्जानिया र नाइजिरियामा पनि एक प्रतिशतभन्दा कम जनसङ्ख्याले मात्रै खोप पाएको छ।

डा. पाइजिक भन्छिन्, “खोप र नयाँ भेरिअन्टहरूबीचको प्रतिस्पर्धामा बूस्टर डोजले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन तिनै समयक्रममा फाइदा पुर्‍याउने भनेको भाइरसलाई नै हो।”

तहगत सुरक्षा आवश्यक

खोप लगाइसकेका मानिसहरूबाट डेल्टा भेरिअन्टको सङ्क्रमण फैलिन सक्ने तथा खोपले मात्रै सङ्क्रमण नियन्त्रण प्रभावकारी नहुने नयाँ अध्ययनहरूले देखाएका छन्। वैज्ञानिकहरूले त्यसका लागि थप सुरक्षाका उपायहरू अपनाउनुपर्ने सुझाव दिएका छन्।

यूनिभर्सिटी कलेज अफ लन्डनमा कार्यरत तथा कोभिडबारे स्वतन्त्र परामर्श दिने विशेषज्ञ क्रिस्टिना पेगल भन्छिन्, “सार्वजनिक बन्द कोठाभित्र सबैले मास्क लगाउन छोड्नुहुँदैन, त्यसो गर्दा आफूलाई भन्दा पनि अरूलाई सुरक्षित रहन सहयोग पुग्छ।”

खोप लगाएका मानिसहरूले समेत डेल्टा भेरिअन्ट सार्ने खतरा हुने भएकाले उनीहरूलाई स्वास्थ्यसुरक्षाका कुनै पनि मापदण्डमा छुट हुन नहुने उनको भनाइ छ। डा. पाइजिक भविष्यमा बूस्टर डोज आवश्यक पर्न सक्ने भए पनि अहिले त्यो प्राथमिकतामा पर्न नहुने बताउँछिन्। उनी भन्छिन्, “विश्वभरि खोपको पहिलो मात्रा पुर्‍याउनु नै अहिलेको वास्तविक आवश्यकता हो।”

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने सरकारको निर्णय गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा सुवेदी भारतीय सहित तीनको शङ्कास्पद मृत्यु प्रदेश-१ मा थपिए ३२७ मा संक्रमित, ४ जनाको मृत्यु सुदूरपश्चिम प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण, एकको मृत्यु जितिया पर्वको अवसरमा सार्वजनिक विदा भैरहवास्थित भिम अस्पतालका स्वास्थ्यकर्मी फेरी आन्दोलनमा, माग पुरा नभएको गुनासो २४ घण्टा व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग पत्रकार पन्त सम्मानित ५० लाख धरौटीमा छुटे शर्मा नेप्सेमा उच्च अङ्कको गिरावट, कारोबार रकम समेत घट्यो पर्यटकको आगमनले उत्साहित हुँदै व्यवसायी नेपालमा थपिए १ हजार २८२ कोरोना संक्रमित, ७ जनाको मृत्यु बुटवलमा दशैं सस्तो बजार मध्य भोटेकोशीको आइपीओ बाँडफाँट दक्षिण कोरियामा कोरोना भाइरसले पुनः महामारीको रुप लियो सुरु भएन विद्युतीकरण सुस्ताएको पर्यटन व्यवसाय जुरमुराउँदै टिपरको ठक्करबाट बोलेरो चालकको मृत्यु लुम्बिनीको नेपालगन्ज उपमहानगर बैठकमा लफडा, एक घाइते