ताजा अपडेट »

आधिकारिकता पाएपछि जसपाले पहिलोपटक सातै प्रदेशमा अभिमुखीकरण गर्दै

मंगलबार, ०८ भदौ २०७८, ०६ : ३१
8 Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। निर्वाचन आयोगबाट आधिकारिकता प्राप्त गरेपछि जसपाले पहिलोपटक प्रदेशहरूमा अभिमुखीकरण कार्यक्रम गर्न लागेको हो।दुई दिनसम्म काठमाडौंमा चलेको केन्द्रीय समिति बैठकपछि आइतबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले सातै प्रदेशका मुकामहरूमा अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको थियो।

सम्बन्धित प्रदेश अध्यक्षको अध्यक्षतामा हुने कार्यक्रममा प्रदेशका सबै केन्द्रीय कार्यकारिणी सदस्य, केन्द्रीय सदस्य, संघीय परिषदलगायतलाई सहभागिताका लागि जसपाले सर्कुलर गरेको छ।भदौ ९ देखि प्रदेश १ को विराटनगरबाट सुरू हुने अभिमुखीकरण कार्यक्रम भदौ १७ गते कर्णाली प्रदेशमा सकिने जसपाले जनाएको छ।जसपाले सबै प्रदेशका लागि अभिमुखीकरणका छुट्टाछुट्टै प्रमुख वक्ताहरू पनि तोकेको छ।

भदौ ९ गते विराटनगरको कार्यक्रमका लागि लागि अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोककुमार राई, महेन्द्रराय यादव र सुशीला श्रेष्ठलाई प्रमुख वक्ता तोकिएको छ।यसैगरी सोही बागमती प्रदेशको काठमाडौंका लागि संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, राजेन्द्रप्रसाद श्रेष्ठ, राजकिशोर यादव र हिसिला यमीलाई प्रमुख वक्ता बनाइएको छ।भदौ ११ गते जनकपुरको कार्यक्रममा अध्यक्ष यादव, वरिष्ठ नेता राई, महेन्द्रराय यादव र रेणूकुमारी यादवले सम्बोधन गर्नेछन्।

यसैगरी सोही दिन सुदूरपश्चिमको धनगढीमा हुने कार्यक्रममा संघीय परिषद अध्यक्ष भट्टराई, नेता श्रेष्ठ, गोविन्द चौधरी र दुर्गा सोव सहभागी हुनेछन्।भदौ १३ गते लुम्बिनी प्रदेशमा हुने कार्यक्रमका लागि अध्यक्ष यादव, वरिष्ठ नेता राईका साथै महेन्द्रराय यादव र अमृता अग्रहरीलाई जसपाले प्रमख वक्ता तोकेको छ।

भाद्र १५ गते गण्डकी प्रदेशको पोखराको कार्यक्रममा संघीय परिषद अध्यक्ष भट्टराई, नेता श्रेष्ठ, राजकिशोर यादव र हिसिला यमी सहभागी हुनेछन्।अन्त्यमा भदौ १७ कर्णाली प्रदेशको सुर्खेतका कार्यक्रमका लागि महेन्द्रराय यादव, नवराज सुवेदी, शिवलाल थापा मगर र दुर्गा सोवलाई प्रमुख वक्ता तोकिएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।