ताजा अपडेट »

जलवायु परिवर्तनको असरबारे अनुसन्धान केन्द्रित हुनुपर्छ : मन्त्री भुसाल

बुधबार, ०९ भदौ २०७८, २० : ०५
6 Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलवायु परिवर्तनका असरलाई केन्द्रमा राखेर पूर्वानुमान तथा अनुसन्धानमा केन्द्रित हुन आग्रह गरेकी छन् । बबरमहलस्थित जल तथा मौसम विज्ञान विभागको आज निरीक्षण गर्ने क्रममा उनले समान उद्देश्य रहेका संस्थासँग सहकार्य गर्दै आफ्ना कार्य सम्पादनलाई तथ्यपरक र वैज्ञानिक बनाउनुपर्नेमा जोड दिएकी हुन् । विकसित राष्ट्रका औद्योगिक गतिविधिका कारण जलवायु परिवर्तन भएको र त्यसको प्रभाव संसारमै परेको भए पनि नेपालजस्ता साना मुलुकमा मानवीय तथा भौतिक क्षति हुने गरेको मन्त्री भुसालको भनाइ थियो ।

उनले भूक्षय, बाढीपहिराजस्ता मौसमजन्य विपद्का असरलाई पनि जल तथा मौसम विज्ञान विभागले अध्ययनमा समेट्नुपर्ने बताइन् । मन्त्री भुसालले भनिन्, “बाढी तथा पहिराको असर हामीले झेलिरहेका छौँ । यस वर्ष सिन्धुपाल्चोक र मनाङमा ठूलो जनधनको क्षति भएको छ ।” उनले मौसमजन्य विपत्तिबाट जनताको जीवनको रक्षा गर्ने तथा हुनसक्ने असरलाई न्यूनीकरण गर्नका लागि सूचना प्रवाह महत्वपूर्ण रहेको र त्यसका लागि विभागले २४ सै घण्टा काम गर्दै आएको भन्दै खुशी व्यक्त गरिन् । मन्त्री भुसालले सङ्गठन पुनःसरचना गरेर अगाडि बढ्नका लागि सूचना प्रविधि (आइटी) सम्बन्धी दरबन्दी समयानुकूल बनाउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राईले स्वीकृत कार्ययोजनाअनुसार छिटो र छरितो आफ्ना लक्ष्य पूरा गर्न निर्देशन दिए । सो अवसरमा विभागका महानिर्देशक सरजुकुमार वैद्यले विभागका गतिविधिबारे विस्तृत जानकारी गराएका थिए । रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।