ताजा अपडेट »

बस्तीमै स्वास्थ्य शिविरपछि राउटेको मुहारमा खुसी

सोमबार, ०७ भदौ २०७८, १५ : ४७

दाङ । ‘देशको शान्तिसुरक्षामा खटिने हाम्रो उपचारका लागि बस्तीमा आउनुभयो, औषधि दिनुभयो, खानका लागि दाल, चामल दिनुभयो हाम्रा जनता खुसी भएका छन्’, राउटेका मुखिया ४५ वर्षीय सूर्यनाराण शाहीले भने।

नेपाली सेनाका १९ नम्बर बाहिनी अड्डा तुलसीपुरका बाहिनीपति सहायक रथी मदनकुमार केसी र सल्यानका प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईं खतिवडासँग आफ्नै बस्तीमा गरिएको स्वास्थ्य शिविर तथा राहत वितरणपश्चात् कुराकानीका क्रममा राउटेका मुखिया शाहीले सो भावना व्यक्त गरेका हुन्। 

‘हामीलाई उपचारका लागि बस्तीमै चिकित्सकसहित औषधि लिएर आउनुभयो, मैले पनि कानको उपचार गराएँ, तर केहीले उपचार गराउन मानेनन्, मैले सबैलाई भनेको हुँ,  तपाईंहरूले दिनुभएको औषधि जनता बिरामी भएका बेला दिन्छु, चामल दाल सबैले बाँडेर खान्छौं’, मुखिया शाहीले शिविरमा पुगेको टोली फर्कंन लाग्दा भने।

नेपाली सेना १९ नम्बर बाहिनी अड्डीपुर, जिल्ला प्रशासन कार्यालयान, सवुजगणलगायत विभिन्न सरकारी कार्यालयको संयुक्त आयोजनामा राउटे बस्तीमा स्वास्थ्य शिविर राखिएको हो।

पछिल्लो दुई महिनामा राउटे समुदायका चार जना बिरामी भएर निधन भएपछि प्रशासनले शिविरको आयोजना गरेको हो। शिविरमा आफ्नो स्वास्थ्य परीक्षण गराउँदै सुवीन शाहीले आफूलाई केहीसमयदेखि छाती दुख्ने गरेको समस्या चिकित्सकलाई सुनाए। जाँच गराइसकेपछि चिकित्सकले औषधि दिए, खाने तरिका सिकाए र पठाए।

सुरूमा शिविरमा किन जाँच गराउन मान्नुभएन त भन्ने प्रश्नमा उनले अहिले नयाँ रोग आएको छ त्यसैको सुइँ लगाउन आएकी भन्ने डरले जचाउन गइनँ भने। ‘पछि सुइँ लगाउँदैन औषधि चामल, दाल दिन्छन् भनी थाहा पाएँ अनि जचाएँ’,उनले  भने।     

केही समयअघि राउटेलाई कोरोना महामारीबाट जोगाउन उनीहरुको समुदायका दुई दर्जन बढीको स्वाबको नमूना सङ्कलन गरी परीक्षण गरिएको थियो।

सोही कारणले उनीहरू अहिले शिविरमार्फत आफूहरूलाई कोरोनाको खोप लगाउन आएँ भन्ने ठानेर सशङ्कित भएका थिए। राउटेका मुखिया उपस्थित भएकाले कोरोना खोप लगाउन नआएको विश्वस्त पारेपछि जाँचमा सहभागी भएका थिए। तर सबैले भने जाँच गर्न मानेनन्।

स्वास्थ्य परीक्षण  गराएका  राउटेमा  छातीमा समस्या, हातखुट्टा चिलाउने, घाउँ, खटिरा, कानमा समस्या रहेको पाएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए।

चिकित्सकले केही राउटे बालबालिकामा कुपोषण, निमोनियालगायतका समस्या हुनसक्ने भनी राउटे बस्तीमा कर्णाली प्रदेश सरकारले खटाएका दुई जना स्वास्थ्यकर्मीलाई त्यसो भएमा उनीहरुको उपचार गर्न तथा आफूहरुले लगेको औषधि उनीहरुलाई वितरण गर्नका लागि उपलब्धसमेत गराएका छन्।

नेपाली सेना, जिल्ला अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली स्वास्थ्य परीक्षणमा संलग्न थिए।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई खतिवडाले पछिल्लो समयमा राउटेको मृत्युदर बढेको, वर्षातका समय उनीहरू बसोबास गर्ने ठाउँमा पिउने पानीको राम्रो व्यवस्था नभएको र बस्ने स्थानसमेत  हिलाम्य भएकाले स्वास्थ्यमा समस्या भएको हुनसक्ने भनी आफू यहाँ आएको बताइन्। 

उनले राउटेले परम्परागतरूपमा गरी आएका चाडपर्व खानपिन छोड्न नसक्दा उनीहरूमा परिर्वतन हुन नसकेको पनि बताइन्।राउटेको बस्तीमा पुगेका सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालसँग राउटे मुखिया शाहीले आफूहरूलाई सरकारले दिँदै आएको भत्ता दशैंअगावै उपलब्ध गराइदिन माग गरेका छन्।

राउटे मुखिया शाहीले सो पैसाबाट दशैंको पूजाका लागि बाख्रा, चामल र लत्ताकपडा किन्नमा खर्च गरिने बताए।

उनले अहिले आफूहरू बसेको ठाउँ राम्रो तथा सुरक्षित नभएको र भत्ता बुझेलगत्तै दैलेखको गुराँसे, जाजरकोट, सुर्खेत या दाङको राम्रो ठाउँमा बस्न जानेसमेत बताए। 

कुराकानीका क्रममा सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी रिजालले भत्ता उपलब्ध गराउ पहल गर्ने र त्यसका लागि छिट्टै सुर्खेत बोलाउने राउटेका मुखिया शाहीलाई भने।

बाहिनीपति सहायक रथी केसीले राउटेको स्वास्थ्य उपचार र केही राहत प्रदान गर्न आफूहरू चिकित्सक, औषधि र खाद्यान्न सामग्री लिएर यहाँ आएको बताए।

राउटेको सीप, परिश्रम तथा मेहनतको सधैँ सम्मान  हुनुपर्ने र यो जातिको संरक्षण तथा परिवर्तनका लागि नयाँ पुस्तालाई शिक्षामा जोड दिने, स्वास्थ्य तथा सरफाइमा ध्यान दिनुपर्ने उनको धारणा छ।  

दाङ र सल्यानको सिमानामा पर्ने कालीमाटीको काल्चेमा बस्दै आएका राउटेलाई लक्षित गरी सोही ठाउँमा शिविर आयोजना गरिएको हो।

शुक्रबार राति सात वर्षीया राउटे बालिकाको मृत्यु भएपछि उनीहरु सो ठाउँ छाडेर सल्यान र सुर्खेत जिल्लाको सिमानमा पर्ने सुर्खेतको गुर्वाकोट नगरपालिका– १ मा बस्दै आएका छन्।

वर्षाद्को समय त्यसमा पनि भदौरे झरीले गर्दा गत शनिबार गरिएको शिविरको सन्दर्भमा उनीहरूको बस्तीमा पुग्दा निकै कष्टकर जीवनयापन देखिन्थ्यो।

भर्खरै बसाइँ सरेर आएको ठाउँ भएका कारण केही राउटे आफ्ना पालले छाएका घरभित्र जमिन मिलाउन व्यस्त दखिन्थे। राउटे महिला भने भाँडाकुँडा मिलाउन, सरसफाइ गर्न, चुलो मिलाउने काममा जुटेका थिए । कूल ४६ घरपरिवार रहेका राउटेको कूल सङ्ख्या १४२ छ । कुनै पनि परिवारको एक जना सदस्यको मृत्यु भएपछि उनीहरु सो ठाउँमा छाडेर अन्यन्त्र बसाइँसराइ गरी जाने गर्दछन्। लोपोन्मुख जातिका रुपमा चिनिने राउटेलाई जीवनयापनका लागि प्रदेश सरकारले रु दुई हजार र सङ्घीय सरकारले रु तीन हजार गरी मासिक रु पाँच भत्ता प्रदान गरिदै आएको छ। 

नेपाली सेना १९ नम्बर बाहिनी अड्डा तुलसीपुर र नेपाली सेनाको सवुज गण सल्यानले राउटे बस्तीमा गरिएको स्वास्थ्य शिविरमा उनीहरूलाई खाद्यान्न वितरण गरिएको छ। सहायक रथी केसी र सवुजगणका गणपति प्रमुख सेनानी कञ्चनकृष्ण बस्नेतले राउटेका मुखिया सूर्यनारायण शाहीलाई समुदायमा खाद्यान्न वितरणका लागि सामग्री हस्तान्तरण गर्नुभएको हो । सेनाले एक हजार केजी चामल, ३०० केजी दाल, २०० केजी चिउरा, ५० केजी नुन, गेडागुडी, बिस्कुट, साबुनलगायतका खाद्य सामग्री प्रदान गरेको हो । रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।