ताजा अपडेट »

अनुमति विना बाल विकास केन्द्र सञ्चालन

बुधबार, ०९ भदौ २०७८, १५ : ४५
6 Shares

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–६ नेपानेमा प्रक्रिया पूरा नगरी अनुमति विना बाल विकास केन्द्र सञ्चालन भएको छ । जनप्रतिनिधिले आफू अनुकूलका व्यक्तिलाई मापदण्ड र प्रक्रिया पूरा नगरी बालविकास सहयोगी कार्यकर्ता नियुक्त गरी तलबभत्ता र शैक्षिक सामग्री खरिदमा चलखेल गरेका आरोप लागेको छ । २०७४ देखि २०७७ सालसम्म वडा नं ६ को सिफारिसमा बेनी नगरपालिकाले वार्षिक रु एक लाखका दरले नेपाने बालकक्षामा खर्चेको छ ।

मासिक रु छ हजारका दरले तलब पाउने गरी नेपानेकी मनिषा दमैलाई केन्द्रको सहयोगी कार्यकर्ता नियुक्त गरिएको छ । स्थानीय तह सञ्चालन निर्देशिकाअनुसार वडालाई शिक्षक, बाल शिक्षा सहयोगी कार्यकर्ता नियुक्त गर्ने अधिकार छैन । व्यवस्थापन समिति हुनुपर्ने, सम्बन्धित पालिकाबाट अनुमति लिनुपर्ने, प्रतिस्पर्धाबाट नियुक्त गरिएका सहयोगी कार्यकर्ताको तलबभत्ता, प्रशासनिक र मसलन्द खर्च मातृ विद्यालयमार्फत भुक्तानी हुने नीतिगत व्यवस्था सो बालविकास केन्द्र सञ्चालनमा कार्यान्वयन भएको छैन ।

नेपानेकी सहयोगी कार्यकर्तालाई बेनी नगरपालिकाले गत असार अन्तिम साता चेकमार्फत २०७७ साल पुषदेखि २०७८ असारसम्मको तलब बापतको रु ४१ हजार पाँच सय ८० भुक्तानी गरेको छ । गत आर्थिक वर्षमा रु एक लाख विनियोजन भएको थियो । असार २३ अघि पारिश्रमिक र मसलन्दका लागि भनेर रु ४७ हजार आठ सय भुक्तानी भएको छ । वडाध्यक्ष कृष्णसिंह बानियाँले वडाले बालविकास केन्द्र सञ्चालनका लागि विसं २०७४ मै नगरपालिकामा सिफारिस गरेको र सहयोगी कार्यकर्ताले नै विनियोजित बजेट लगेको बताए । “जो मान्छेले त्यहाँ पढाउँछ उसैले पैसा लगेको छ,” उनले उल्टै प्रश्न गरे, “आफैँले अनुमति नै नदिएको बालकक्षालाई नगरपालिकाले किन भुक्तानी दियो ” डम्मरामा पनि यस्तै शैलीमा सञ्चालन भएको बाल विकास केन्द्रका नाममा नगरपालिकाले गत आर्थिक वर्षको अन्तमा रु एक लाख भुक्तानी गरेको छ ।

बालकक्षा सञ्चालन भएको भनिएको राममन्दिर आमा समूहको भवनको कोठामा सिमेन्ट, पाइप, गुन्द्री, गल, घन, बेल्चालगायत निर्माण सामग्री थुपारिएको छ । दुईवटा ह्वाइट बोर्ड, एक टेबुल, बाल्टी र भित्तामा केही थान सिकाइ सामग्री मात्र भेटियो । नेपानेका बासिन्दाले बाल विकास केन्द्रको प्रभावकारिता र लगानीको उपलब्धिको विषयमा खुलेर प्रशंसा गर्ने अवस्था नरहेको बताएका छन् । स्थानीयवासी विमल थापाले सुरुमा सञ्चालन भए पनि अहिले सक्रिय भएको नदेखेको र समुदायले पनि चासो नदिएको गुनासो गरे । हिउँदमा सञ्चालन भए पनि अहिले बालकक्षा बन्द रहेको स्थानीयवासी सर्वजीत खत्रीले बताए ।

सहयोगी कार्यकर्ता दमैले आफ्नो क्याम्पसको परीक्षा भएको र कोरोनाका कारण साउनमा बालकक्षा सञ्चालन गर्न नसकेको बताए । उनले केन्द्रमा स्थानीयवासीले आफू गाउँमा नभएको समयमा मन्दिर निर्माणका सामग्री राखिदिएको गुनासो गरे । बरनाथ आधारभूत विद्यालयमा जान नसक्ने तीन÷चार वर्ष उमेर समूहका १५ जना बालबालिकालाई दैनिक चार घण्टा पढाउने गरेको उनले बताए ।

एक्लेपीपलको आधारभूत विद्यालय जामुनाखर्क माविमा गाभिएपछि ४० भन्दा बढी घरधुरीको बसोबास रहेको नेपाने र गुफा टोलमा आवश्यकता महसुस गरेर योजनाका रुपमा बालविकास केन्द्र सञ्चालन भएको वडाका जनप्रतिनिधिको भनाइ छ । कार्यविधि र निर्देशिका नहुँदा नेपानेलगायत नगर क्षेत्रका बाल विकास केन्द्रको नियमन गर्न समस्या भएको नगर शिक्षा अधिकृत अर्जुन पौडेलले बताए । “बाल विकास केन्द्रहरुलाई नगरपालिकाले बजेट दिइरहेको अवस्था छ,” उनले भने, “आफ्नै कार्यविधि तथा निर्देशिका बनाएर नियमन, व्यवस्थापन, अनुगमन र मूल्याङ्कन गर्छौं ।”

बेनी नगरपालिकामा ५२ वटा बाल विकास केन्द्र छन् । नेपानेका साथै डम्मरा, थाकनपोखरी, डिम्म, बराह, चेतना, जनज्योति बाल विकास केन्द्रका लागि नगरपालिकाले यस आर्थिक वर्षमा समेत बजेट विनियोजन गरेको छ । कार्यविधि बनाउन ध्यान नदिँदा बाल विकास केन्द्रका लागि विनियोजन भएको बजेट दुरुपयोगको जोखिम बढेको छ । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।